सुदूरपश्चिम

उपमहानगरको नक्कली अनुमतिपत्र देखाउँदै नदीजन्य पदार्थ उत्खनन्

दीपक उपाध्याय |
माघ १०, २०७९ मंगलबार १३:५५ बजे

कैलाली - धनगढी उपमहानगरपालिकामा अनाधिकृत रूपमा नदिजन्य पदार्थ ढुंगा, बालुवा र ग्राभेल संकलन गरिरहेको पाइएको छ । धनगढी उपमहानगरपालिका-१७ भएर बग्ने खुटिया खोलामा जेसिबी प्रयोग गरेर अनधिकृत रूपमा नदिजन्य पदार्थ संकलन गरिरहेको पाइएको हो ।  अनधिकृत रूपमा नदिजन्य पदार्थ संकलन गरिरहेको जेसिबीलगायतका साधनहरू प्रहरीले नियन्त्रणमा लिएको छ ।


सुदूरपश्चिम प्रदेश अनुसन्धान टिम (आरआइटी) र ईलाका प्रहरी कार्यालय अत्तरियाको संयुक्त प्रहरी टोलीले धनगढी उपमहानगरपालिकाको छाप र चलानी नम्बर नै नभएको पत्र देखाउँदै मंसिर ९ गतेदेखि खोलाबाट नदीजन्य वस्तुहरू उत्खनन् गरिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले दुई वटा जेसिबी, दुई टिप्पर र चार ट्र्याक्टर नियन्त्रणमा लिएको हो । 

गत कात्तिक २० गते के.एस. कन्स्ट्रक्सन गौरीगंगा नगरपालिका ६ ले खोलामा जेसिबी प्रयोग गरी खोलाजन्य निर्माण सामग्री उत्खननका लागि ३२०० घनमिटर ग्राभेल उपमहानगरपालिकासँग अनुमति मागेसँगै उपमहानगरपालिकाले २ जेसिबी  र पाँच वटा टिप्परलाई अनुमति दिएको थियो । सोही पत्रको आधारमा अहिलेसम्म खोलाबाट ग्राभेल उठाइरहेको उपमहानगरपालिकाका प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बताए । उनले अनुमति मागेपछि प्रयोग गर्न दिएको बताउँदै अहिलेसम्म कति ग्राभेल उठाए भन्‍ने आफूलाई जानकारी नभएको बताए । 

पुन: मंसिर ९ गते चलानी नम्बर र उपमहानगरपालिकाको छाप नै नभएको पत्रमा धनगढी ८ ठेगाना रहेको किंगमेकर बिल्डर्सलाई सोही ठाउँबाट २१९८ नम्बरको १ जेसिबी र २२४४८ र २२४५ नम्बरको २ ओटा टिप्पर प्रयोग गरी १०९७ घनमिटर ग्राभेल उठाउने अनुमति दिएको पत्र फेला परेको छ । तर खोलामा प्रयोग भैरहेको जेसिबी र टिप्परबाहेक चार वटा ट्र्याक्टर समेत फेला परेको छ । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अशोक सिंहले अवैध रूपमा खोलामा प्रयोग भएका साधनहरू नियन्त्रणमा लिएको पुष्टि गरे । उनले खोलामा अनुमतिविनै प्रयोगमा रहेका सवारीसाधनहरूलाई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय मालाखेती पठाइएको बताए ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x