कर्णाली

फर्कियो बगरको खुसी

लक्ष्मी भण्डारी |
माघ २९, २०७७ १७:२७ बजे

बगर भएको स्थानमा बाली लगाइएको देखाउँदै स्थानीयहरू।

माघ : २०७१ साल साउनको २८ गते मध्यराति भेरी नदीमा आएको बाढी घरसम्म आइपुग्दा सुर्खेतको पञ्चपरी–५ तिखाकुनाका पदमराज देवकोटा हतार–हतार छोराछोरी बोकेर बाहिर निस्किए । भएको घर खेत बाढीले बगायो । उनी खुला आकाशमुनि बास बस्न थाले ।

‘धन्न ज्यानसम्म जोगाउन सफल भयौ’ विगत सम्झिदै देवकोटा भन्छन्, ‘घरबाट बाहिर निस्किँदा कम्मरसम्म पानी आएको थियो । घरबाट अलि पर पुगेर हेर्दा हेर्दै घर र खेत र घरमा राखेको किराना पसल बाढीले बगायो ।’ घरवरपर रहेको  १० कट्ठा खेतको उब्जाउले देवकोटाकोे नौ जनाको परिवारलाई प्रसस्त खान पुग्थ्यो । ‘मलिलो माटो भएकाले राम्रो उब्जाउ हुन्थ्यो खेतमा धान, गहुँ र मकै लगाउँथ्यौ’ उनले भने ‘तर त्यहि जग्गा बगर बन्यो ।’ 


ADVERTISEMENT

सोही गाउँका ठकप्रसाद पौडेलको पाँच जनाको परिवारको मध्यराति भागाभाग भयो । आँखौअगाडि घर र खेत बाढीले बगाएर लग्यो । हेदाहेर्दै घर खेत बगरमा परिणत भयो । बाढीले घर खेत बगाएपछि पदमबहादुर र ठकप्रसादसहित उक्त गाउँका एक सय १५ घरधुरी परिवार विस्थापित भएर नजिकै रहेको कालिका सामुदायिक वनको जग्गा फाडेर बस्दै आएका छन् । 

बाढीका कारण सो गाउँका १३ जनाको ज्यान जानुका साथै चार सय रोपनी बढी जग्गा बगरमा परिणत भएपछि सयौ घरहरू विस्थापित भए । आफ्नो  घर र जग्गा बगरमा परिणत भएपछि धेरैजसो परिवारहरू भारतमा गए । 

बगरको थुप्रोमा केही काम गर्न सकिदैन भनि सबै स्थानीयहरूले हार मानेपछि कतिपयहरू कामको खोजीमा सदरमुकाम सुर्खेत तथा कैलालीतिर पनि पुगे ।  
बाढीपछि बगरमा परिणत भएको उक्त जग्गा ६ वर्ष पछि खेती गर्न सुरु गरिएको छ । ‘यस्तो ढुंगामात्रको थुप्रो बगरमा खेती गरिएला भनेर आशै मारेका थियौ’ स्थानीय चन्द्रबहादुर शाहीले भने, ‘अहिले हामी धेरै खुसी छौ’ बाढीले जग्गाको रूपरेखा नै बिगारेको शाहीले बताए । ‘बाढीपछि यो ठाउँमा जग्गा भएको नाम निहानै थिएन, ठूला ठूला ढुंगाका थुप्रा मात्र थिए’ उनले भने, ‘यतिसम्म परिवर्तन होला भनेर सोचेको पनि थिएनौं ।’

कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले चक्काबन्दी कार्यक्रम सुरु गरेपछि सबै स्थानीयहरूको बगरमा खुशी फर्किएको छ । गएको मंसिर ३० गते गाउँका दुई वटा कृषि समूहसँग कार्यक्रमको सम्झौता गरिएको हो । बगरमा खेती हुने भनेपछि अहिले भारत गएका स्थानीयहरू पनि गाउँ फर्किन थालेका छन् । अहिले उक्त स्थानमा गहुँ लगाइएको छ  भने केही जग्गाहरुमा खेती लगाउने तयारी गरिएको छ । 

चक्लाबन्दी कार्यक्रम अन्र्तगत टिप्पर, ट्याक्टर र जेसिबी लगाएर बगरको ढुंगालाई सोरेर फालेको स्थानीय पदम देवकोटाले बताए । कृषि विकास निर्देशनालयका निमिक्त प्रमुख चित्र रोकायका अनुसार चक्लाबन्दी कार्यक्रमको लागि ४७ लाख बजेट छुट्याइएको छ । ‘जग्गालाई सम्याइएको छ अहिले तरभुजा, मकै गहुँको खेती गरिएको छ’ उनले भने, ‘यसपछि यसमा विभिन्न ब्लकहरू निर्माण गरेर फलफूल खेतीहरूको पनि तयारी गर्न लागिएको छ ।’ 

यता भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले उक्त जग्गामा परम्परागत खेती मात्र भन्दा पनि विभिन्न फलफूलहरू तथा नगदे बालीहरु पनि लगाएर परीक्षण गरिने बताइन् । बगरको नजिक भएकाले तरभुजालगायत फलफुलको खेती राम्रो हुन सक्ने भएकाले माटो  परीक्षण गराई सोही अनुसारको खेती लगाउनको लागि कृषकहरूलाई प्रोत्साहित गरिने बताइन् ।



Author

थप समाचार