सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्‌का सदस्य सचिवलाई कारबाही गर्ने बहुमत पार्टीको चेतावनी

इकागज |
भदौ ४, २०७९ शनिबार ८:१५ बजे

कैलाली- सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्‌का सदस्य सचिव दिपक सिंहलाई कारबाही गर्ने चेतावनी दिइएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले जिल्ला जन अदालत न्याय तथा कानुन विभागको कार्यालयमा २५  दिनभित्र चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने चेतावनी दिएको हो ।

'तपाईंको काम कारबाहीको सुक्ष्म अध्ययन, अनुसन्धान जारी रहेको जानकारी गराउँदछौँ । प्राप्त गरेको पत्रको बाटोको म्याद बाहेक २५  दिनभित्र आवश्यक कागजात प्रमाणसहित हाम्रो कार्यालयमा उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ । अन्यथा न्याय तथा कानुन विभागको ऐन, नियम र कानुनअनुसार जनकारबाही गरिनेछ’ पार्टीका प्रमुख अविनाशद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 


परिषद्‌को कार्यालयमा ऐन, नियम ,कानुन विपरीत संगठनको संरचना मनोमानी ढङ्गबाट विना प्रतिस्पर्धा कमिसनको भरमा नियुक्ति दिएको, मापदण्ड विना  र कार्य सञ्‍चालन निर्देशिका विपरीत ठूलो कमिसनको भरमा विभिन्न खेलकुद प्रतियोगिता सञ्‍चालन गरेको, कार्यालयमा रहेको कर्मचारीको हाजिरी अभिलेखसमेत गायब गरेको, कार्यालयको लागि आवश्यकताभन्दा बढी कोठा भएको घर भाडामा लिई घरको कोठा अरुलाई भाडामा लगाई उक्त रकम कार्यालयको खातामा जम्मा नगरी आफैले अपचलन गरी दुरुपयोग गरेकोलगायत १० वटा कारणहरूको लिखित तथा मौखिक जवाफ मागेको छ । 

उता सदस्य सचिव सिंहले आफुलाई असफल बनाउन केही तत्वहरू लागि परेको बताए । उनले चुनौती दिदै भने 'जति बुँदाहरू उल्लेख गरिएका छन्, ती सबै कपोकल्पित हुन ।' आउँदै गरेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई असफल बनाउन केहि व्यक्तिहरू आफ्नो पछाडि लागेको र यसले काम गर्ने वातावरणमा असहज सृजना हुन सक्ने सदस्य सचिव सिंहले बताए ।

यसअघि सदस्य सचिव सिंहको नियुक्ति प्रक्रियाविरुद्ध समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । आयोगले प्रदेशको सामाजिक बिकास मन्त्रालयलाई पत्र लेखेर सो बारे जानकारी गराएको थियो ।


Author

थप समाचार
x