सुदूरपश्चिम

सुदूरपश्चिममा बीमाको पहुँच अभिवृद्धि गरिनुपर्छ : अर्थमन्त्री

इकागज |
असोज ७, २०७९ शुक्रबार १८:० बजे

कैलाली- अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बीमाको पहुँच अभिवृद्धि गरिनुपर्ने खाँचो औंल्याएका छन् । बीमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयले धनगढीमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले बीमाका दाबी, भुक्तानीका कुरामा धेरै गुनासा तथा असन्तुष्टि रहेको बताए ।

मन्त्री शर्माले नेपालभर समग्रमा बिमाको पहुँच ४१ दशमलव २ प्रतिशत मात्रै रहेको बताउँदै सुदूरपश्चिम प्रदेशमा १९ दशमलव १७ प्रतिशत मात्रै रहेकाले यसलाई वृद्धि गर्नुपर्ने बताए । उनका अनुसार देशभरि विभिन्न बिमा कम्पनीका तीन हजार तीन सय ६६ शाखा सञ्चालन छन् भने सुदूरपश्चिममा तीन सय २७ मात्रै छन् । अहिले बीमा संस्थानले दिएको प्रत्यक्ष बीमा सन्दर्भका रोजगारी १२ हजार ३१ को सङ्ख्यामा रहेको तर सुदूरपश्चिम प्रदेशमा छ सय ८७ मात्रै रहेको बताउँदै सुदूरपश्चिम प्रदेश बिमाको पहुँचबाट अलि टाढा रहेको जिकिर गरे । 


अर्थमन्त्री शर्माले लगानीको जोखिम न्यूनीकरण गर्ने मुख्य काम बिमाको रहेको स्पष्ट पार्दै बिमाद्वारा ठूला विपत्तिको जोखिम पनि न्यूनीकरण गर्न सकिने बताए । लगानीकर्ता, प्रयोगकर्ता र उत्पादनकर्तालाई ढुक्क भएर आफ्नो क्षेत्रमा काम गर्ने वातावरण बनाउने बिमाको मुख्य उद्देश्य रहेको मन्त्री शर्माकाे भनाइ छ ।


Author

थप समाचार
x