सुदूरपश्चिम

विकासको काम अलपत्र हुँदा डुबानको जोखिम

इकागज |
असार २, २०७८ बुधवार ११:१७ बजे

भजनी : कैलालीको टीकापुर बजार क्षेत्रमा तीन ठूला आयोजनाको काम चलिरहेको छ तर कोभिड महामारीका कारण भएको निषेधाज्ञापश्चात जमरा पुलबाट टीकापुर बसपार्कसम्मको काम थोरै कामदार लगाएर काम भइरहेको छ । अन्य ब्लक नं ‘ए’अन्तर्गतको सडक निर्माणको काम र ढल निकासका लागि शुरु भएको काम पूर्णरूपमा बन्द छ ।

बर्सातको समयमा आयोजनाको काम अलपत्र हुँदा बजार क्षेत्रमा डुबानको जोखिम बढेको भन्दै स्थानीयवासी व्यापारी त्रसित बनेका छन् । एकातिर पुराना घर सडकको उचाइ बढ्दा सडकभन्दा तल झरेका छन् भने अर्कोतिर भएका नाली पनि अलपत्र छन् । आकाशको पानीको निकास कतै छैन । स्थानीयवासी व्यापारी हेमन्त रावलले उचित ढल निकासको व्यवस्थापन नहुँदा बर्सेनि डुबानमा पर्ने टीकापुर यस वर्ष झनै जोखिममा रहेको बताए । 'आकाशको पानीको निकास कतै छैन । अलिअलि निकास भएको क्षेत्र पनि अहिले भइरहेको विकासका कामले अवरुद्ध बनाइसकेको छ', रावलले भने, 'हामी एकदमै त्रासमा छौँ । एक÷दुई दिनको झरीमा त डुबान हुन थालिसक्यो, बर्सातको समय कसरी बिताउने होला ?'


लामो समयदेखि कपडाको व्यापार गर्दै आएका वासुदेव पौडेलले सबैतिरबाट नाला बन्द हुँदा पसलको अगाडिबाट आवतजावत गर्नै समस्या हुन थालेको बताए । निर्माण कम्पनीको कमजोरीका कारण व्यापारीहरूले सास्ती खेप्नुपरेको उनको भनाइ छ । 'बजार क्षेत्रको समस्या अहिलेको मात्रै होइन, पहिला पनि कैयौँपटक लाखौँको क्षति व्यापारीहरूले बेहोर्नुपरेको छ', पौडेलले भने, 'निर्माण कम्पनी र नगरपालिकाले पानीको निकासका लागि समयमै सोच्नुपर्ने देखिन्छ । यस्तै अवस्था रहे व्यापारीलाई निकै समस्या हुनसक्छ ।'

मुख्य बजार क्षेत्रमा निर्माणको काम गर्दै आएको महालक्ष्मी एमके जेभीका निर्देशक चक्रबहादुर शाहले आयोजनाको डिजाइन नै परिवर्तन भएका कारण काम रोकिएको बताउँदै तत्काल काम अगाडि बढ्न सक्ने कुनै सम्भावना नभएको बताए। 'हामीले काम गर्दै जाँदा आयोजनाको डिजाइन परिवर्तन भयो, त्यसपछि काम रोक्नुपरेको हो', निर्देशक शाहले भने, 'आयोजनाको नयाँ डिजाइन विभागबाट पास भएर आएपछि तुरुन्तै काम शुरु हुन्छ ।'

उता छ लेन सडकको कामको जिम्मा पाएको रेखा निर्माण सेवाका इञ्जीनियर गगन शाहीले कोरोनाका कारण भएको निषेधाज्ञाले काममा प्रभाव पारेको भन्दै बर्सातको पानी निकासका लागि भए पनि काम भइरहेको बताएका छन् । 'जेठ मसान्तसम्म सडकको बीचको भाग कालोपत्र गरिसक्ने हाम्रो लक्ष्य थियो, कोरोनाले त्यो सफल हुन दिएन',इञ्जीनियर शाहीले भने, 'सकेजतिको काम गर्दै आएका छौँ । विद्युत् पोल हाम्रा लागि ठूलो बाधक बन्दै आएको छ ।'

त्यस्तै बृहत् ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजनाको काम पनि प्रभावित भएको छ । टुँडी कन्स्ट्रक्सनले कामको जिम्मा पाए पनि काम शुरु भएको केही महिनामै भएको निषेधाज्ञाले मलमूत्र व्यवस्थापनको काम केही मात्रामा भए पनि नालीको काम काम अगाडि बढ्न नसक्दा समस्या देखिएको हो । निर्माण कम्पनीले केही भाग नाली खनेको छ भने नाली खनेको ठाउँबाटै पहिले पनि पानी आपूर्ति हुने र अहिले पानी आपूर्तिमा समस्या हुने भएपछि स्थानीयवासी त्रसित छन् । रासस
 


Author

थप समाचार
x