सुदूरपश्चिम

सुदूरपश्‍चिम प्रदेश सभाको बैठक तेस्रो पटक स्थगित

इकागज |
असार १२, २०७९ आइतबार १४:५१ बजे

कैलाली- सुदूरपश्‍चिम प्रदेश सभाको बैठक तेस्राे पटक स्थगित भएको छ । प्रदेश सभामा बजेट प्रस्तुत भएको झन्डै दुई सातासम्म पनि सत्ता पक्षकै विरोधका कारण बजेटमाथि छलफल सुरू हुन सकेको छैन ।

असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलले २०७९/०८० को लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट प्रस्तुत गरेका थिए । असार १ गते प्रस्तुत भएको बजेटमाथि असार ८ गते प्रदेश सभामा छलफल हुने कार्यसूची रहेको थियो । तर, सत्ता पक्ष र विपक्षबाटै विरोधपछि ८ गते प्रदेश सभा बैठक नै नबसी १२ गतेका लागि बैठक आह्वान गरिएको थियो ।


१२ गते दिउँसो ३ बजे बस्‍ने भनिएको बैठक पनि आज नबस्‍ने भएको छ । सरकारले १२ गतेको बैठक १६ गतेसम्म सारिदिन सभामुख अर्जुनबहादुर थापालाई आग्रह गरेपछि बैठक १६ गतेसम्म सारिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । 

सरकारको तर्फबाट प्रदेश अर्थमन्त्री रावलले नै सभामुख थापालाई फोन गरेर बैठक सारिदिन आग्रह गरेका थिए । यसअघि ८ गते कार्य व्यवस्था परामर्श समितिको बैठकबाट बैठक स्थगित गरिएको भए पनि आज परामर्श समितिको बैठक नबसी स्थगित गरिएको हो ।

बैठकमा अर्थमन्त्री नै नरहने अवस्था आएपछि बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश अर्थमन्त्री रावल अहिले नेकपा एकीकृत समाजवादीको बैठकमा सहभागी हुन काठमाडौँ पुगेका छन् ।


Author

थप समाचार
x