सुदूरपश्चिम

अपडेट

तस्बिरमा हेर्नुहोस् दार्चुलाको बाढी-पहिरो

इकागज |
भदौ २५, २०७९ शनिबार ९:२३ बजे

काठमाडौँ- गएरातिदेखिको अविरल वर्षाका कारण दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा ठूलो क्षति भएको छ । बंगाबगड क्षेत्र, डुङरी, मुल्ला मैखोली, पन्नोणालगायतका क्षेत्रमा लास्कुखोलामा आएको बाढीले ठुलो क्षति पुर्‍याएको छ । गएरातिदेखि परेको पानीका कारण आएको बाढी र पहिरोले दार्चुला करिब एक दर्जन घर बगाएको छ भने केही मानवीय क्षतिसमेत भएको आशंका गरिएको छ ।


बिहान करिब ३ बजेतिर आएको बाढी र पहिरोका कारण केही मानिस हताहत भएको हुनसक्ने जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् प्रवक्ता हेमन्ती साउदले बताइन् । लास्कु खोलामा आएको बाढीले सबैभन्दा धेरै क्षति पुर्‍याएको बताइन् ।

पहिरोले नौगाड गाउँपालिकामा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्नाको मृत्यु भएको छ । स्थानीय पत्रकार श्याम धामीका अनुसार पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाको पनि शव पुरिएको अवस्थामा फेला परेको काका भरत ठगुन्नाले बताए । पहिरोमा फसेका मृतकका बुवा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको जिवितै उद्धार गरिएको छ । उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । 

यस्तै नौगाड गाउँपालिका-२ दल्लेखका ६० वर्षीय मोहनराम पार्की बेपत्ता भएका छन् ।  पहिरोले सल्लाका आठ घर पुरिएका छन् भने स्थानीय बिरा ठगुन्नाको हाटखुट्टा भाँच्चिएर घाइते अवस्थामा उद्धार गरिएको छ । नौगाडमा पहिरोमा परि केही मानिस बेपत्ता भएको आशंका गरिएको छ । 

त्यस्तै दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । स्थानीयका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन् । अहिलेसम्म एक विद्यालय, ११ घर, दुई वटा पुल र केही सवारी साधन बाढीले बगाएको बताउँदै जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक जगत गाहामगरले करिब १०/१२ घरमा क्षति पुगेको जानकारी दिए । उनले हालसम्म ४ जना बेपत्ता भएको जानकारी आएको बताए । 

उद्धार र खोजी कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको उनले बताए ।  घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

यता सुदुरपश्चिम प्रहरी प्रदेश कार्यालयका प्रवक्ता एसएसपी भोलाबहादुर रावलले भने केहि घरहरूमा सामान्य क्षति पुगेको बताए । उनले मानिस मृत्यु र बेपत्ताबारे केही जानकारी नभएको बताए ।

र, यो पनि


Author

थप समाचार
x