सुदूरपश्चिम

मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट :  गण्डकी प्रदेशलाई उपाधि

दीपक उपाध्याय |
चैत ११, २०७८ शुक्रबार १८:१९ बजे

कैलाली – कैलालीको धनगढीमा सम्पन्न मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । गण्डकीले कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि उचालेको हो । उपाधिसँगै गण्डकीले दुई लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

उप–विजेता बनेको कर्णाली प्रदेशले एक लाख पचास हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।


धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । 

६५ रनको विजयी लक्ष्य पछ्याउदै मैदान उत्रिएको गण्डकीले १७.३ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि ज्योत्सनिका मरासिनीले ११ र सृजना पौडेल तथा आङ्पेम्बलुम्बा सेर्पाले समान ९-९ रन बनाइन्। बलिङ तर्फ कर्णालीकी श्रीमी सिं थारुले ४ विकेट लिइन् । विना थापाले २ र एन्जीला थापाले १ विकेट लिइन । 

त्यसअघि कर्णालीको पारी किरणकुमारी कुँवरले एक्लै सम्हालिन् । ६७ बलको सामना गरेकी उनले टिमलाई २९ रनको योगदान दिइन । बलिङ तर्फ गण्डकीका लागि आकृति तिवारीले २ र मनीषा उपाध्याय तथा ज्योत्सनीका मरासिनीले समान १-१ विकेट लिइन् । खेलको प्लेयर अफ दी म्याच गण्डकीकी मरासिनी भइन् । 

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी गण्डकीकी ज्योत्सनीका नै भइन । उनले नगद २५ हजारसहित ट्रफि प्राप्त गरिन्। सर्वोत्कृष्ट बलर कर्णालीकी एन्जीला थापा र उत्कृष्ट ब्याटर बागमतीकी हेलिशा गुरुङ भइन । उनीहरूले जनही १०-१० हजार प्राप्त गरे ।

प्रतियोगिताको विजेता, उपविजेता तथा सम्पूर्ण विधागत पुरस्कार विजेता खेलाडीलाई शुक्रबार एक समारोहकाबीच सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री तारा लामा तामाङ, प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंह, क्यानका सदस्य वीरेन्द्र चन्दलगायतले बिजयी टिम र खेलाडीहरुलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरेका थिए। 
नेपाल क्रिकेट सङ्घ(क्यान) को आयोजनामा सम्पन्न भएको प्रतियोगितामा सात प्रदेशका यु–१९ महिला क्रिकेट टिमको सहभागिता रहेको थियो ।
 


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x