कर्णालीमा केन्द्रको निर्णय कुर्दै गठबन्धन
सुर्खेत - पाँच दलले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेसँगै कसले कुन पालिकाको नेतृत्व लिने भन्ने कसरत सुरु भएको छ । कर्णाली प्रदेशका १० जिल्लामा क्रियाशील गठबन्धन दलले पनि त्यसका लागि छलफल थालेका छन् ।
केन्द्रको समीकरणजस्तै जिल्लामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल गर्ने निर्णय भएको छ । तर, स्थानीय तहको पदमा भागबन्डा टुङ्गिएको छैन।
नेताहरूका अनुसार अहिले गठबन्धन दलले आ–आफ्ना पार्टी कमिटीहरूमार्फत उम्मेदवार सिफारिसका लागि छलफल थालेका छन् । उनीहरू विभिन्न छलफल र बैठकहरू बसिरहेका छन् । अहिले नाम सिफारिस गरिए पनि प्रदेशबाटै एकमुष्ट उम्मेदवारी भागबन्डा भएर आउन सक्ने गठबन्धनका नेताहरूको आंकलन छ ।
तर, अघिल्लो स्थानीय तह निर्वाचनमा जुन पार्टीले जितेको पालिका तथा वडा हो, त्यहाँ उसैको उम्मेदवार बन्ने सहमति भएकाले सोहीअनुरूप दाबी गर्न थालिएको छ ।
नेपाली काँग्रेस सुर्खेतका सदस्य नविन सुनारले गठबन्धनले आ-आफ्नो पार्टीको मतभार केन्द्रमा बुझाएको जानकारी दिए ।
सोही अनुरुप केन्द्रको निर्णय कुरेको उनले बताए । ‘हामीले अहिले आफ्नो जिल्ला पालिका तथा वडामा पार्टीले पाएको मतको विषयमा केन्द्रीय नेतृत्वहरूलाई बुझाएका छौ’ पार्टीका जिल्ला सदस्य सुनारले भने, ‘अब केन्द्रबाट जे निर्णय आउँछ हामी त्यही अनुसार अघि बढ्ने हो ।’
नौ वटा स्थानीय तहका ९९ वटै वडामा मजबुत संगठन रहेको कांग्रेस निर्णायक भूमिकामा देखिन्छ । विगतका स्थानीय निर्वाचनको मत परिणाम र जनमतका आधारमा पनि स्वाभाविक रूपमा आफ्नो पार्टीले धेरै पालिकाको नेतृत्वका लागि दाबी गर्ने काँग्रेसका नेताहरू बताउँछन् ।
कांग्रेसले २०७४ को स्थानीय निर्वाचनमा जिल्लाका ६ वटा पालिकामा प्रमुख जितेको थियो । कांग्रेस सुर्खेतका सभापति खड्ग पोख्रेल भन्छन्, ‘गठबन्धन भइसकेपछि संख्यामा अल्झिनु भएन, सुर्खेतमा पनि सोही अनुसारको केही आधारहरू निर्माण गरिएका छन् ।’
वीरेन्द्रनगर, गुर्भाकोट, भेरीगंगा, पञ्चपुरी नगरपालिका र चिङ्गाड तथा बराहताल गाउँपालिका गरी ६ वटा स्थानीय तहमा आफूहरूको नेतृत्वका लागि दाबी रहन सक्ने उनले बताए । यी अघिल्लो निर्वाचनमा कांग्रेसले एक्लै जितेका स्थानीय तह हुन् । उक्त निर्वाचनमा लेकवेशी नगरपालिकाका साथै सिम्ता र चौकुने गाउँपालिका नेकपा एमाले)ले जितेको थियो ।
एमालेले जितेका पालिकामा भने अहिले गठबन्धनको एक घटक नेकपा (एकीकृत समाजवादी) ले नेतृत्वका लागि आकांक्षा राखेको छ । एमालेले जितेका पालिकाहरूमा समाजवादीले यहाँ पनि नेतृत्व लिन आकांक्षा देखाएको छ । समाजवादीका जिल्ला अध्यक्ष मोहन बडुवालले गठबन्धनबीच उम्मेदवार टुंग्याउने विषयमा छलफल भइरहेको बताए । उनले केही कुराहरू केन्द्रको मान्ने भएतापनि निर्वाचनको लागि स्थानीय स्तरमै बसेर कतिपय विषयहरू टुंग्याइसकेको बताए ।
‘तालमेल गर्दा तलमाथि भएपनि स्वीकार्नुको विकल्प भने छैन ।’ नयाँ दल भएपनि समाजवादीको सबै वडामा संगठन र भरपर्दो उपस्थिति राम्रो छ’ बढुवाल भन्छन्, गठबन्धनमा सबैलाई मिलाएर जानुपर्ने भएकाले परिस्थितिको मूल्याङ्कन गरी अघि बढ्ने तयारीमा समाजवादी देखिएको छ ।’
चुनावी तालमेल गरेर अगाडि बढ्ने निर्णय भएसँगै माओवादी केन्द्रले पनि आफ्नो सबै पालिकामा निर्णायक मत रहेको दाबी गरेको छ । त्यसैगरी गठबन्धनको अर्को दल राष्ट्रिय जनमोर्चा भने कमजोर संगठन भएकाले अहिले नै कुनै वडा तथा पालिकाको दाबी गर्ने अवस्थामा देखिएको छैन । पार्टीका जिल्ला अध्यक्ष गोविन्द सुवेदीले स्थानीय तहमा आफ्ना कमिटी भएपनि यत्तिनै संख्या छ भन्न सकिने अवस्था नरहेको जनाए ।
त्यस्तै, जनता समाजवादीको पनि सुर्खेतमा संगठन कमजोर छ । जनता समाजवादीका अध्यक्ष टोपबहादुर टंलामीले पार्टीको दाबी वडामा केन्द्रित रहने बताएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया