सुदूरपश्चिम

वर्षमा कति पुग्छन् खप्तडमा पर्यटक ?

दीपक उपाध्याय |
साउन २४, २०७९ १०:१९ बजे

सुदूरपश्चिम प्रदेशको एक मात्र खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा वाह्य पर्यटकहरू आउने क्रममा वृद्धि भइरहेको छ । यहाँ रहेका विभिन्‍न हरिया फाँटहरू, हराभरालेक, तालतलैया तथा प्राकृतिक सम्पदाको अवलोकन गर्न पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकहरूको रोजाईमा यो निकुन्ज केन्द्रविन्दु बन्दै गएको छ । 

प्रदेश सरकार तथा यहाँका विभिन्‍न स्थानीय तहले खप्तडको विकासका लागि भन्दै रकम विनियोजन गरी काम सुरु भएपछि आन्तरिक तथा बाह्य पर्यटक भित्रिन थालेको डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेलले बताए ।


सरकारी तवरबाट बजेट विनियोजन भई काम सुचारु हुनु र पर्यटन व्यवसायबाट पर्यटक भित्र्याउने काम सँगसँगै सुरु भएकाका कारण पछिल्लो समय खप्तड राष्ट्रिय निकुञ्ज पर्यटकको आर्कषणको केन्द्र विन्दु बनेको खप्तड होमस्टेका सञ्‍चालक दीपक बहादुर खड्काले बताए । खप्तड जानका लागि सडक यातायात र खाने बस्ने पूर्वाधारको विकास भएसँगै पर्यटक आउन थालेको बताउँदै खप्तड होमस्टेका सञ्‍चालक खड्काले यसबाट व्यवसायीहरू समेत हौसिएको बताए । खप्तड क्षेत्रमा जाने पर्यटकका लागि आश्रमस्थल, बग्लेक र झिंग्रानामा होमस्टे सञ्‍चालन र झिंग्रानासम्म सडक विस्तार भएसँगै आन्तरिक तथा बाह्य पर्यटक आउन थालेको खप्तड होमस्टेका सञ्‍चालक खड्काले बताए ।

खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्यांक अनुसार पछिल्लो समय खप्तडमा घुम्‍न आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुन थालेको छ । निकुञ्जका सूचना अधिकारी पुर्णदेव मिश्रले गत आर्थिक वर्षमा स्वदेशी तथा विदेशी गरेर २ हजार २०९ जना पर्यटकले खप्तडको भ्रमण गरेको बताए । जसमा तेश्रो मुलुकका १९ जना पर्यटक रहेको मिश्रले बताए । 

त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा ३ हजार ७२० जनाले खप्तड राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिए । जसमा, ८१ जना विदेशीहरू रहेको सूचना अधिकारी मिश्रले बताए । यसैगरी आर्थिक वर्ष २०७६/०७७ मा १६ जना विदेशी पर्यटकसहित जम्मा ७४६ जनाले खप्तडको भ्रमण गरेका थिए । यस्तै आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ६८८ स्वदेशी पर्यटकले मात्रै भ्रमण गरेको सूचना अधिकारी मिश्रले बताए । 

विशेषगरी खप्तडमा बाजुरा, अछाम, बझाङ र डोटीका पर्यटक बढी आउने गरेका छन् । खप्तड निकुञ्ज क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका साथै विभिन्‍न जातका जङ्ली जनावरसमेत हेर्न सकिन्छ । त्यहाँ रहेका त्रिवेणी धाम, नागढुङ्गा, खप्तड स्वामीको आश्रम, २२ पाटनलगायत क्षेत्रको भ्रमण गरी मनोरञ्जन लिन सकिन्छ भने खप्तड क्षेत्रमा जेठ महिनामा गङ्गा दशहरा मेला तथा जनैपूर्णिमाका दिन भव्यजात्रा लाग्‍ने गर्दछ । जात्रा हेर्नका लागि सुदूरपश्चिमका विभिन्‍न जिल्ला र नेपालका अन्य क्षेत्रबाट समेत पर्यटकको घुइँचो लाग्‍ने गरेको छ । 

त्यस्तै खप्तड क्षेत्रमा पर्ने त्रिवेणी धाम, नागढुङ्गा, सहस्त्र लिङ्ग, खापड दहको समेत भ्रमण गर्दा पर्यटकलाई झनै मनमोहक तथा आनन्द आउने गर्दछ । 

धार्मिक दृष्टिकोणले समेत खप्तड क्षेत्र प्रख्यात मानिन्छ । खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ पनि हो । विभिन्‍न किताबमा लेखिएअनुसार खप्तड बाबाले खप्तडमा ५० वर्ष समय बिताएका थिए । तत्कालिन राजा स्व. वीरेन्द्र विरविक्रम शाह बेला-बेलामा खप्तडको भ्रमणमा आउने गरेको त्यहाँ रहेको खप्तड बाबाले लेखेको किताबमा समेत देख्‍न सकिन्छ । 

समुद्र सतहबाट २ हजार ४ सयदेखि ३ हजार ७०० मिटरसम्म उचाइमा रहेको खप्तड राष्ट्रिय निकुञ्जको कुल क्षेत्रफल २२५ वर्ग किमी रहेको छ । निकुञ्जभित्र ५६७ थरिका वनस्पती र नेपालमा पाइने ८५० किसिमका चराचुङ्ंगीमध्ये २६० भन्दा पनि बढी चराचुरुङ्गी पाइने गरेको खप्तडमा खस्रे भ्यागुता र बझाङ्गे पाहा गरी दुई प्रजातिका रैथाने उभयचर, बाघबुट्टे निगालो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो । 

यति मात्र नभइ खप्तड राष्ट्रिय निकुञ्जमा कस्तुरी, मृग, बँदेल, डाँफे ,जरायो, रतुवा, थरल, घोरल, चितुवा, भालु, बाँदर, ढेडुबादर, दुम्सी, खरायोलगायतका जङ्गली जनावर यहाँ पाइन्छन् । प्रकृतिले नै रमाइलो बनाएको यस ठाउँमा ठूला-ठूला घाँसे मैदान, स–साना ढिस्का र रमाइलो जंगल रहेको छ ।

त्यहाँ रहेका घाँसे मैदानमा गाई, गोरु, घोडा वर्षेनी चर्न आउने र रमाउने गर्छन् । खप्तड क्षेत्रमा चारैतिर घनघोर जङ्गल र बीचमा ठूल्ठूला फाँट छन् । जैविक विविधताले भरिएको यो क्षेत्र २०४२ सालमा राष्ट्रिय निकुञ्ज घोषण गरिएको थियो । 


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
ad
x