सुदूरपश्चिम

सुदूरपश्चिमाञ्चल एकेडेमी सुदूरपश्चिम स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक

इकागज |
जेठ १५, २०८० सोमबार १९:२५ बजे

काठमाडाैं । ‘चौथो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । धनगढीमा रहेको निजी क्षेत्रको प्रतिष्ठित क्याम्पस सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) ले मुख्य प्रायोजन गरेसँगै अवार्डको नाम एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड रहने भएको छ ।

‘चौथो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ को मुख्य प्रायोजन गर्नका लागि नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठक र सुदूरपश्चिमाञ्चल एकेडेमीका प्रबन्ध निर्देशक सुवास शाही बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रायोजनपछि बोल्दै एसपिएका प्रबन्ध निर्देशक शाहीले अवार्डसँग जोडिन पाउँदा खुशी लागेको बताउँदै आगामी वर्षमा पनि अवार्डसँग जोडिदै अगाडि बढ्ने जानकारी दिए ।


देशकै सर्वाधिक धनराशीको एसपिए कप क्रिकेट प्रतियोगिता आयोजना गरिसकेको कलेजले खेलकुद क्षेत्रमा पनि अग्रसर हुँदै आएको छ । वर्षेनि एसपिए महिला मेयर कप पनि आयोजना हुँदै आएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमीले अवार्डको तेस्रो संस्करणलाई पनि मुख्य प्रायोजन गरेको थियो । 

सुदूरपश्चिमलाई खेलकुदमा अघि बढाउन एसपीएको भूमिका अग्रस्थानमा छ । धनगढी क्रिकेटको शहरका रुपमा चिनिन्छ । त्यो पहिचान स्थापित गर्ने मुख्य काम एसपीएले नै गरेको हो । एक दशक अघि धनगढीमा एसपीएको आयोजनामा एसपीए कप नामबाट राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन्थ्यो । पछि त्यो धनगढी प्रिमियर लिगमा रुपान्तरण भयो । नेपालमा पहिलो फ्रेन्चाइज टोलीहरु र खेलाडीहरुको अक्सनको सुरुवात त्यहीबाट भएको हो । त्यसैबाट फाप्ला क्रिकेट मैदानको पहिचान भएको हो । हाल फाप्लामा अन्तर्राष्ट्रिय मैदान निर्माणको प्रक्रिया अघि बढेको छ । त्यसको नेतृत्व एसपीएकै प्रबन्ध निर्देशक सुवाश शाहीले गरेका छन् । त्यस बाहेक नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिगमा धनगढी एफसी पहिलो संस्करणको उपविजेता बनेको थियो ।

एसपीएले प्रत्येक वर्ष सुदूरपश्चिमस्तरीय महिला मेयर कप भलिबलको पनि आयोजना गर्दै आएको छ । त्यस बाहेक एसपीएमा खेलाडीहरु छात्रवृत्तिमा अध्ययनरत छन् । ८ जना क्रिकेटको अन्तर्राष्ट्रिय खेलाडी मात्रै छन् । त्यस्तै फुटबल, तेक्वान्दो, भलिबल, बास्केटबलका पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु एसपीएमा अध्ययनरत छन् ।

बर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।  उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 

अवार्डको चौथो संस्करणको तयारी तीव्र रुपमा भईरहेको छ । प्रायोजक प्रवर्द्धकहरुको खोजी गर्दै अवार्डको तयारी अघि बढेको छ । आगामी असार ८ गते धनगढीमा चौथो संस्करणको सुदूरपश्चिम स्पोर्टस अवार्डको आयोजना हुँदैछ ।


Author

थप समाचार
x