सुदूरपश्चिम

धनगढी उपमहानगरले असोज १ देखि प्लाष्टिकजन्य वस्तुको प्रयोगमा प्रतिबन्ध लगाउने

इकागज |
भदौ १०, २०७९ शुक्रवार १५:१ बजे

कैलाली- धनगढी उपमहानगरपालिकाले असोज १ गतेदेखि नगर क्षेत्रमा प्लाष्टिकजन्य वस्तुको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

आज बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले प्लाष्टिकजन्य उत्पादन बिक्री वितरण र प्रयोगमा रोक लगाउने निर्णय गरेको हो ।


बजारमा उपयोग भएका सुर्तीजन्य पानपराग, गुट्खा, प्लाष्टिकजन्य गिलास, कप, प्लेट , झोलाहरू लगायतका वस्तुले नगर कुरुप बन्दै गएकोले असोज १ गतेबाट प्रयोगमा रोक लगाउने निर्णय गरिएको उपमहानगरपालिकाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी आजै भएको अर्को निर्णयमा सार्वजनिक क्षेत्र, सडक नालीहरूमा फोहर फ्याँक्ने, खोलानालाहरूमा ढल मिसाउनेलाई पहिलोपटकलाई १० हजार रुपैयाँ जरिवाना गर्ने र अर्कोपटक फेला पारे संरचना नै भत्काउने जनाइएको छ । 

त्यस्तै सडकमा निर्माण सामग्री राख्‍ने, सडक अवरुद्ध हुनेगरी ठेला पसल थाप्‍ने, सडकमै पशुचौपाया बाध्‍ने जस्ता काम गर्न नदिन निश्चित अवधिसम्म सबैमा आह्वान गर्ने र त्यसपछि नियम नमान्‍नेलाई क्रमश पहिलोपटकलाई १ हजार जरिमाना गर्ने निर्णय समेत गरिएको विज्ञप्तिमा जनाएको छ ।

त्यस्तै दोश्रो र तेस्रोपटक समेत अटेरी गरे क्रमशः ३ हजार र ५ हजार जरिवाना गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।


Author

थप समाचार
x