सुदूरपश्चिम

भदौ १ गते ओल्के पर्व, सुदूरपश्चिम सरकारले दियो सार्वजनिक बिदा

दीपक उपाध्याय |
साउन ३१, २०७९ ८:३८ बजे

कैलाली - सुदूरपश्चिम प्रदेश सरकारले भदौ १ गते सार्वजनिक बिदा दिइएको छ। भदौ १ गते मनाइने ओल्के पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। उक्त दिन सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिदा हुने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ ।

साउन मसान्तसँगै प्रदेशमा ओल्के पर्वको रमझम सुरु हुन्छ। ओल्के मनाउन रोजगारीका लागि भारत लगायतका स्थानमा गएका सुदुरपश्चिमेलीहरू स्वदेश फर्कन थालेका छन । 


साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ।

साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्त्वका साथ ओल्के पर्व मनाइने परम्परा रहिआएको छ। 

ओल्को भन्नाले ’उपहार’ वा ’कोसेली’ भन्ने बुझिन्छ। आफूभन्दा ठुलाबडा मान्यजनलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु,छोरीचेलीहरूलाई घरमा बोलाएर मिठो/मसिनो खानदिनु,  हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो।

ओल्के संक्रान्ती पर्व
पर्व विशेषमा ओल्कोको रूपमा फलफुल, सागपात, अन्न, दूध, दही, घिउ, गूड र पक्वान्न आदि मान्यजन र आफन्तकहाँ पठाइन्छ।  लुगा-कपडा, पैसा वा यस्तै अन्य उपहारसमेत दिने प्रचलन बढ्दो छ। यतिमात्रै होइन, गुठियारहरूले ईष्ट कुलदेवताको मन्दिरमा नयाँ अन्नबालीको ओल्को चढाउँछन्। विभिन्न जनजातिहरूमा कृषि युगदेखि नयाँ अन्नको न्वागि चढाउने चलन पनि देखिएको छ । 

सामाजिक मान्यता
भनिन्छ, ओल्के संक्रान्तिताका सतरति ( सातरातको झरि) पर्दछ। यो समयमा आकासमा तारा देखिएमा वा वन चर्न गएका भैसीका सिङ ओभानो भएमा समेत अनिकाल पर्ने सम्भावना रहन्छ। यसैताका ऋतुमति धर्तीले नवीन सिर्जना गर्न थाल्छिन्। प्रकृतिमा नयाँ-नयाँ किसिमका वनस्पती र किरा फट्याङ्ग्राहरू देखिन थाल्छन् । धुलो धुँवा र फोहोर पखालिन्छ। पाखा पखेरामा नवधार (पानीका नयाँ मुहान) फुट्न थाल्छन् । पृथ्वी पुन: शस्यश्यामला र कञ्चन बन्छिन् । 

ओल्के संक्रान्ति पछि नै सुरु हुन्छ गौराको पावन पर्व । देवराग ( अर्थात् डेउडा गित देउरा ) गायनको महान् अवसर ।  

भनिन्छ, पहाडका ससाना खोलानालाबाट पनि ओल्को आउन थालेपछि मैदानका महानदीले यिनलाई निक्कै फुरुङ्ग्याउँछन् । कुरैकुरामा आफ्नी छोरीको विवाह यी फुर्तिला शैल-सरिताका छोरासंग गरिदिने वचन पनि दिन्छन् । तर बिहे भने हिउँदमा मात्र हुने निधो हुन्छ। विचरा सोझा पहाडी खोलाहरू रातदिन विवाहको जोरजाममा खटिन्छन्। विडम्बना, हिउँद आउँदा नआउँदै पानीको मूल सुक्न पुग्छ र ठूला घरसंग साइनो जोड्ने यिनको मनसुवा कहिले पनि पुरा हुँदैन ।  

यस पर्वलाई विभिन्न किसिमले मनाए पनि यसको मुल सन्देश भनेको आपसी मित्रताको गाँठो बलियो पार्नु हो । आजका दिनमा गाउँगाउँका युवायुवती जम्मा भएर पिङ खेल्ने, डेउडा खेल्ने, दिउसोभरी रमाईलो गर्ने र बेलुका बुढीहाल्ने गर्दछन् । आज बुढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको कैलाली जनपुस्तकालयका अध्यक्ष तथा संस्कृतिविद् डा. टिएन जोशी बताउँछन् । 

विजय उत्सवका रूपमा मनाइने बुढी हाल्ने र पोल्ने यो पर्वमा बुढी अर्थात राक्षसी पुतनालाई पोल्ने बताउदै जोशीले परम्परागत किंबदन्ती अनुसार भगवान श्रीकृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला) ले पुतनाको शव दहन गरेको कथन रहेको बताए ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
ad
x