सुदूरपश्चिम

मधेस प्रदेशले माग्यो जनस्वास्थ्य प्रयोगशालाका लागि २७२ कर्मचारी

इकागज |
साउन २६, २०७९ बिहीबार ८:३१ बजे

फाइल तस्बिर

कैलालीमा बाढीको जोखिममा परेकालाई राहत
टीकापुर - विपद् पूर्वानुमानमा आधारित बाढी पूर्वतयारी कार्यक्रमअन्तर्गत कैलालीको टीकापुर र जानकी गाउँपालिकाका बाढीको जोखिममा रहेका परिवारले राहत पाउने भएका छन् । टीकापुर र जानकीका चार हजार पाँच सय १९ परिवारलाई राहत उपलब्ध गराइने भएको छ ।  

नेपाल रेडक्रस सोसाइटीका अनुसार टीकापुरका तीन हजार १२ परिवार र जानकीका एक हजार पाँच सय सात परिवारले नगद सहयोग पाउने भएका छन् । उनीहरूलाई प्रतिपरिवार १५ हजारका दरले वितरण गरिने भएको छ । मौसम पूर्वानुमानमा आधारित विपद् पूर्वसूचनाअनुसार बाढी आउने सूचना आएपछि जोखिममा रहेका समुदायले नगद सहयोग पाउनेछन् । बाढी आउनुपूर्व सुरक्षित स्थानमा सर्न, सुरक्षित स्थानमा आवश्यक दैनिक उपभोग्य सामान खरिदमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । उक्त  सहयोग तीन चरणमा वितरण गरिनेछ । 


 पहिलो चरणमा ६० प्रतिशत परिवार, दोस्रो चरणमा २० र तेस्रो चरणमा २० प्रतिशतलाई रकम दिइने नेपाल रेडक्रस सोसाइटी कैलालीका मन्त्री लोकराज जोशीले जानकारी दिए । 'मौसम विज्ञान विभागको बाढी आउने पूर्वसूचनापछि कर्णाली नदीको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सर्नका लागि नगद रकम सहयोग गरिनेछ', उनी भन्छन्, 'यसले जोखिममा रहेका परिवारलाई सुरक्षित हुन र अत्यावश्यक सामान खरिदमा सहयोग पुग्नेछ ।'

विगतमा बाढी पीडितलाई बाढीपछि राहतका लागि सामान दिइन्थ्यो । बाढीपछि उद्धार गरिने, राहतका सामग्री दिने अभ्यास छ । अब सामानभन्दा नगद दिएमा आवश्यक सामान आफैँ खरिद गर्न सहयोग होस् भनी सहायता गर्न थालिएको रेडक्रस कैलालीका कार्यक्रम संयोजक हेमराज उप्रेती बताउँछन् ।

टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले रेडक्रसले तथ्याङ्क सङ्कलन गर्दा नगरपालिकासँग समन्वय नगरेको गुनासो गरे । 'पालिकासँग समन्वय गरेर तथ्याङ्क सङ्कलन गरेको भए सहज हुन्थ्यो', उनले भने, 'अब सहायता दिँदा समुदायमा समुदायमा द्वन्द्व निम्तने डर रहन्छ । कसैले पाउने, कसैले नपाउने हुँदा पालिकामा गुनासो बढ्छ ।' नगर प्रमुख रामलाल डगौरा थारुले ६० प्रतिशतलाई पहिलो चरणमा दिने ४० प्रतिशतले पछि पाउने भएमा समस्या हुनसक्ने बताए । 'बरु रकम सहायता कम गरौँ, केही परिवारले पहिलो चरणमा पाउने, केहीले दोस्रो चरणमा दिएमा नागरिकलाई सम्झाउन गाह्रो हुन्छ', उनले भने । 

रेडक्रस कैलालीका सभापति उत्तम जोशीले विश्व खाद्य कार्यक्रमले धेरै अनुरोधपछि कैलालीलाई छनोट गरेको उल्लेख गर्दै बाढी आउनु पहिला दिँदाको प्रभाव र पछि दिँदा समुदायमा पर्ने प्रभावबारे अध्ययन गर्न पनि यसो गर्न थालिएको बताए।

विश्व खाद्य कार्यक्रमका ऋतेश श्रेष्ठले बाढी आउनुपूर्वको सूचनालाई आधार मानेर कर्णाली नदीको जोखिममा रहेकालाई सहयोग गर्न थालिएको बताए । रासस


Author

थप समाचार
x