सुदूरपश्चिम

छात्रा मृत्यु प्रकरण : तनावग्रस्त धनगढीमा निषेधाज्ञा जारी

कहाँ-कहाँ जान पाइँदैन, के-के गर्न पाइँदैन धनगढीमा

इकागज |
मंसिर १५, २०७९ बिहीबार १९:४ बजे

काठमाडौं– धनगढीमा ग्रेडरले कुल्चिएर विद्यार्थीको मृत्युपछि घटनास्थल मै रहेको शव प्रहरीले उठाएको भन्दै आक्रोशित विद्यार्थीहरुले सेती प्रादेशिक अस्पताल अगाडि प्रदर्शन गरेका छन् ।

आज बिहान पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउदको मृत्युपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । बिहीवार बिहान धनगढी उपमहानगरपालिका–५ पिपल चौतारा नजिकै काम गरिरहेको ना १ क ९७५ नम्बरको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा बालिकाको कुल्चिएर मृत्यु भएको थियो ।


आन्दोलन चर्किँदै गएपछि कैलाली प्रशासनले निषेधाज्ञा जारी गरेको छ । आज एक विज्ञप्तिजारी गर्दै जिल्ला प्रशासन कार्यालयले संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी किरण थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा चार किल्ला तोकेर निषेधाज्ञा जारी गरिएको छ । पूर्वमा धनगढी उपमहानगरपालिका– १ पुरानो फूलवारी बसपार्क (पुष्पलाल चोक), पश्चिममा धनगढी उपमहानगरपालिका–४ रातोपुल, उत्तरमा धनगढी उपमहानगरपालिका– ५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन र दक्षिणमा धनगढी उपमहानगरपालिका– १ र २ स्थित हुलाकी राजमार्गसम्म निषेधाज्ञा जारी गरिएको छ । आज बेलुका ७ बजेदेखि सुरु हुने निषेधाज्ञा भोलि विहान ६ सम्म चल्नेछ । 

ग्रेडरबाट दुर्घटना हुँदा मृत्यु भई उक्त घटना पश्चात् सृजना भएको परिस्थितिलाई मध्यनजर गर्दै हुन सक्ने अराजक गतिविधिहरुलाई नियन्त्रण गरी सर्वसाधारण नागरिकहरुको जनधनको सुरक्षा र सरकारी सम्पत्तिको संरक्षणका लागि निषेधाज्ञा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

शान्ति सुव्यवस्था कायम गने स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्र र समयमा ५ जनाभन्दा वढी व्यक्तिहरु आवत जावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन जिल्ला सुरक्षा समिति कैलालीको निर्णयानुसार निषेध गरिएको हो । 


Author

थप समाचार
x