सुदूरपश्चिम

अन्‍नबाली जोगाउन हरेरी पूजा

दीपक उपाध्याय |
साउन २७, २०७९ शुक्रबार २०:९ बजे

कैलाली- ‘भाषा, संस्कृति, कला, भेष हमार पहिचान, हरेरी महोत्सव मनैना सक्कु किसानक अभियान । हरियर खेती, हरियर वन, हरियर मैदान बनाई । दहिया, महिया, किराकाटी, गांधी, फटिङ्गासे विउबाली बचाई’ भन्ने नाराका साथ थारु समुदायले हरेरी महोत्सव मनाउने भएका छन् । 

धनगढी उपमहानगरपालिका-५, जाँँई गाउँँस्थित थारू देउथानमा महोत्सव मनाउन लागिएको आज पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको छ । 


श्रावण २८ गतेबाट सुरू हुने महोत्सव चार दिनसम्म सञ्चालन हुने हरेरी महोत्सव मुल आयोजक समितिका संयोजक एवम भलमन्सा कुलबिर चौधरीले बताए । महोत्सवमा राष्ट्रिय कलाकारका साथै स्थानीय कलाकारहरूको समेत प्रस्तुती रहने संयोजक चौधरीले जानकारी दिए । 

महोत्सवको उद्देश्य मनोरञ्जन दिनुका साथै संस्कृति समेत बचाउने रहेको बताउँदै संयोजक चौधरीले अहिलेको पुस्ताले आफ्नो भाषा, धर्म र संस्कृतिलाई विर्संदै गैरहेकोले त्यसको जगेर्ना गर्न महोत्सव आयोजना गरिएको बताए ।

२०७३ सालदेखि आयोजना हुँदै आएको हरेरी महोत्सव कोभिड-१९ का कारण चार वर्षपछि फेरि संचालन हुन गैरहेको आयोजकले जानकारी दिएको छ । 

हरेरी पर्वको महत्व

परापूर्वकालदेखि नै थारु समुदायले हरेरी पर्वलाई अन्नबाली संगै प्रकृतिको संरक्षण गर्ने पर्वको रुपमा मनाउने गरेका छन् । थारु अगुवा विनय चौधरीले अन्नबाली रोपिसकेपछि त्यसमा किरा फटेङ्ग्रा, रोगब्याधी आदि नलागोस् भनेर गरिने पूजा नै हरेरी पूजा रहेको बताए । उनले स्थानीय स्तरमै पाइने जडिबुटीबाट निर्माण गरेको औषधी हालेपछि अन्नबालीमा लागेको किरा फटेङ्ग्रा नष्ट हुनुका साथै उब्जाउ समेत बढी हुने विश्वास रहेको उल्लेख गरे । 

महोत्सवको एक दिन अगाडि अर्थात् आज रातभर जाग्राम बसेर गुरूबाले देउ थानमा पूजापाठ गर्ने गर्दछन् । जसका लागि दुईओटा दीयो बालिन्छ, गुरूबाको मन्त्रले ति दीयोबाट निस्कने आगो एकआपसमा जोडिएपछि पूजा समाप्त हुन्छ । भोलिपल्ट त्रासन ठोकेर गुरूबाले मन्त्र फुकेपछि अन्नबालीमा औषधी छर्कने र महोत्सव समेत सुरू हुने अर्का थारु अगुवा धनबहादुर चौधरीकाे भनाइ छ । 

थारु समुदायमा हरेरी पूजापछि मात्रै चाडबाड सुरु भएको मान्यता रहिआएको छ । थारु अगुवा धनबहादुरले हरेरी पूजाको बेला बजाइने मादलपछि मात्रै चाडपर्व सुरु भएको मानिने बताए । उनले थारु समुदायमा त्यसअघि कसैले मादल बजाए जरिवाना तिर्नुपर्ने चलन रहेको बताए ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x