सुदूरपश्चिम

डडेल्धुराको सिरोड गाउँमा दुई दशकपछि बिजुली बत्ती

इकागज |
माघ २४, २०७९ मगलवार २१:३५ बजे

डडेल्धुरा- डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ को सिरोड गाउँमा दुई दशकपछि बल्ल बिजुली बलेको छ ।

बहुचर्चित पश्चिम सेती जलविद्युत् आयोजनाको बाँध क्षेत्र रहेको डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका-४ सिरोड गाउँमा दशकौंको पखाई पछि बल्लतल्ल बिजुली बलेको हो । तर, पटकपटकको पश्चिम सेती बहुउद्देश्यीय जलविद्युत् आयोजनाको चर्चाले ठूला विकासका पूर्वाधार भने अझै संचालन हुन सकिरहेका छैनन् ।


नवदुर्गा गाउँपालिका–४, सिरोडमा लामो प्रयत्नपछि विद्युत् विस्तार सम्भव भएको हो । साबिकको बेलापुर गाउँ विकास समितिको मुकाम खुनीमा २०६० सालमै विद्युत् लाइन विस्तार भएको थियो । यद्यपि खुनीआसपासका गाउँ सिरोड, कटाल, काकाडपानी, खटौटे, चलकट्टे, इसलेक लगायतका गाउँमा विद्युत् विस्तार हुन दुई दशक लाग्यो । 

बिजुली नपुगेका वडा नंं ४ र ५ का गाउँमा आर्थिक वर्ष २०७८/२०७९ मा करिब ५० लाख रकम बराबरको ठेक्का भएर विद्युत् विस्तारको काम भइरहेको नवदुर्गा गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले जानकारी दिए । साथै बाँकी रहेको ठाउँमा पनि छिट्टै बिजुली बाल्ने उनको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुरासँग सहकार्य गरेर गाउँपालिकाले विद्युत् विस्तार गर्ने काम अगाडि बढाए पनि पोल गाडेर काम अधुरै छोडेर ठेकेदार बेपत्ता हुने प्रवृत्ति बढ्दै गएको केन्द्रले जानकारी दिएको छ । हालसम्म डडेल्धुरामा ७५ प्रतिशत ठाउँमा बिजुली पुगेको र बाँकी २५ प्रतिशत बिजुली नपुगेको घरधुरीमा चाँडै पुर्‍याइने विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराले जनाएको छ ।

गाउँमा बिजुली बत्ती बल्ने भए पछि यहाँका स्थानीय खुसी भएका छन् । बिजुली नहुँदा स्थानीय सोलार, झरोको भर परेका थिए अब गाउँमा बिजुली बल्ने भएपछि जीवनयापनमा सहज हुने स्थानीय बताउँछन् । साथै विद्यार्थीलाई पठनपाठन, घरेलु काममा सहज, कुटानी पिसानी र सूचना प्रविधिको उपयोग तथा सूचना सञ्चार सुविधा हुने भएकाले गाउँगाउँमा बिजुलीको माग बढ्दो छ । 


Author

थप समाचार
x