सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्‍चित, संकटमा मुख्यमन्त्री रावलको पद

दीपक उपाध्याय |
माघ २०, २०७९ शुक्रबार १३:५८ बजे

कैलाली - सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्नेबारे अझै टुङ्गो लाग्न सकेको छैन । मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने कुरामा दलहरूबीच सहमति हुन नसक्दा प्रदेश सभाको बैठक अनिश्चित बनेको हो ।

यसअघि माघ ११ गते प्रदेश सभाको बैठक बोलाइएको थियो । तर बैठक नै नबसी अनिश्चितकालका लागि बैठक स्थगित गरिएको थियो ।


प्रदेश सभाको बैठक अनिश्चित नै रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए । उनले अहिलेसम्म बैठक बस्नेबारे कुनै टुङ्गो नै नलागेको बताए ।  

अब बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिनुपर्ने छ । विश्वासको मत लिन नसके सम्भवत: उनको पद जानेछ । यता, विश्वासको मतबारे सत्ता साझेदार दलहरूबीच अझै सहमति हुन सकेको छैन । सत्ता साझेदार दलको एक घटक नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने यस अघिनै बताउँदै आएको छ । 

बिहीबार प्रहरीले नागरिक उन्मुक्ति पार्टीका कैलाली निर्वाचन क्षेत्र २ बाट चुनाव जितेका अरुण कुमार चौधरीलाई पक्राउ गरेपछि उन्मुक्ति पार्टीले समर्थन गर्नेकुरा झनै पेचिलो बन्दै गएको छ । 

नागरिक उन्मुक्ति पार्टीकि अध्यक्ष रन्जिता चौधरीले आफ्नो पार्टीको मुद्दा कारागारमा रहेका रेशम चौधरीको रिहाइ रहेकोमा झन् राज्यबाट पहिले नै टुंगी सकेको मुद्दामा सांसद अरूण चौधरीलाई पक्राउ गरेपछि समर्थन दिइरहनुको कुनै औचित्य नरहेको बताइन् ।

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ। माओवादीका सभामुखबाहेक १०, एमालेका १० र राप्रपाको एक गरी सत्तापक्षमा २१ मत छ। सात सिट रहेको नागरिक उन्मुक्तिले साथ दिए मात्र सत्ता पक्षको बहुमत पुग्छ । प्रदेश सभामा प्रतिपक्षमा कांग्रेसका १९, एकीकृत समाजवादीका ४ र एकजना स्वतन्त्र सांसद छन् ।

संविधानले गरेको व्यवस्था बमोजिम मुख्यमन्त्रीले नियुक्त भएको एक महिनाभित्रै विश्वासको मत लिनु पर्नेछ । पुस २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x