सुदूरपश्चिम

कैलाली–५ : चुनावी मैदानमा फेरि आरजु र नारदमुनिकै चर्चा

दीपक उपाध्याय |
भदौ ११, २०७९ शनिवार १६:११ बजे

कैलाली । कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर ५ मा अघिल्लोपटक चुनावी मैदानमा भिडेका दुई अनुहारहरू फेरि आमनेसामने हुने लगभग पक्का भएको छ ।

अघिल्लो पटक प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवालाई पराजित गरेका नारदमुनि राना नेकपा एमालेबाट पुनः उम्मेदवार हुने चर्चा चलेको छ, उनी तयारीमा समेत जुटेका छन् । राना एमाले पोलिटब्युरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज हुन् ।


यद्यपि उम्मेदवार छनोटका लागि केन्द्रीय कमिटीको बैठकले निर्णय लिने नेकपा प्रदेश कमिटी सचिव धर्मराज पाठकले बताए । उनले जिल्लाले प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस गर्ने र प्रदेश कमिटीले केन्द्रलाई सिफारिस गरेपछि केन्द्रको निर्णय नै अन्तिम हुने बताए । उम्मेदवार छनोटको प्रकृया भने आजको बैठकपछि मात्रै शुरु हुने नेकपा प्रदेश कमिटी सचिव पाठकलले बताए । 

अघिल्लो पटक निर्वाचित नारदमुनि राना नै उम्मेदवार हुने चर्चा भने चलिसकेको छ । रानाले समेत रानाथारुको बाहुल्यता रहेका कारण आफू नै बलियो उम्मेदवार भएको बताए । उनले निर्वाचनमा विजयी भएपछि आफूले थुप्रै कामहरु गरेको बताउँदै त्यसको मूल्यांकनका आधारमा जनताले आफूलाई नै पुनः विजयी गराउने दावी गरे ।  

यता नेपाली कांग्रेस कैलालीका सचिव केशव मिश्रले यसपटक आफ्नो पार्टी विजयी हुने दाबी गरे । उनले यहाँबाट प्रतिनिधिसभातर्फ डा. आरजु राणा नै उम्मेदवार बन्ने बताए । यहाँका जनताले अघिल्लो पटक डा. आरजुलाई नजिताएकोमा निकै पछुतो भएको प्रतिकृया मतदाताबाट पाएको बताउँदै यसपटक जित्ने कुरामा कुनै द्विविधा नरहेको सचिव मिश्रले बताए ।  

अघिल्लो निर्वाचनमा रानाले झन्डै ५ हजार मताअन्तरले डा.आरजुलाई हराएका थिए । राना २७ हजार २ सय २ मतसहित विजयी हुँदा राणाले २२ हजार ३ सय २२ मत ल्याएकी थिइन् ।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले प्रदेश पाँच रहेको क्षेत्र धनगढी उपमहानगरपालिकाको १९ वडामध्ये १२ वडा जितेको थियो । अघिल्लोपटक २ वटा वडामा सिमित एमालेले अहिले ६ वटा वडा जितेको छ ।

सत्तारुढ पाँच दलको गठबन्धन हुँदा पनि २०७४ को स्थानीय तहभन्दा राम्रो परिणाम आएको भन्दै कैलाली ५ मा एमाले हौसिएको छ । तर, कांग्रेसले भने आन्तरिक किचलोले स्थानीय तहमा अपेक्षित नतिजा नआए पनि संघीय निर्वाचनमा त्यस्तो नहुने दाबी गरेको छ।

गएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा कैलाली ५ मा कांग्रेसको मत २२ हजार ७७९ छ । एमाले १७ हजार ४२० मतसहित दोस्रो र माओवादी ८ हजार १७५ मतसहित तेस्रो स्थानमा छ ।

यस्तै नेकपा एकीकृत समाजवादीले २ हजार ९, राप्रपाले १ हजार ७९७ र नागरिक उन्मुक्ति पार्टीले ६५९ मत ल्याएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ३०२ मत पाउँदा जनता समाजवादी पार्टी (जसपा)को १५० मत छ ।

अघिल्लो पटक प्रतिनिधिसभामा राना विजयी हुँदा ‘ख’ प्रदेशसभामा कांग्रेसका डिल्लीराज भट्ट र ‘क’ मा एमालेका नेपालु चौधरी विजयी भएका थिए । अहिले एमाले विजयी भएको क्षेत्रमा अघिल्लो पटक निर्वाचित चौधरी र राजेश खातीको नाम चर्चामा छ । कांग्रेसबाट जीवन राना, रामसमझ राना, गणेश देउवा, नारायण बराल, र लक्ष्मीनारायण चौधरीको नाम चर्चामा छ ।

‘ख’मा डिल्ली पन्त, सुशीला मिश्र, नृप सुनार, निपा चोखाल र केशव मिश्रको नाम चर्चामा छ । अघिल्लो पटक यस क्षेत्रमा पनि कांग्रेस विजयी भएको थियो । डिल्ली पन्त निर्वाचित भएको यस क्षेत्रमा एमालेबाट धर्मराज पाठक, दुर्गा जोशी र जीवन बमको नाम चर्चामा छ।
 


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x