सुदूरपश्चिम

सुदूरपश्चिममा एक महिनामा विभिन्न मुद्दाका ११६ जना प्रतिवादी पक्राउ

इकागज |
फागुन २, २०७९ मंगलबार २०:२७ बजे

कैलाली- सुदूरपश्चिम प्रदेशमा एक महिनामा विभिन्न मुद्दाका ११६ जना प्रतिवादी पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको एक महिने कार्य प्रगति विवरणमा सवारीसाधन, लागूऔषध लगायतका मुद्दामा ११६ जना व्यक्ति पक्राउ परेको जानकारी दिइएको हो ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले आफू आएको पुष १० गतेदेखि हालसम्म कैलालीबाट २३ केजी २५ ग्राम चरेश, १० ग्राम गाँजा, १२८ नाइट्रोभेट, ८ स्यास्मो, ६९ स्पास,१ कोरेक्स, १४५ ग्राम ९७७ मिलीग्राम हिरोइनसहित ८२ जना मानिस पक्राउ परेको जानकारी दिएका छन् ।


यस्तै कञ्चनपुरबाट १७ किलो ४६१ ग्राम चरेश, ८८ ग्राम ७ सय ५५ मिलीग्राम हिरोइन, ९४ फेनार्गन, ९३ रेक्सोजेसिक, ७९ डाईजापाम र १० नाइट्राभेटसहित ३१ जना पक्राउ परेको प्रदेश प्रहरी प्रमुख सिंहले जानकारी दिए । 

यस्तै ५ सय १७ ग्राम चरेशसहित ३ जना पक्राउ परेका छन् । यस्तै लागूऔषधमा चरेश ४१ किलो ३ दशमलव ६९ ग्राम, गाँजा १० ग्राम, नाइट्राभेट १३८ ट्याव्लेट, स्यास्मा ८ ट्याव्लेट, स्पास ६९ ट्याव्लेट, कोरेक्स १ ट्याव्लेट, हेरोइन् २३५ ग्राम ४५ मिलीग्राम, फेनार्गन ९४ ट्याव्लेट, रेक्सोजेसिक ९३ ट्याव्लेट, ७९ एम्पुल डाईजापाम बरामद गरिएको छ ।

यस्तै उनले हातहतियारसहित अछाम, बाजुराबाट १/१ जना र कैलालीबाट २ गरी ४ जना व्यक्ति पक्राउ परेको बताएका छन् । जसमा एक जनाले भरुवा बन्दुक ४ थान, कटुवा पेस्तोल २ थान, सोको २ राउण्ड गोली र सिसाको ४ थान, फलामको गोली बरामद गरिएको छ । ३५२ दशमलव २५ क्युफिट सिसम र सालको काठ गरी २ लाख ८१ हजार ३७५ मूल्य बराबरको अवैध काठसहित ८ जना व्यक्तिलाई पक्राउ गरिएको छ ।

यसैगरी वन्यजन्तु चोरी निकासीमा १ जना चित्तलको छाला र २ जना बाघको छालासहित ३ जना व्यक्ति पक्राउ परेका छन् । यस्तै वन्यजन्तु चोरी निकासी भइरहेको अवस्थामा चित्तलको छाला २ थान र बाघको छाला १ बरामद गरिएको जनाएको छ ।

कैलालीबाट भन्सार छली गर्ने २१ जना जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ४३ लाख ९३ हजार ४ सय ७६ मूल्यका सामान बराबर गरिएका छन् । कञ्चनपुरबाट १० जना र ३२ लाख २१ हजार ५५३ मूल्यका सामान बरामद गरिएका छन् । यस्तै यो समयमा सुदूरपश्चिममा ७६ लाख १५ हजार २१ मूल्यको भन्सार छलीको राजस्व संकलन गरिएको छ ।

उनले सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्थापन चुस्त दुरुस्त मिलाउन सीमानाका क्षेत्र तथा प्रदेशका जिल्लामा सक्रिय रूपमा प्रहरी परिचालन गरिएको बताए । प्रदेशका सीमानाकाबाट चोरी लागूऔषधका घटना बढी हुने गरेको बताउँदै अभियान नै सञ्चालन गरिरहेको र चोरी, तस्करी, लागूऔषध, अपराध सम्बन्धी घटनाको न्यूनीकरणका लागि समन्वय गरिरहेको बताए । यस्तै साइबर क्राइमको गलत प्रयोग लाई कम गर्न विद्यालय तथा स्थानीय निकायसँग समन्वय गरी विभिन्न कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ ।

यसैगरी राजमार्गमा हुने दुर्घटना र त्यसपछि गरिने चक्काजामका कारण सर्वसाधारणले सास्ती पाउने गरेको बताउँदै डिआइजी सिंहले दुर्घटनाग्रस्त स्थलको सम्भावित अध्ययन गरि राजमार्ग चक्काजाम निषेधित समिति गठन गरिएको  बताए । 

डिआइजी सिहंले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति गराउनका लागि स्मार्ट सर्विस डेलिभरी गर्न सक्नुपर्ने बताए । 'हामीले अहिले प्रहरीलाई बाहिर व्यापक रूपमा निकालेका छौँ,' सिहंले भने, 'यो कसैलाई प्रभावित पार्नलाई होइन, अबको प्रहरी यसरी नै चल्छ, ठाउँ ठाउँमा चेकजाँच बढाएका छौँ ।'

उनले भने, 'सीमा क्षेत्र, अनि प्रदेशको राजधानी भएको ठाउँ सुरक्षा चुनौती देखिन्छ तर हामीले प्रहरीको सक्रियता बढाएसँगै त्यस्ता घटना घट्न पाएका छैनन् ।' 

सबैभन्दा बढी लागूऔषधकै कारण घटना घटेको बताउँदै यसलाई निस्तेज पार्न अहिले अभियानकै रूपमा अगाडि बढाएको बताए ।

भारतीय प्रशासनको सहयोगमा सीमानाकामा संयुक्त रूपमा अभियान नै चलाएको डिआइजी सिंहकाे भनाइ छ । 


Author

थप समाचार
x