सुदूरपश्चिम

विद्युत् विस्तारको माग राख्दै जनप्रतिनिधि नै अनशनमा

इकागज |
असार १५, २०७८ मंगलबार ९:४१ बजे

सांकेतिक तस्बिर

बैतडी : गाउँमा विद्युत् विस्तारको माग गर्दै बैतडीको मेलौली नगरपालिकाका जनप्रतिनिधिले नै आमरण अनशन शुरु गरेका छन् । गाउँमा विद्युत् विस्तार नभएको भन्दै मेलौली-९ का वडासदस्य भीमदत्त भट्ट आमरण अनशनमा बसिरहेका छन् । वडासदस्य भट्टसँगै स्थानीय बमबहादुर चन्द अनशनमा बसिरहेका छन् । उनीहरूले मेलौली नगरपालिका भवनकै आँगनमै सोमबारदेखि अनशन शुरु गरेका हुन् ।

गाउँमा विद्युत् नभएकै कारण चितुवाको आक्रमणबाट स्थानीयवासीले अकालमा ज्यान गुमाउनु परिरहेकाले आमरण अनशनमा बसेको वडासदस्य भट्टले बताए । उनले भने, 'मेलौलीको ८ र ९ नं वडा चितुवाबाट प्रभावित वडा हुन्, चितुवाको आक्रमणबाट बच्नका लागि विद्युत् विस्तारको माग गरेर अनशनमा बसेका हौँ ।'


मेलौली-८ र ९ को सिमानामा पर्ने डडेल्धुराको भागेश्वरमा विद्युत् पुगिसकेकाले त्यतैबाट विद्युत् विस्तारका लागि पहल गर्नुपर्ने उनीहरूको माग छ । यस आर्थिक वर्षभित्र विद्युत् विस्तारका लागि प्रतिबद्धता नआएसम्म अनशन जारी रहने जनाइएको छ । नगरपालिकाको नीति तथा कार्यक्रममा पनि विद्युत् विस्तारको कुरा आएकाले त्यसलाई कार्यान्वयनका लागि बजेट छुट्याएर काम अघि बढाउनुपर्ने उहाँहरूको माग छ । माग पूरा नहुञ्जेलसम्म अनशन जारी रहने चेतावनीसमेत दिइएको छ ।

यता नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले विद्युत् विस्तारका लागि पालिकाले गर्नुपर्ने सम्पूर्ण प्रयास गरिरहेको बताए । मेलौलीमा सबस्टेशन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालयले प्रक्रिया अघि बढाइसकेकाले जतिसक्दो चाँडो होस् भनेर पालिकाका तर्फबाट समेत समन्वय भइरहेको उनले बताए । उनले भने, 'विद्युत् विस्तारको काम प्रक्रियामा अघि बढिसकेको छ, अनशन बस्नु खासै आवश्यक छैन, पालिकाका तर्फबाट सबै सरोकारवालालाई विद्युत् विस्तारका लागि पहल गरिरहेका छौँ ।' यसअघि आइतबारमात्रै मेलौली-८ र ९ का स्थानीयवासीले विद्युत् विस्तारको माग गर्दै नगरप्रमुख नायकलाई ज्ञापनपत्रसमेत बुझाएका थिए । रासस


Author

थप समाचार
x