सुदूरपश्चिम

गृह प्रदेशमै एक्लिए लेखराज भट्ट

नवराज पनेरु |
पुस १०, २०७७ शुक्रबार १३:१४ बजे

फाइल तस्वीर

धनगढी : तत्कालीन माओवादीमा हुँदा लेखराज भट्ट सुदूरपश्चिमका पहिलो नम्बरका नेता थिए । कार्यकर्ताहरूले पनि उनलाई नम्बर ‘वन’ कमाण्डर नै मान्थे । उनी, पुष्पकमल दाहाल नजिक भएकाले पार्टीमा उनको बोली पनि बिक्थ्यो । तर एमाले र माओवादी केन्द्रको एकतापछि उनले सुदूरपश्चिममा पार्टीको कुनै जिम्मेवारी पाएनन् । ईञ्चार्ज पूर्वएमालेबाट भीम रावल भए भने अध्यक्ष पनि एमालेबाटै कर्ण थापा ।

लेखराज स्थायी कमिटी सदस्य भए । एकतापछि दाहालले सुदूरपश्चिमकै एक कार्यक्रममा अब सुदूरपश्चिमको नेता भीम रावल भएको अभिव्यक्ति दिएपछि लेखराज दाहालबाट टाढिंदै गएका थिए । 


सुदूरपश्चिममा पार्टीको इन्चार्ज रावललाई दिनु र दाहालले रावललाई नै सुदूरपश्चिमको नेता भन्दै अभिव्यक्ति दिएपछि लेखराज दाहालबाट टाढिंएको आँकल गरिन्छ । त्यसपछि लेखराजले दाहाल क्याम्प छोडेको चर्चा चल्यो । लेखराज पनि मन्त्री बनेपछि खुलेरै ओलीको समर्थनमा लागे । 

अहिले संसद विघटनपछि पनि उनी ओली पक्षकै समर्थनमा जुटेका छन् । ओली क्याम्पमा गएका लेखराजले सुदूरपश्चिमबाट अन्य नेतालाई भने आफुसंगै लैजान सकेका छैनन् । सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूलाई पनि लेखराजले आफ्नो पक्षमा तान्न सकेका छैनन् । जस्का कारण सुदूरपश्चिम सरकारमा ओली पक्ष अल्पमतमा छ । दाहाल–नेपाल पक्षले प्रदेश सभामा नेकपाका ३९ सदस्यमध्ये ३४ जना आफ्नो पक्षमा रहेको दावी गर्दै आएको छ । जस्मा मुख्यमन्त्री त्रिलोचन भट्टसहित ५ जना मन्त्री पनि छन् ।

सुदूरपश्चिममा पूर्वएमालेबाट ४ र माओवादीबाट ३ मन्त्री छन् । पूर्वमाओवादीबाट मन्त्री बनेका एक जना पनि अहिले लेखराजको पक्षमा छैनन् । लेखराजकै सिफारिसमा मुख्यमन्त्री बनेका त्रिलोचन भट्टले अहिले लेखराजको साथ छोडिसकेका छन् । लेखराज नजिक मानिने आन्तरिक मामिला तथा योजनामन्त्री झपट बोहरा लेखराजको पक्षमा उभिने आँकलन गरिए पनि उनी आफै भने खुलिसकेका सकेका छैनन् ।

माओवादी कोटाबाट मन्त्री बनेकी भूमी व्यवस्था, कृषी, तथा सहकारी मन्त्री बिनिता चौधरीलाई पनि लेखराजले आफ्नो पक्षमा तान्न सकेका छैनन् । उनी दाहाल पक्षमा छिन् । आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, उद्योग, पर्यटन वन तथा बतावरण मन्त्री माया भट्ट भीम रावल नजिक भएकाले उनीहरू  दाहाल–नेपाल पक्षमा छन् ।

