सुदूरपश्चिम

घोडाघोडी सिमसारलाई नेपालमै पहिलोपटक 'बर्ड सेन्चुरी' बनाइने

इकागज |
असोज ६, २०७८ बुधबार १३:७ बजे

कैलाली - चरा अवलोकनका लागि प्रसिद्ध कैलालीको घोडाघोडी सिमसार क्षेत्रलाई नेपालमै पहिलोपटक चरा अभय आरण्य क्षेत्र (बर्ड सेन्चुरी) बनाइने भएको छ । घोडाघोडी नगरपालिकाले विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी सिमसार क्षेत्रलाई नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र बनाउने निर्णय गरेको हो ।

नगरपालिकाको १३औं नगर सभाले सो निर्णयलाई सर्वसम्मतले पारित गरेको छ । चरा अभय आरण्य क्षेत्र भनेको भयरहीत वातावरणमा चराले स्वतन्त्रपूर्वक आहारविहार गर्न पाउने चरा संरक्षित क्षेत्र बुझिन्छ । नेपालमा अहिलेसम्म कहि पनि बर्ड सेन्चुरी बनेको छैन । चराको संरक्षण र पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ नगरपालिकाले घोडाघोडी सिमसार क्षेत्रलाई ‘बर्ड सेन्चुरी’ बनाउने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी उमेशराज रेग्मीले जानकारी दिए ।


उनले नगरपालिकाले चालु आर्थिक वर्षभित्रै घोडाघोडी सिमसारलाई चरा अभय आरण्य क्षेत्र घोषणा गर्ने बताए । प्रसिद्ध घोडाघोडीसहित ठूलासाना २४ वटा ताल रहेको घोडाघोडी सिमसार क्षेत्रमा ३६० प्रजातिका चरा पाइन्छन् । जसमध्ये कैले टाउके हाँस, राज धनेश, राजलाहाँचे, भुरीफोर गरुड, सुनौलो तोप चरा, घेघ्री घाँसे फिस्टो, लघु महाचिल लगायत १२ प्रजातिका चरा विश्वमै दुर्लभ रहेका छन् ।

कुल १० हजार ५७० हेक्टर क्षेत्रफलमा फैलिएको यो सिमसारमा जलचरा ६४ प्रजातिका पाइने गरेको जनाइएको छ । बाँकी २९६ प्रजातिका चरा थलचर रहेका छन् । घोडाघोडी सिमसारलाई नगरपालिकाको पहिचान र गौरवको विषयको रूपमा चरा अभय आरण्य क्षेत्र घोषणा गरिए विश्वभरीबाट चरा अवलोकनका लागि पर्यटकहरू यहाँ आउने घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डका कार्यकारी उपाध्यक्ष डीआर चौधरीले बताए ।

उनले विश्वमै दुर्लभ चरा प्रजातिको समेत बसोबास रहेको यो सिमसारलाई ‘बर्ड सेन्चुरी’ घोषणा गरिए घोडाघोडी क्षेत्रकै मात्रै नभएर समग्र सुदुरपश्चिम प्रदेशकै मुहार फेरिने बताए । तस्बिरहरू : हिरू डगौरा


Author

थप समाचार
x