सुदूरपश्चिम

सरकार जोगाउने अन्तिम कसरतमा मुख्यमन्त्री रावल

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई अढाइ वर्ष मुख्यमन्त्री लिएर समर्थन गर्न आग्रह

इकागज |
माघ २६, २०७९ बिहीबार ९:२७ बजे

कैलाली - नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेपछि सुदूरपश्चिम प्रदेश सरकार सङ्कटमा परेको छ । निर्णायक रहेको नागरिक उन्मुक्तिले विश्वासकफ मत नदिने भएपछि संकटमा परेको सरकार जोगाउन नेताहरू अन्तिम कसरतमा छन् ।  

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिँदै छन् । रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो । उनी पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।


नेकपा एमालेले नेकपा (एकीकृत समाजवादी)लाई अढाइ वर्ष मुख्यमन्त्री लिएर सरकारलाई समर्थन गर्न आग्रह गरेको छ । समाजवादीले समर्थन गरे पनि सरकार जोगाउन आवश्यक पर्ने सांसदको सङ्ख्या भने पुग्ने अवस्था छैन । तर, समाजवादीका नेताले भने एमालेको अफर अस्वीकार गरेको बताइएको छ । 

त्यसका लागि सभामुखलाई समेत हटाउन सत्तापक्ष तयार भएको छ । सभामुखले मतदान गर्न पाउँदैनन् । 

माओवादी केन्द्रका १०, नेकपा एमालेका १०, समाजवादीका चार, राप्रपा र स्वतन्त्रका एक / एक जना सांसद र सभामुखबाट भीम बहादुर भण्डारीलाई समेत हटाएर सरकार जोगाउन २७ जना सांसद पुर्‍याउने एमालेले कोसिस गरेको स्रोतले बतायो ।

सरकार जोगाउने उद्देश्यले उद्योग मन्त्री दामोदर भण्डारी बुधबार साँझ धनगढी आइपुगेका थिए । राति अबेरसम्म नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको घरमा मुख्यमन्त्रीसहित नेकपा एमालेका नेताहरूको बैठक बसेको थियो । 

त्यहीँबाट नेकपा एमालेका नेताहरूले समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, स्वतन्त्र सांसद डा. तारा जोशीलाई एमालेका नेताहरूले टेलिफोनमार्फत् सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

नेकपा एमालेका नेताले सरकारलाई समर्थन गरे वाफत् डा. जोशीलाई मन्त्री बनाउने आश्वासन दिएको स्रोतले बतायो । 

तर, नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले कसैलाई मुख्यमन्त्री आश्वासन नदिइएको बताए ।

तर नेताहरूकाबीचमा कुराकानी भएको भने पाठकले स्वीकार गरे । मुख्यमन्त्रीले आज साँझ ५ बजेभित्र विश्वासको मत लिइसक्नु पर्नेछ । आज विश्वासको मत लिन नसके मुख्यमन्त्री स्वतः पदबाट हट्नेछ ।


Author

थप समाचार
x