सुदूरपश्चिम

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध

निजाङ्ग खोलामा आएको बाढीले दार्चुला–तिंकर सडक खण्डको पक्की पुल बगायो

इकागज |
भदौ १४, २०७८ सोमवार ९:११ बजे

कैलाली - लगातारको वर्षाका कारण निजाङ्ग खोलामा गएराति आएको बाढीले दार्चुला–तिंकर सडक खण्डको पक्की पुल बगाउनुका साथै अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जर पोष्ट र खोला किनारका पसलहरू बगाएको छ । महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका –३ को सीमाना भएर बग्ने खोलामा आएको बाढीले श्रीबगडस्थित खोला किनारका ३ पसल र १ घर बगाएको स्थानीय लोकेन्द्र बहादुर बमले जानकारी दिए ।

खोलामा बाढी आउदा सो क्षेत्रका स्थानीयहरू राति नै सुरक्षित स्थानमा गएका कारण मानवीय क्षति भने नभएको स्थानीयले बताएका छन् । बाढीले पुर्‍याएको क्षति र स्थानीयको अवस्था बारे बुझ्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोहर भट्टले जानकारी दिए । उनले क्षतीको यकिन विवरण आइनसकेको बताए ।


यस्‍तै पहिरोका कारण सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। चुरे गाउँपालिका ४ स्थित भासु भिरमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। सोमबार बिहान ३ बजेदेखि राजमार्ग अवरुद्ध रहेको बताउँदै प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले राजमार्ग खोल्ने प्रयास भइरहेको बताए ।


Author

थप समाचार
x