सुदूरपश्चिम

आन्तरिक राजस्‍व विभागको नक्कली स्टिकरसहित पाँच जना पक्राउ

इकागज |
साउन २६, २०७८ मंगलबार १२:१८ बजे

कैलाली - जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार साझ आन्तरिक राजस्‍व विभागको नक्कली स्टिकरसहित पाँच जनालाई पक्राउ गरेको छ । गौरीगंगा नगरपालिका–७ स्थित तालबन्द सडक खण्डमा ना.३२ प ६२८१ नम्बरको मोटरसाइकलसहित भारतको लखिमपुर खिरी जिल्ला ग्राम पञ्चायत बरौठा, बस्ने वर्ष १९ को संजित कुमार र मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने वर्ष २० को रिंकु कुमारलाई ३ कार्टुन आन्तरिक राजस्‍व विभाग लेखिएको स्टिकर ७७ रोल फेला पारी दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 

प्रारम्भिक अनुसन्धानको क्रममा उक्त स्टिकरका रोलहरू मध्ये १३ रोल स्टिकरमा एउटै सिरियल नंबर भएका स्टिकर पटक–पटक दोहोरिएको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतीक बिष्टले बताए । 


उक्त स्टिकर सोही ठाउँमा रहेको वेष्टर्न लिकर्स प्रालिबाट ल्याई पक्राउ परेकाहरू बस्ने कोठामा छाप लगाउन लैजान लागेको अवस्थामा पक्राउ गरिएको पवक्ता विष्टले बताए । उनले कोठामा गई खानतलासी गर्दा ७० युपी ३०० एमएल लेखिएको छाप ३ थान, स्ट्याम प्याड ३ थान र मसीसमेत फेला पारी बरामद गरी उक्त कोठामा रहेका जिल्ला रौतहट गरुडा नगरपालिका १ जयनगर बस्ने वर्ष ४० को राज कुमार शाह, जिल्ला पर्सा विरगंज महानगरपालिका १३ घन्टाघर बस्ने वर्ष ५५ को विजय गुप्ता र भारतको जिल्ला लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा, भारत बस्ने वर्ष २२ को  सुरेश कुमार लाई समेत नियन्त्रणमा लिइएको बताए । 

प्रवक्ता विष्टले आन्तरिक राजश्व कार्यालय कैलालीको सहयोगमा वेष्टर्न लिकर्स प्रालिलाई शिलगरी थप अनुसन्धान भैरहेको बताए । कैलालीमा यसअधि पनि मेघाश्री गुट्का उत्पादन गर्ने लम्कीस्थित देउती प्याकेजिङ्गले आन्तरिक राजश्व विभागको नक्कली स्टिकर प्रयोग गरेको थियो ।


Author

थप समाचार
x