सुदूरपश्चिम

ठेकेदार र कर्मचारीको मिलेमतोमा दुई करोड बढी अनियमितताको आशंका

इकागज |
असार ८, २०७९ बुधबार १३:५५ बजे

बैतडी- दार्चुलाको शैल्यशिखर नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ मा दुई करोडभन्दा बढीको आर्थिक अनियमितता गरेको खुलेको छ । नगरपालिकाले तीन वटा सडकको ठेक्का एकै दिन (२९ पुस ०७८ मा) खोल्यो र तीन वटै ठेक्का एउटै ठेकेदारले पाएको छ । यसरी एउटै ठेकेदारले तीन वटै सडकको ठेक्का पाउँदा सर्वसाधारणले अनियमितता भएको हुनसक्ने आशंका गरेका छन् । 

हुनत बोलपत्रमा सबैभन्दा कम मुल्य राख्ने ठेकेदारले ठेक्का पाइनु स्वभाविकै हो । यहाँ पनि कागजी रुपमा यस्तै गर्न खोजिएको छ । बोलपत्रका बेला निकै न्यून मुल्य हालेर ठेक्का हात पारे पनि ठेक्का सम्झौता गर्ने बेला भने पूरा मुल्यमा राखेको देखिन्छ । ती ठेक्काको पहिलो किस्ता रकम समेत ठेकेदारले पाइसकेका छन् ।


–(ठेक्का शीर्षक १) कोटथला, अम्तोली, पपरथला देवथली सडक निर्माण गर्न ८० लाख ४५ हजार ३१ रुपैयाँ ९४ पैसामा ठेक्का आह्वान भयो । उक्त ठेक्कामा सबैभन्दा कम रकम हाल्ने निर्माण कम्पनी नागार्जुन कन्स्ट्रक्सनले दुई लाख चार हजार एक सय २६.३ रुपैयाँको बोलपत्र हालेको छ । तर, उक्त निर्माण कम्पनीसँग १४ बैशाख ०७९ मा ८० लाख १९ हजार ६ सय ६३ रुपैयाँ ५० पैसामा ठेक्का सम्झौता भएको छ । 

–(ठेक्का शीर्षक २) बजाड–खात्काडाँ सडक निर्माणका लागि ९५ लाख ९० हजार दुई सय ५९ रुपैयाँ ३८ पैसाको ठेक्का आह्वान गरियो । उक्त ठेक्का पनि नार्गाजुन कन्स्ट्रक्सनले नै पायो । तर, २८ लाख ६२ हजार एक सय ७४ रुपैयाँ ७५ पैसाको कोटेसन हालेकोमा ठेक्का सम्झौता भने ९५ हजार ६८ लाख ४१ रुपैयाँमा भएको छ ।

–(ठेक्का शीर्षक ३) ठुल्सैनी–गोधरी सडकका लागि ९५ लाख ७८ हजार ९५८ रुपैयाँको ठेक्का आह्वान गरिएको छ । यसमा नागार्जुन कन्स्ट्रक्सनले बोलपत्रमा ३२ लाख ३७ हजार ९३९ रकम हालेकोमा ठेक्का सम्झौता भने ९५ लाख रकममा भएको देखिन्छ । 

तीन वटै ठेक्का पाएको नागार्जुन कन्स्ट्रक्सनले बोलपत्रमा देखाउन कम रकम राखेको र पूरा मुल्यभन्दा थोरै घटाएर ठेक्का सम्झौता भएको छ । ठेकेदारले सम्झौताअनुसार पेश्की रकम लिएर काम गरिरहेका छन् । 

अनियमितता बारे तत्कालिन नगरप्रमुख अमरसिंह धामी, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट लगायतको सेटिंग रहेको ठेक्का नपाएका ठेकेदारहरूको दाबी छ । ठेकेदारहरूले उक्त ठेक्कामा लाखौको घोटाला भएको आशंका गरेका छन् । नागार्जुन कन्स्ट्रक्सनले ६२ लाखमा मात्रै ठेक्का पाउनु पर्नेमा दुई करोड ७० लाखको ठेक्का पाएको देखिन्छ । 

अध्ययन गरिरहेको छु : नगर प्रमुख धामी
अनियमितताको विषयमा नगरप्रमुख विजयसिंह धामी भने अध्ययन गरिरहेको बताउँछन् । उनले भने, ‘यो विषय बाहिर आएपछि हामी छलफल तथा अध्ययन गरिरहेका छौँ । यसपछि के हुन्छ पत्रकार सम्मेलन गरेर सत्यतथ्य बताउँछौँ ।’ 

निकै न्युन मुल्यमा बोलपत्र हाल्ने कम्पनीसँग बढीमा ठेक्का भएको विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट भने सहमत छैनन् । विष्टले भने, ‘पहिलो पटकको ठेक्का रद्द गरी दोश्रो पटक आह्वान गरिएको थियो । दोस्रो पटक तीन जनाको मात्रै कोटेसन आयो । उनीहरूमध्ये सबैभन्दा कम जसको छ उसैसँग सम्झौता गरिएको हो । काम भैरहेको छ हामीलाई काम पूरा भए पुग्छ सम्झौता भन्दा पनि काम हेर्नु पर्छ ।’ 

दोस्रो पटकको ठेक्का आव्हानको बिषयमा भने ठेकेदारहरू जानकार नरहेको बताउँछन् । प्रमुख प्रशासकीय अधिकृत विष्टले १८ फागुन ०७८ को सौर्य दैनिकमा विज्ञापन प्रकाशन गरेको बताउँदै आएको पनि यस दिनको पत्रिकामा शैल्यशिखरको कुनै पनि सूचना प्रकाशित भएको छैन् ।  (न्यूज कारखाना)


Author

थप समाचार
x