सुदूरपश्चिम

सुदूरपश्चिममा थपिए ३७ हजार बढी नयाँ मतदाता

इकागज |
साउन २५, २०७९ १६:३५ बजे

कैलाली । सुदूरपश्चिम प्रदेशमा ३७ हजार बढी नयाँ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशका नौ वटै जिल्लामा गरी ३७ हजार २ सय ६१ नयाँ मतदाता थपिएका हुन् ।

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मुलुकभर मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यबाट उक्त नयाँ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए । उनका अनुसार कैलालीमा ११ हजार ४ सय ३० नयाँ मतदाता थपिएका छन् भने कञ्चनपुरमा ९ हजार ८ सय २८,बाजुरामा १ हजार ३ सय ६४ जना नयाँ मतदाता थपिएका हुन् ।


यस्तै अछाममा ४ हजार ८०,डोटीमा २ हजार १ सय ७२, बझाङमा १ हजार ६ सय ५९ नयाँ मतदाता थपिएका हुन् । उता डडेल्धुरामा २ हजार २ सय ५८, बैतडीमा २ हजार ८ सय ६ र दार्चुलामा १ हजार ६ सय ६४ नयाँ मतदाता थपिएका हुन् ।

यसैबीच सुदूरपश्चिम प्रदेशमा निर्वाचन कार्यालयहरू प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटेका छन् । सङ्घीय सरकारले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मिति तय गरेपछि निर्वाचन कार्यालयहरूले तयारी अगाडि बढाएका हुन ।

सरकारले आउँदो मङ्सिर ४ गते प्रदेश तथा प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेको छ । स्थानीय तहको निर्वाचन सकिएपछि असार १ गतेबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको कार्य अगाडि बढाइएको थियो । सरकारले आगामी निर्वाचनको मिति तय गरेपछि निर्वाचन कार्यालयले सो कार्यलाई रोकेर तयारीमा जुटेका छन् । अब निर्वाचन सामग्री चेकजाँचको साथै आयोगलाई विवरण पठाउने लगायतको तयारीको काम भइरहेको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख भट्टले जानकारी दिए ।



Author

थप समाचार
ad
x