कर्णाली

कर्णाली बहसको लागि उत्सव

लक्ष्मी भण्डारी |
फागुन २४, २०७७ सोमबार १५:३५ बजे

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित बुलबुले तालको किनारमा फागुन २६ देखि २९ गतेसम्म कर्णाली उत्सवको आयोजना हुँदैछ । ऋति फाउण्डेसनले ‘कुडा कर्णाली’का भन्ने मुल नाराका साथ दोस्रो संस्करण अन्तरगत उत्सवको आयोजना गर्न लागेको हो । उत्सवमा १४ वटा सेसन राखिएको छ । १४ सेसनमा करिव ७० जनाको सहभागिता रहने ऋति फाउण्डेसनका अध्यक्ष कमल लम्सालले बताए । कर्णालीलाई चिनाउने अवसरको साथै यहाँ बहस गर्ने बानीको विकास होस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको लम्सालले बताए । 

‘कर्णालीमा पनि बहस गर्ने संस्कारको विकास हुनुपर्छ भन्ने हाम्रो उद्देश्य हो’ उनले भने, ‘जसमा समावेशी सहभागिताको विकासमा पनि जोड दिएका छौ ।’ उत्सवका विषयवस्तु छनोट समितिका संयोजक प्रकाश लामिछानेका अनुसार उत्सवमा यहाँको आर्थिक अवसरहरुको खोजी गर्नु, कर्णालीको जनजीवन, इलम र सीपको चर्चा गर्नु, कर्णालीलाई पर्यटकीय गन्तव्य बनाउनको लागि उत्सवको आयोजन गरिएको हो । 


कर्णाली उत्सवले कला, साहित्यको प्रवद्र्धन गर्ने मात्र नभइ विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई उचाइ दिने उनले बताए । ‘साहित्य र संवादलाई एकैसाथ प्रवर्धन गरिरहेको उत्सवले कर्णालीमा पर्यटनको सम्भावनालाई समेत ऊर्जा दिनेछ’, उनले भने, ‘कर्णालीको स्वास्थ्य, शिक्षा, राजनीति, कला संस्कृति, खस आर्य, प्रशासन, भाषा, रहनसहनलगायतका विषयमा विचारविमर्श चल्नेछ ।’ त्यसैगरी उत्सवमा विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरूले आफ्ना सफलता र संघर्षका विषयमा कथा सुनाउनुको साथै विभिन्न विषयमा बहस गरिनेछ । 

उत्सवको पहिलो दिन उद्घाटन कार्यक्रमको साथै कर्णाली किन घुम्ने विषयमा कर्णाली प्रदेशका उद्योग, पर्यटन वनमन्त्री नन्दसिंह बुढाले प्रस्तुती गर्नेछन् । त्यसैगरी वीरेन्द्रनगरको वैभवको विषयमा नगरप्रमुख देवकुमार सुवेदीको प्रस्तुती रहनेछ भने पिपुल एण्ड पेलेसेस पुस्तक विमोचनको कार्यक्रम रहेको छ । त्यसैगरी योगी नरहरिनाथको विषयमा ‘कर्णाली चिनाउने योगी’ विषयक प्रस्तुति पनि रहेको छ । 

उत्सवको दोस्रो दिन ‘आम्नै कथा, आम्नै बान्की’ अर्थात कर्णाली कसरी अभिव्यक्त हुन्छ ? कर्णालीले आफ्ना कुरा अरुलाई कसरी सुनाउँछ ? भन्नेबारे बहस हुने छ । त्यस्तै अर्को सत्र छ, ‘बाडो, थाडो र ओटालो’ कर्णाली हिमाली जिल्लामा एउटाको घर अर्कोको छानो हुन्छ । बस्ती मिलेर बसेका छन् । तर, ती बस्तीमा बस्नेहरुको मन मिले कि मिलेनन् ? यही विषयमा चर्चा गरिने छ । 

उत्सवको तेस्रो दिनमा कर्णाली घुमाउरो पड्यो, पढ्नु पड्डो छ साक्षर र शिक्षित कर्णाली, प्रांगारिक प्रयास, पुसाईका कुडा, थैलीदेखि बैंकसम्म लगायतका शिर्षकमा बहस गरिनेछ । 

त्यसैगरी उत्सवको चौथो  दिन ‘कैथा नेता कैथो नेतृत्व’,  ‘मुख्य मान्ठा, मुल कुडा’, ‘लोकतन्त्रको लय’, ‘पश्चिममा प्रशासक, पश्चिमका प्रशासक’, र ‘सरकारी, गैह्र–सरकारी’ जस्ता शीर्षकमा बृहत्तर बहस हुने आयोजक फाउन्डेसनले जनाएको छ । उत्सवमा कर्णाली चर्चित साहित्यकार, राजनीतिज्ञ, कलाकार, लेखक, पत्रकार, बुद्धिजीवी एवं विशिष्ट व्यक्तिहरूको सहभागिता रहनेछ ।


Author

थप समाचार
x