सुदूरपश्चिम

यस्ता छन् सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखकाे आगामी कार्ययाेजना

दीपक उपाध्याय |
माघ १०, २०७९ मंगलबार १४:४५ बजे

कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले १० बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् । डिआईजी सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय मातहतका कार्यालयहरुको आन्तरिक तथा बाह्य निरीक्षण गर्दै सो कार्ययोजना सार्वजनिक गरेका हुन् । 

केही दिनअघि मात्र सरुवा भएर सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड सम्हाल्न आएका डीआईजी सिंहले प्रहरी कर्मचारीलाई पालना गर्नुपर्ने आँचरण, व्यवहार तथा सेवाग्राहीहरूसँगको बोली व्यवहारका बारेमा निर्देशन दिएका छन्।  डिआइजी सिंहले अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर जघन्य अपराध, फरार अपराधी पक्राउ लगायत अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर काम गर्न मातहतका प्रहरी निकाय एवं संगठनलाई निर्देशन दिएका छन्। 


प्रहरी संगठनले लिएको लक्ष्य र उद्देश्यअनुरुप जनताको जिउधनको सुरक्षा, लागूऔषध सेवन तथा ओसारपसार, सीमानाकाबाट हुने अवैध चोरी निकासी पैठारी, लैंगिक तथा घरेलु हिंसालगायतका सामाजिक विकृति, गुण्डागर्दीजस्ता घटनाहरुलाई नियन्त्रण तथा न्युनीकरण गर्न सबै प्रहरी कर्मचारीहरुले उच्च आचरण व्यवहार, कर्तव्य निष्ठ, ईमान्दारीका साथ लाग्न सिंहले निर्देशन दिएका छन्।

डिआइजी सिंहले आम नागरिकको प्रहरी प्रतिको विश्वास बढ्दै गएको बताउँदै उनले जनतालाई केन्द्रबिन्दुमा राखेर थप जनमुखी भएर प्रहरी सेवा प्रदान गर्न प्रहरी अधिकारीलाई आग्रह गरेका छन्। डिआईजी सिंहका यस्ता छन् १० बुँदे कार्ययोजना  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालका डिआइजी सिंहले १० बुँदे कार्ययोजना सार्वजनिक गरेका छन्।

सुदूरपश्चिम प्रदेशभित्र बढ्दै गएको लागूऔषध कारोबार, विक्रीवितरण र ओसारपसार नियन्त्रण गर्ने,  सीमा नाकामा हुने अवैध तोरी, तस्करी, निकासी, पैठारीमा हुने अनियमिततालाई नियन्त्रण र नियमन गर्न सुरक्षा सतर्कता बढाउने योजना बनाइएको छ। त्यस्तै सिटी सेक्युरिटी म्यानजमन्ट, हाइवे सेक्युरिटी म्यानजमन्ट, बोर्डर सेक्युरिटी म्यानजमन्टलाई कडाइका साथ लागू गर्न मातहतका प्रहरी निकायलाई निर्देशन डिआइजीबाट निर्देशन भएको छ। यसका लागि कार्ययोजना बनाएर मातहत प्रहरी कार्यालयहरुले अहोरात्र प्रहरी परिचालन गरि कमाण्डरहरुले रोल मोडेलमा कार्य गर्नुपर्ने उनले निर्देशन दिएका हुन्। 

समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बन्धित सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय र सहकार्य गरेर समाजमा बढिरहेको आत्महत्या, लागुऔंषध सेवन, साईबर अपराध, सवारी दुर्घटना लगायतका सामाजिक विकृति न्युनीकरण गर्न विशेष योजनासहित अघि बढ्ने तयारी थालिएको छ। प्रहरी परिचालनको सिलसिलामा प्रहरी कर्मचारीहरुले स्वार्थ वा प्रलोभनमा नपरेर कुनै पनि गैर व्यवसायिक क्रिलाकलापमा संलग्न नभई शून्य सहनशिलतामा कार्य गर्न समेत डिआइजी सिंहले निर्देशन दिएका छन्।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x