सुदूरपश्चिम

सुदूरपश्चिममा कोभिड सङ्क्रमण बढ्दै

इकागज |
साउन ४, २०७९ बुधबार ११:२ बजे

बैतडी- भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोभिड सङ्क्रमणदर बढ्दै गएको छ । यहाँ हाल दिनहुँ कोभिड सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

गत शनिबार अर्थात् असार ३२ गते शून्यमा झरेको सङ्क्रमण मङ्गलबारमात्रै यस प्रदेशमा नौ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालयको तथ्याङ्कानुसार गत शनिबार कोभिड सङ्क्रमण शून्य रहेकामा आइतबार तीन, सोमबार सात र मङ्गलबार नौ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमण भारतबाट नेपाल भित्रिरहेका व्यक्तिमा देखिएको छ । मङ्गलबार गड्डाचौकी नाकामा सात र गौरीफन्टा नाकामा दुई जनामा सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।


जोखिम बढ्दै गएकाले सतर्कता अपनाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । जोखिम बढेकाले  कायमै रहेकाले  यहाँका भारतसँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ ।  पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सीमा क्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो  । उनले भने, 'सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर आवश्यक जनशक्ति परिचालन गरेर परीक्षण र खोपको काम निरन्तररूपमा भइरहेको छ ।'

यसका साथै कोभिड भाइरसको रोकथाम र नियन्त्रणका लागि कोभिडविरुद्धको खोप अभियानलाई प्राथमिकतामा राखिएको  छ । पाँच वर्षमाथिका सबै बालबालिका र बुस्टर डोजको मात्रा पनि सबैलाई दिइने कार्य निरन्तररूपमा भइरहेको जनाइएको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा समेत कोभिड सङ्क्रमण बढेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्यरूपमा पालना गर्न निर्देशनालयको आग्रह छ ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म पाँच लाख ५४ हजार ८८२ जनाको कोभिड परीक्षण गरिएकामा ५९ हजार ७६० जनामा सङ्क्रमण भइसकेको छ ।  सङ्क्रमणकै कारण यस प्रदेशमा ६३३ जनाको ज्यान गइसकेको छ । रासस


Author

थप समाचार
x