सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशसभा : आर्थिक ऐन संशोधन गर्न बनेको विधेयक पारित

इकागज |
जेठ २१, २०८० आइतबार २१:१४ बजे

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ आज सर्वसम्मतीले पारित गरेको छ ।
  
प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

यसअघि विधेयकमाथि आजको बैठकमा भएको छलफलमा प्रदेशसभा सदस्य प्रकाशबहादुर बम, ओमविक्रम भाट, वीरवहादुर थापा, टीका थापा र जुनाकुमारी दानीले भाग लिएका थिए ।


पारित विधेयकमा निजी तथा सार्वजनिक विद्युतीय सवारी साधनमा कर लगाउने व्यवस्था गरिएको छ । प्रदेशमा विद्युतीय सवारी साधनमा कर लगाउने यो नयाँ व्यवस्था हो । पारित विधेयकमा निजी विद्युतीय सवारी साधनतर्फ मोटरसाइकल र स्कुटरमा रु एक हजारदेखि रु तीन हजार कर लाग्ने व्यवस्था छ । 

यस्तै निजी कार, जीप, भ्यान, माइक्रो बस र बसमा रु १० हजारदेखि रु ३० हजारसम्म र सार्वजनिक विद्युतीय सवारी साधनतर्फ कार, जीप, भ्यान, माइक्रोबस र बसमा रु दुई हजारदेखि रु १५ हजारसम्म कर लगाउने व्यवस्था गरिएको छ । रासस


Author

थप समाचार
x