सुदूरपश्चिम

यी हुन् समयमै खर्च विवरण नबुझाउने मोहन्यालका ९७ उम्मेदवार (सूचीसहित)

इकागज |
असोज ६, २०७९ बिहिवार १७:४० बजे

काठमाडौँ - कैलालीको मोहन्याल गाउँपालिकाका झण्डै एक सय उम्मेदवारले समयमै चुनावी खर्च विवरण नबुझाएको पाइएको छ । गत स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका मोहन्यालका ९७ जनाले समयमै खर्च विवरण नबुझाएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार खर्च विवरण नबुझाउनेमा निर्वाचित गाउँपालिका अध्यक्षदेखि वडाध्यक्ष र सदस्यहरूसमेत छन् । 

गाउँपालिका अध्यक्षमा निर्वाचित देवीदत्त उपाध्यायसहित अध्यक्षका उम्मेदवारहरू धरमबहादुर थापा, नन्दबहादुर बस्नेत र लोकेन्द्र बडुवालले समयमै खर्च विवरण नबुझाएको आयोगले जनाएको छ । अध्यक्षमा निर्वाचित उपाध्याय माओवादीका तर्फबाट, थापा नेकपा एमाले, बडुवाल नेपाली कांग्रेस र बस्नेत राप्रपाबाट उम्मेदवार बनेका थिए । बडुवालले मनोनयन दर्ता गरेर अन्तिममा सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गरेका थिए । उनीहरूले अब साढे तीन लाख जरिवाना तिर्नुपर्ने भएको छ । ​


त्यस्तै उपाध्यक्षका उम्मेदवार सरस्वति रावल विष्ट(एमाले) र टीकासरी बुढा (स्वतन्त्र)ले पनि समयमै खर्च विवरण नबुझाएको आयोगले जनाएको छ । सरस्वति रावल उपाध्यक्षमा पराजित भएकी थिइन् भने बुढाले अन्तिम समयमा सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गरेकी थिइन् । उनीहरूले पनि साढे तीन लाख जरिवाना तिर्नुपर्ने भएको छ । 

समयमै खर्च विवरण नबुझाउनेमा वडाध्यक्षमा निर्वाचितदेखि पराजित उम्मेदवारहरू समेत छन् । 

वडा नम्बर ७ मा अध्यक्षका उम्मेदवार बनेर पराजित भएका लिलाराम माझी (एमाले) र  प्रेम जैशी (माओवादी)ले समयमै खर्च विवरण नबुझाएको आयोगले जनाएको छ ।

त्यस्तै वडा नम्बर ६ मा अध्यक्ष निर्वाचित कृष्ण शाही (एमाले)सहित पराजित भएका कृष्णबहादुर बोहरा (माओवादी) र नरेन्द्र जैशी (कांग्रेस)ले समेत समयमै खर्च विवरण नबुझाएको आयोगले जनाएको छ । 

आयोगका अनुसार वडा नम्बर ५ का वडाध्यक्ष विजयी प्रविण घर्ती (कांग्रेस), पराजित उम्मेदवारहरू छविलाल हौजारी (माओवादी) र टेकेन्द्र सिजाली (एमाले) ले समेत समयमै खर्च विवरण बुझाएका छैनन् । 

वडा नम्बर ४ मा निर्वाचित वडाध्यक्ष बलबहादुर बुढा (माओवादी)सहित उम्मेदवार बनेका काशीराज थापा (कांग्रेस) र बमबहादुर बुढा (एमाले)ले पनि खर्च विवरण बुझाएका छैनन् । 

वडा नम्बर ३ मा अध्यक्षका उम्मेदवार बनेका अमर टमट्टा (एमाले), जंगबहादुर बगाले (माओवादी) र कर्ण योगी (राप्रपा)ले खर्च समयमै खर्च विवरण नबुझाएको आयोगले जनाएको छ ।

वडा नम्बर २ का अध्यक्ष जय मल्ल (माओवादी)सहित उम्मेदवार बनेका कैलाश घर्ती (एमाले) र भीमबहादुर मगर (कांग्रेस)ले समयमै खर्च विवरण नबुझाएको आयोगले जनाएको छ । 

आयोगका अनुसार वडा नम्बर १ मा वडाध्यक्षका उम्मेदवार बनेका गणेश बुढा (माओवादी) र नरबहादुर घर्ती (एमाले)ले समेत समयमै खर्च विवरण बुझाएनन् । 

गाउँपालिका अध्यक्ष/उपाध्यक्ष र वडाध्यक्षसहित सदस्यमा उम्मेदवार बनेका धेरैले समयमै खर्च विवरण नबुझाएको आयोगले जनाएको छ ।

समयमै खर्च विवरण नबुझाउने वडाध्यक्षका उम्मेदवार र सदस्यका उम्मेदवारले डेढ लाख जरिवाना तिर्नुपर्नेछ ।


Author

थप समाचार
x