कर्णाली

स्वास्थ्य सेवा नपाएको भन्दै वीरेन्द्रनगरका स्थानीय आन्दोलित

लक्ष्मी भण्डारी |
फागुन ७, २०७७ शुक्रबार १२:३२ बजे

स्वास्थ्य सेवा प्रभावकारी नभएको भन्दै वीरेन्द्रनगर नगरपालिका कार्यालयको परिसरमा र्‍याली गर्दै । तस्बिर : लक्ष्मी भण्डारी/इकागज

सुर्खेत : गुणस्तरीय स्वास्थ्य सेवाको माग गर्दै वीरेन्द्रनगर-८ स्थित गौरीशंकर टोलका स्थानीय युवाहरु आन्दोलित भएका छन् । वडा नम्बर ८ मा रहेको शहरी स्वास्थ्य सेवा केन्द्रले प्रभावकारी स्वास्थ्य सेवा नदिएको भन्दै स्थानीयहरु आन्दोलित बनेका हुन् । प्रभावकारी रुपमा स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने भन्दै उनीहरु वीरेन्द्रनगर नगरपालिका स्थित कार्यालयमा नाराबाजी गरेका छन् ।

आफुहरु स्वास्थ्यचौकी गएको बेलामा त्यहाँबाट सेवा नपाएकाले निजी मेडिकलमा महंगो शुल्क तिरेर सेवा लिन बाध्य भएको उनीहरुको भनाई छ । स्वास्थ्य केन्द्रका कर्मचारीहरुले सेवा लिन गएको बेलामा राम्रो व्यवहार नगर्ने र सेवाग्राहीसँग झर्किने गरेको स्थानीय मैना शाहीले बताइन् । स्थानीय विष्णु बिकले सामान्य समस्या लिएर जाँदा पनि वेवास्ता गरेको बताइन् । ‘सेवा लिन जाँदा उहाँहरु स्वीटर बुनेर सोफामा बसिरहनुहुन्छ, हाम्रा कुरा नै सुन्नुहुँदैन’ उनले भनिन्, ‘सेवा नदिने हो भने यो स्वास्थ्य चौकीको के काम भयो र ?’


स्थानीय तुल्सी पुलामीले प्रेसर नाप्‍न जाँदा पनि मेसिन छैन भनेर स्वास्थ्यकर्मीले फर्काएको बताइन् । स्थानीय युवा विनम शाहीले स्वास्थ्य सेवाले प्रभावकारी सेवा प्रदान गरोस् भन्ने उद्देश्यले टोलका युवाहरु मिलेर आन्दोालन गरेको बताए । उनले शहरी स्वास्थ्य केन्द्र, जिल्ला जनस्वास्थ्य कार्यालय र नगरपालिकामा पुगेर र्‍याली सहित ध्यानाकर्षण गरिएको बताए । स्वास्थ्य केन्द्रबाट प्रभावकारी रुपमा सेवा प्रवाह नभएमा फेरि पनि आन्दोलन गर्ने उनको भनाई थियो । 

यता शहरी स्वास्थ्य सेवा केन्द्रका ईन्चार्ज प्रेमा थानीले सीमित स्रोत साधनबाट केन्द्रले उपलव्ध गराउने सेवाहरु दिएको दावी गरिन् । ‘हामीले दिन सक्ने र दिन मिल्ने सेवा दिईरहेका छौँ’ उनले भनिन्, ‘स्वास्थ्य केन्द्रमा तीन जना महिला कर्मचारी मात्रै छौं ।’ 

तस्वीर ः स्वास्थ्य सेवा प्रभावकारी नभएको भन्दै वीरेन्द्रनगर –८ का स्थानीयहरु वीरेन्द्रनगर नगरपालिका कार्यालयको परिसरमा ¥याली गर्दै । 
 


Author

थप समाचार
x