सुदूरपश्चिम

राजश्व रकम हिनामिनासम्बन्धी मुद्दा

विशेष अदालतले दियो मोहन्याल गाउँपालिका अध्यक्षसहित १५ जनालाई सफाइ

इकागज |
माघ २६, २०७९ बिहीबार १८:४२ बजे

काठमाडौँ - कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय 'हिमशिखर'सहित १५ जनाले राजश्व रकम हिनामिनासम्बन्धी मुद्दामा सफाइ पाएका छन् ।

बिहीबार विशेष अदालतले राजश्व रकम हिनामिनासम्बन्धी मुद्दामा अध्यक्ष उपाध्यायसहित तत्कालीन गाउँ कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृतलगायत १५ जनालाई सफाइ दिएको हो । न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुशीप्रसाद थारुको संयुक्त अदालतले राजश्व रकम हिनामिनासम्बन्धी मुद्दाका सबै १५ प्रतिवादीलाई सफाइ दिएको हो । 


अदालतमा मुद्दा परेसँगै वर्तमान अध्यक्ष उपाध्यायले कामकाजसमेत गर्न पाएका थिएनन् । गाउँपालिका कार्यबाहक अध्यक्षका भरमा चलिरहेको थियो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष स्व. नवलसिंह रावलसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दामा तत्कालीन गाउँपालिका उपाध्यक्ष पुजा देवी बुढामगर, सबै वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीसमेतलाई विपक्षी बनाइएको थियो । वर्तमान अध्यक्ष उपाध्याय तत्कालीन अवस्थामा वडा नम्बर २ का अध्यक्ष थिए ।

सफाइ पाउनेमा वडा नम्बर ३ का अध्यक्ष नन्दबहादुर गिरी पनि छन् । गिरी पुन: वडाध्यक्षमा विजयी भए पनि मुद्दाका कारण कामकाज गर्न पाएका थिएनन् । 

नदीजन्य सामग्रीको उत्खनन र बिक्री वितरणमा निर्माण व्यवसायी कम्पनी न्यु बडिमालिका निर्माण सेवा र गाउँपालिका पदाधिकारीबिच मिलेमतो भई भ्रष्टाचार भएको अख्तियारको दाबी थियो ।

 


Author

थप समाचार
x