सुदूरपश्चिम

माघीको अवसरमा कैलारी गाउँपालिकाले दियो तीन दिन सार्वजनिक बिदा

इकागज |
पुस २८, २०७८ बुधबार १०:४३ बजे

कैलाली - बहुसंख्यक थारू जातिको बसोबास रहेको कैलालीको कैलारी गाउँपालिकाले थारु समुदायको सबैभन्दा ठूलो पर्व माघ (माघी) को अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाको कार्यालयपालिका बैठकले गाउँपालिकाभरी माघको अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको हो ।

पुस ३० देखि माघ २ गतेसम्म सबै सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संस्थान, बैङ्क तथा वित्तीय संस्थामा तीन दिन बिदा दिने निर्णय भएको गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले जानकारी दिए । माघी पर्व थारु समुदायको सबैभन्दा ठूलो पर्व हो ।


थारु समुदायले यो पर्वलाई नयाँ वर्षको रुपमा समेत मनाउने गरेको छ । कैलारी गाउँपालिकामा ९७ प्रतिशत थारु जातिको बसोबास रहेको छ । थारु समुदायले तीन दिन धुमधामका साथ पर्व मनाउने गरेकाले गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको सूचना अधिकारी कलेलले बताए ।


Author

थप समाचार
x