सुदूरपश्चिम

सामाजिक सुरक्षा भत्ताबाट बञ्चितलाई ‘प्रिपेड कार्ड’

इकागज |
असार १२, २०७८ शनिवार ७:४१ बजे

कञ्चनपुर : कृष्णपुर नगरपालिका १ निगालीका शारीरिक अपाङ्गता भएका लाली भुलले धेरै पटक नगरपालिका कार्यालयमा सामाजिक सुरक्षा भत्ताका लागि निवेदन दिए पनि भत्ताको रकम पाउन सकेका छैनन् । आवश्यक कागजात पुर्याउन नसक्दा उनी भत्ता पाउनबाट बञ्चित हुनु परेको हो ।

 नगरपालिका कार्यालयबाट उपलव्ध हुने भत्ताको रकम नपाएकोमा भने उनी चिन्तित छैनन् । भुललाई निड्स कञ्चनपुरले प्रिपेड कार्ड उपलव्ध गराएको छ । कार्डबाट उनले आवश्यक सामान खरिद गर्दै आएका छन् । लत्ताकपडा, खाद्यान्न, औषधिलगायतका सामान खरिद गर्ने कार्यसँगै आवश्यक परेको बेला नगदसमेत कार्डका माध्यमबाट झिक्दै आएका छन् । 'भत्ताका लागि नगरपालिका कार्यालयमा धेरै पटक पुग्दा कागजात नपुगको भनेर फर्काउने गरियो', उनले भने, 'घर खर्च चलाउन निकै असजिलो भएको अवस्थामा निड्सले सहयोग गरी गुन लगाएको छ ।'


 सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित रहेका, प्रक्रियामा रहेका र कोभिडबाट प्रभावित, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, एकल महिला, दलित पोषण भत्ताबाट बञ्चितलाई युके एडको आर्थिक सहयोगमा मर्सिकोर, प्लान इन्टरनेशनल  र निड्सको साझेदारीमा सञ्चालित रेजिलियन्स प्लस अन्तर्गत आपतकालीन सहयोग कार्यक्रमका माध्यमबाट प्रिपेड कार्ड उपलव्ध गराइ भत्तावापतको रकम उपलव्ध गराइदै आएको छ ।

कार्यक्रम अन्र्तगत कृष्णपुर र दोधारा चाँदनी नगरपालिकाका लक्षित व्यक्तिलाई कार्ड दिइएको छ । कार्डबाट रु १३ हजार ५०० मूल्य बरावरको सामान खरिद गर्न सकिन्छ । त्यसका लागि सम्बन्धित ठाउका पसलमा कार्ड स्वीप गर्नका लागि मेसिनको समेत व्यवस्था गरिएको छ ।

 कृष्णपुर नगरपालिकाका ४२० र दोधारा चाँदनीका ८८ जनालाई कार्ड उपलव्ध गराइएको निड्स कञ्चनपुरका निर्देशक भवराज रेग्मीले बताए । 'रकम जुन उद्देश्यका लागि खर्च गर्न उपलव्ध गराएका छौं सोही प्रयोजनका लागि खर्च हुन्छ । कार्डको प्रयोगले दुरुपयोग हुन पाउँदैन ।” कञ्चनपुरका कृष्णपुर, दोधारा चाँदनी र कैलालीको चुरे गाउँपालिका र घोडाघोडी नगरपालिकामा यो कार्यक्रम सञ्चालनमा रहेको छ,' उनले भने । 
 


Author

थप समाचार
x