लेखराजले रोजेको ओली समूहमा प्रष्टसंग खुलेका एक मन्त्रीसहित चार जना सांसद मात्र छन् । भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरा, नेकपा कैलालीका अध्यक्ष तथा प्रदेश सांसद रतन थापा, महेशदत्त जोशी र प्रदेश सभा सदस्य नेपालु चौधरी ओली समूहका प्रष्टसंग खुलेका सांसद हुन् । 

चार जनामध्ये तीन जना पूर्वएमालेबाट विजयी भएका प्रदेश सासंद हुन् । ३९ जना नेकपाका प्रदेश सभा सदस्यहरूमध्ये १४ जना पूर्वमाओवादीबाट विजयी भएका थिए । १४ जना मध्ये लेखराजले आफ्नो पक्षमा स्पष्ट खुल्नेगरी एक जनालाई मात्रै उभ्याउन सकेका छन् । 

लेखराज नजिक प्रदेश सभा सदस्य कुन्ती जोशी पनि कुनै पक्षमा खुलेको देखिएको छैन् । सुदूरपश्चिम प्रदेश सभा सदस्यलाई आफ्नो पक्षमा तान्न नसकेका लेखराज गृह प्रदेशमै एक्लिदै गएको नेकपाकै एक नेताले प्रतिक्रिया दिए । 

विघटित प्रतिनिधिसभामा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने अधिकाशं सासंद भने लेखराजले रोजेको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको पक्षमा देखिएका छन् । तर ओली पक्ष रोज्ने अधिकाशं पूर्वएमालेबाट विजयी भएका सासंद छन् । 

सुदूरपश्चिमबाट नेकपाका तर्फबाट विघटित प्रतिनिधि सभामा १९ जना सांसद थिए । १९ मध्ये १४ जना सासंद आफ्नो पक्षमा रहेको ओली पक्षको दावी छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य लेखराज भट्ट, विघटिन प्रतिनिधि सभाका सदस्य प्रेम आले, दामोदर भण्डारी, नरबहादुर धामी, निरु पाल, बिनादेवी बुढाथोकी, नारदमुनी राना, लक्ष्मी चौधरी, निरादेवी जैरु, आशा बिक, भैरवबहादुर सिंह, लाल बहादुर थापा र गणेश ठगुन्ना ओलीको समर्थनमा छन् । 
नेकपाका सुदूरपश्चिमका ईञ्चार्ज भीम रावल, विघटित प्रतिनिधिसभा सदस्य झपट रावल, गौरीशंकर थारु, अछामका यज्ञ बोगटी र दीपक प्रसाद भट्ट र बिना मगरले दाहाल–नेपाल समूहलाई साथ दिएका छन् ।

लेखराजलाई साथ दिने केन्द्रीय सदस्यको संख्या शून्य 

नेकपाका केन्द्रीय सदस्यहरूको पनि आफ्नो कित्ता स्पष्ट पार्न थालेका छन् । प्रमुख नेताहरूको कित्ता क्लियर भएपछि केन्द्रीय सदस्यहरू पनि कित्ता क्लियर गर्न थालेका हुन् । तत्कालीन माओवादी केन्द्र र एमाले एकता गर्दा सुदूरपश्चिमबाट ३६ केन्द्रीय सदस्य थिए । त्यसमा तत्कालीन माओवादी केन्द्रतर्फका १४ र एमालेका २२ जना थिए । 

तर, तत्कालीन एमाले माओवादी एकता हुँदा माओवादीका तर्फबाट केन्द्रीय सदस्य बनेका सुदूरपश्चिमका १४ मध्ये १३ जना दाहाल–नेपाल समूहमै छन् । नेकपाका केन्द्रीय सदस्य खगराज भट्टले उद्योगमन्त्रीसमेत रहेका लेखराज भट्टबाहेक अरु सबैै केन्द्रीय सदस्य दाहाल–नेपाल समूहमा रहेको दावी गरे ।

याे पनि : एक्‍लिए गृहमन्त्री : थापा ओलीतिर, राजनीतिक सल्लाहकार दाहालतिर

 


Author

थप समाचार
x