कर्णाली

दोस्रो कर्णाली उत्सवको तयारी तीव्र

इकागज |
माघ ३०, २०७७ शुक्रवार ९:४५ बजे

फाइल फोटो

काठमाडौँ : कर्णालीको विकास र सम्भावनाका विषयमा वृहत् छलफल गर्ने कर्णाली उत्सवको दोस्रो संस्करण फागुन अन्तिम हप्ता सुर्खेतमा हुँदैछ । वीरेन्द्रनगरको बुलबुले ताल परिसरमा हुने कर्णाली उत्सवको दोस्रो संस्करण भव्य र सभ्य बनाउने तयारी तीव्र छ । यसका लागि प्रचार प्रसार, वक्ताको छनौट, आर्थिक व्यवस्थापन गर्ने काम जोडतोडका साथ अगाडी बढिरहेका छन् ।

‘कुडा कर्णालीका...’ नारा दिएर ऋति फाउण्डेसनले कर्णाली उत्सवको सुरुवात गरेको हो । फागुन २७, २८ र २९ गते हुने कर्णाली उत्सवको दोस्रो संस्करणमा यस वर्ष १३ वटा छलफल सेसन राखिएको छ । जस अन्तर्गत कर्णाली उत्सव कार्यक्रमका मुख्य प्रवद्र्धक मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच छलफल गर्ने सेसन राखिएको ऋति फाउण्डेसनका सीइओ दिनेश गौतमले जानकारी दिए ।


उनका अनुसार प्रदेश सरकारमा केही समानता र चुनौति बोकेका दुई मुख्यमन्त्रीबीच प्रदेश सरकारको काम र भूमिकाका विषयमा छलफल हुनेछ । यस पटक ऋति फाउण्डेसनले उद्घाटन दिनलाई सांस्कृतिक साँझका रुपमा मनाउने तयारी गरेको छ । फागुन २६ गते दिउँसो उद्घाटनपछि बेलूकी विभिन्‍न सांस्कृतिक कार्यक्रम गरिने भएकाले सांस्कृतिक साँझका रुपमा मनाउन लागिएको हो । सो दिन कुनै सेसन हुने छैनन् ।

उद्घाटन दिन अतिथी ढिला आउने र सेसन प्रभावित हुने भएकाले सांस्कृतिक साँझका रुपमा मनाउने निर्णय गरिएको फाउण्डेसनका अध्यक्ष कमल लम्सालले बताए । फागुन २७ गतेदेखि छलफल सेसन सुरु हुनेछन् । त्यसको साँझ कविताहरु प्रस्तुत गरेर काव्य साँझ गर्ने तयारी छ । फागुन २८ गतेका सेसनहरु सकिएपछि गजल साँझका रुपमा मनाउने तयारी भइरहेको फाउण्डेसनले जनाएको छ ।

तीन दिनको साँझ भव्य बनाएपछि फागुन २९ गते कर्णाली उत्सवको दोस्रो संस्करण सकिनेछ । तीन दिनमा १३ वटा सेसनमा छलफल गर्न हरेक दिन ४ वटा सेसन गर्ने तयारी छ । एउटा सेसन सकिएपछि १५ मिनेट विश्राम लिने तयारी छ ।

यसले उत्सवमा सहभागि भएका दर्शकलाई थोरै भएपनि राहत हुनेछ । पहिलो संस्करणमा लगातार सेसन राख्दा केही सेसनमा दर्शकको उपस्थिती निकै कम रहने समस्या थियो । यस वर्ष सुर्खेतसँगै जुम्ला र मुगुमा पनि सेसन चलाउने योजना छ । जसलाई स्याटेलाइट सेसनको नाम दिइएको छ ।

जुम्लाको सिँजामा पत्रकार महेश नेपाली तथा मुगुको राराबाट रंगकर्मी हिरा बिजुलीले सेसन चलाउने तयारी रहेको फाउण्डेसनका सीइओ गौतमले बताए । उनका अनुसार सुर्खेतमा उत्सवको केही दिन अगाडी जुम्ला र मुगुबाट त्यहाँका समस्याका विषयमा छलफल गरिने र सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गर्ने योजना अघि सारिएको हो ।

यस वर्ष कर्णाली उत्सव गर्दा ४० लाख हाराहारीमा खर्च हुने अनुमान गरिएको छ । पहिलो संस्करणमा कूल २३ लाख खर्च भएको थियो । खर्च व्यवस्थानका लागि अहिले दौडधुप चलिरहेको पनि अध्यक्ष लम्सालले बताए ।

छलफलमा थप क-कसलाई बोलाउने भन्ने टुंगो लाग्न बाँकी छ । बुलबुले उद्यानमा गर्न लागिएको कर्णाली उत्सवका लागि बुलबुले परिसर पनि सफाई गर्ने क्रम चलिरहेको छ । यसपटक नेपाल पर्यटन बोर्डको सहकार्यमा बुलबुले प्रवेशद्धारदेखि नै फोटो प्रदर्शन गर्ने तयारी छ ।

यसका साथै सेसनको बीचमा कर्णालीका सफल व्यक्तिहरुको कथा समेटिएको दृश्य सामग्री पनि प्रस्तुत गर्ने योजना ऋति फाउण्डेसनको छ । झण्डै १० हजार दर्शकलाई उपस्थित गराउने योजना बोकेको फाउण्डेसनले यसपटक थप केही फरक गर्ने योजना रहेको पनि जनाएको छ । 


Author

थप समाचार
x