सुदूरपश्चिम

टीकापुरलाई सुन्दर बनाउने परिकल्पना याेजनामै सिमित, चार वर्षमा पनि बनेन सडक

इकागज |
मंसिर १३, २०७९ मंगलबार १३:२७ बजे

टीकापुर- कैलालीको टीकापुर बजारलाई सुन्दर बनाउने परिकल्पनाअनुसार बजार क्षेत्रमा पक्की सडक निर्माण थालिए पनि समयमै नबन्दा नागरिकमा चिन्तित हुन थालेका छन् । एकातिर सडक नबन्ने चिन्ता अर्काेतर्फ सडकको धुलोले स्वास्थ्यमा असर पार्न थालेपछि स्थानीय बासिन्दा के गरौँ भन्न थालेका छन् ।
    
साढे तीन वर्षअघि निर्माण थालिएको बजार क्षेत्रको काममा ढिलाइ हुँदा नागरिकलाई हिँडडुलमा र धुलाले स्वास्थ्यमा गम्भीर असर पर्न थालेको छ । धुलोले बजार क्षेत्रका घर धुलाम्मे भएका छन् । बजारमा राखिएका कपडादेखि अन्य दैनिक प्रयोजनका सामग्रीमा असर परेको छ । धुलोकै कारण सर्वसाधारण बजार क्षेत्रमा आउन मान्दैनन् । सडक निर्माणको धुलोले नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको डाक्टर लालसिंह टमट्टाको भनाइ छ । “बजार क्षेत्रमा बिना मास्क हिँड्न सकिँदैन”, डाक्टर टमट्टाले भने, “धुलोका कारण खोकीका बिरामी बढेका छन् । यसले पछिसम्म स्वास्थ्यमा असर पार्छ ।”    
    
 सघन सहरी विकास कार्यक्रमबाट टीकापुरमा निर्माणाधीन ब्लक ‘ए’का सडक कालोपत्र गर्ने काम समयमै नहँुदा नागरिकले सरकार र स्थानीय नेताप्रति आक्रोश व्यक्त गर्न थालेका छन् । दुई वर्षमा निर्माण गरिसक्नुपर्ने सडक आउँदो माघमा चार वर्ष पुग्दैछ । सडकमा ढुङ्गा, बालुवाका कारण यात्रा गर्न कठिन छ ।    
    
 “हिँड्ने मानिस धेरै लड्ने गरेका छन् । सवारी साधन साइकल, मोटरसाइकल र स्कुटी चलाउनेलाई पनि समस्या हुने गरेको छ”, स्थानीय लक्की शाहले भने, “म स्कुटीमा हिँड्छु, सडकमा बिच्छ्याइएको ढुङ्गाका कारण कठिन छ ।”    
    
 टीकापुरका कपडा व्यापारी खडकलाल पाण्डे धुलोधुवाँले पसलका अधिकांश सामान बिग्रिएका बताउँछन् । “कपडाहरु धेरै धुलोले बिग्रिएका छन् । बाहिर झुन्ड्याएर राखेका लुगा सबै फाल्नुपर्ने अवस्था आउन थालेको छ”, पाण्डेले भने । “ सडक खनेर अलपत्र छाड्दा व्यापारीको लाखौँ नोक्सान भएको छ ।”    
    
स्थानीय निर्मला कडायतले अलपत्र सडक र नालीले गर्दा घर धुलाम्मे भएको बताए। “बिहान सफा गरेको घर साँझ धुलाम्मे हुन्छ, घरभित्रका सामान पनि धुलाले बिग्रन थालेका छन्”, कडायतले भने, “गिट्टीको धुलो भएकाले अझ खतरा छ, यस्तो विषयमा स्थानीय जनप्रतिनिधि गम्भीर नभएको देख्दा दुःख लाग्छ”, कडायतले भने।    
टीकापुरको मुख्य बजार ब्लक ‘ए’ भित्रका सबै सडकहरु खनेर छोडिएको छ । निर्माण कम्पनीका सबइन्जिनियर जयराम थापा अबको केही दिनमा निर्माण कार्य सञ्चालन गर्ने बताउँछन् । ‘‘अझै ६ महिना जति निर्माण सक्न समय लाग्छ । तेस्रो पटक म्याद थप हुँदैछ । सडकको डिजाइन फेरबदल गर्नुपरेको थियो”, थापाले भने, “ त्यसले निर्माणमा ढिलाइ भयो । डिजाइन फेर्दा नौ प्रतिशत बजेटसमेत थप भएको छ । ढल निर्माण अन्तिम चरणमा पुगेको छ । अब कालोपत्र कार्य धमाधम गर्ने तयारी हो ।”    
    
 विसं २०७७ माघ मसान्तभित्र सडक निर्माणको काम सक्ने गरी महालक्ष्मी एम के जेभी धनगढीले रु आठ करोड ४४ लाख २१ हजारमा ठेक्का पाएको थियो । एउटा मुख्य र ११ शाखा सडक रहेको आयोजनाअन्र्तगत काम सक्ने मिति सकिएको दुई वर्ष पुग्दैछ । त्यसपछि बीचमा थपिएको समय पनि सकिएर निर्माण कम्पनीले पुनः म्याद थपका लागि पक्रिया सुरु गरेको छ ।    
    
निर्माण व्यवसायी चक्र शाहले प्राविधिक समस्याले ढिलाइ भएको बताए । “सडकको सतह तयार भइसकेको छ । अब धमाधम कालोपत्र गर्ने हो”, शाहले भने, “सुरुमा १८ महिनाको सम्झौता थियो । खानेपानी, नेपाल टेलिकमका तार बदल्नुपर्ने, बिजुलीका पोल सार्नुपर्ने कारणले ढिला भयो, त्यसपछि कोभिड, निर्वाचनको असर पर्‍यो । अब काम छिटो गर्छौं ।”     
    
कार्यक्रमअन्तर्गत नगरपालिका–१ को ब्लक ‘ए’ भित्र पर्ने खक्रौलारोडदेखि अस्पताल हुँदै सामुदायिक रेडियो, पुरानो पानी ट्याङ्की नयाँ बिहानी पुनस्र्थापना केन्द्र इलाका प्रहरी कार्यालयसम्म एक किलोमिटर मुख्य सडक चार लेनको बन्नेछ । यसको वरपर शाखा सडक कालोपत्र हुनेछन् । शाखा सडकको लम्बाइ दुई हजार एक सय मिटर हुने र यससँगै सडकको पानी निकासलाई नाली निर्माण हुनेछ ।



Author

थप समाचार
x