सुदूरपश्चिम

हावाहुरीले छानो भत्किँदा दुई मजदुर घाइते

इकागज |
जेठ १०, २०८० बुधबार १२:२ बजे

कञ्चनपुर- मङ्गलबार राति आएको हावाहुरीबाट दुई मजदुर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१८ सालघारीमा रहेको जस्तापाताले छाएको अस्थायी टहरा हावाहुरीले भत्किँदा टहरामा आश्रय लिइरहेका बर्दिया घर भएका गणेश चौधरी र हेलो चौधरी घाइते भएका छन् ।


“बजार क्षेत्रमा काम गरिरहेको लामा निर्माण सेवाका मजदुर घाइते भएका हुन्”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले भने, “गम्भीर घाइते गणेशलाई उपचारका लागि कैलालीको धनगढी लगिएको छ ।”

गए रातिको हावाहुरीबाट कञ्चनपुरका अधिकांश ठाउँमा कच्ची टहरा र स्कुलका छाना भत्काएको छ । “मानवीय क्षति भएको छैन, संरचना भत्काएको विवरण सङ्कलन भइरहेको छ”, प्रवक्ता डाँगीले भने, “कतिपय स्थानमा बिजुलीका पोल ढल्दा विद्युत् सेवा अवरुद्ध छ ।” रासस


Author

थप समाचार
x