सुदूरपश्चिम

धनगढी उपमहानगरपालिकामा दाऊ आ–आफ्नै

दीपक उपाध्याय |
बैशाख २४, २०७९ शनिबार १६:३६ बजे

धनगढी– चुनावको मिति नजिकिएसँगै सुदूरपश्चिमको एक मात्रै धनगढी उपमहानगरपालिकामा उम्मेदवारहरू मतदाता रिझाउनमा व्यस्त छन् ।

उम्मेदवारमध्ये कांग्रेसका नृपबहादुर वड आफ्नो विरासत जोगाउने रणनीतिमा लागेका छन् भने एमालेका रणबहादुर चन्द ०५४ साल फर्काउने दाउमा लागि परेका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार रहेका गोपाल हमाल अघिल्लो हारको बदला लिदै जित्ने रणनीतिमा लागेका छन् ।


वैशाख ३० गते हुने निर्वाचनमा गठबन्धनबाट मेयर/उपमेयरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी संयूक्त रुपमा घरदैलो गरिरहेका छन् । यससँगै अघिल्लो निर्वाचनमा दोस्रो भएको स्वतन्त्र र सांगठनिक रूपले बलियो हुँदाहुदै पनि चौंथोेमा चित्त बुझाएको नेकपा एमाले पनि बलियो प्रतिस्पर्धीको रूपमा देखिएको छ ।

धनगढी उपमहानगरको मेयरका लागि ३ जना स्वतन्त्र उम्मेदवारसहित ९ जना प्रतिस्पर्धामा छन् । गठबन्धनबाट नेपाली कांग्रेसले नृपबहादुर वडलाई मेयरमा पुनः दोहो¥याएको छ । अघिल्लो निर्वाचनमा निकटतम प्रतिस्पर्धी रहेका गोपाल हमाल आसन्न निर्वाचनमा पनि विवेकशील साझा पार्टीको संयोजक त्याग्दै पुनः स्वतन्त्र उम्मेदवार छन् । नेकपा एमालेले युवा रणबहादुर चन्दलाई मेयरको उम्मेदवार बनाएको छ । 

यस्तो थियो २०७४ सालको मतपरिणाम

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बनेका वडले १४ हजार ३२४ मत ल्याई विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी रहेका स्वतन्त्र उम्मेदवार हमालले ११ हजार ५२७ मतमा चित्त बुझाउनुपरेको थियो । त्यस्तै तेस्रो भएको नेकपा माओवादी केन्द्रका उम्मेदवार रामसमझ रानाले १० हजार २०९ मत ल्याएका थिए । राना हाल कांग्रेसका जिल्ला सहसचिव छन् । त्यस्तै चौथो भएको एमालेका उम्मेदवार दुर्गा जोशी ९ हजार ९४६ मतमा सीमित भएका थिए । 

अघिल्लो निर्वाचनमा धनगढीका जम्मा मतदाता ७६ हजार ४३० जना थिए । त्यसताका ८७.११ प्रतिशत मत खसेको थियो भने २ं.११ प्रतिशत मत बदर भएको थियो । आसन्न निर्वाचनमा ९३ हजार १५१ जना मतदाता रहेका छन् । 

उम्मेदवारको ध्यान रानाथारुतिर 

धनगढीमा करिब २८ हजार बढी मतदाता रानाथारु समुदायको रहेको छ । यिनै रानाथारु समुदायको मतका लागि अहिले सबैदलको ध्यान त्यतातिर गएको पाईन्छ । मेयर र उपमेयरको संयुक्त चुनावी कार्यक्रममा एकीकृत समाजवादीका नेताहरू समेत देखिन थालेपछि अन्यदलका उम्मेदवारहरु रानाथारु समुदायतिर केन्द्रित भएका छन् ।

मेयरका उम्मेदवार वडले अघिल्लो निर्वाचनमा एक्लै लड्दासमेत जित हासिल गरेको बताउँदै अहिले गठबन्धनबाट चुनाव लड्मा आफ्नो जित सुनिश्चित भइसकेको बताए । उनले आफ्नो प्रतिस्पर्धी नै कोही नभएको दाबीसमेत गरे । गठबन्धन हुनु र धनगढीमा कांग्रेसको आफ्नो संगठन पनि विगतभन्दा सुधार हुनुले सहज जीत हुने वडले बताए । त्यस्तै विगत ५ वर्षको अवधिमा मेयरको रूपमा आफूले गरेका कामले समेत जित्ने आधार रहेको उनले बताए ।  

उता नेकपा एमालेका उम्मेदवार चन्द र स्वतन्त्र उम्मेदवार हमालले ५ वर्षसम्म धनगढीले विकासको मुहार फेर्न नसकेको भन्दै अब विकल्प खोज्नुपर्ने विषयलाई आफ्नो मुख्य प्रचारको अजेन्डा बनाएका छन् ।


२०५४ साल फर्काउने रणनीतिमा एमाले

अघिल्लो निर्वाचनमा प्रमुखमा चौथो र उपप्रमुखमा दोस्रो भएको एमालेले यसपटक २०५४ साल फर्काउने दाउमा लागेको छ । २०५४ सालमा धनगढीमा एमाले प्रमुख र उपप्रमुखमा विजयी भएका थिए । प्रमुखमा खेमराज पाण्डे र उपप्रमुखमा नारदमुनि राना निर्वाचित भएका थिए । 

कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना समुदायको धनगढीमा बाक्लो उपस्थिति रहेको छ । यसअघि २०४९ र २०५४ मा राना समुदायकै उपप्रमुख भएका थिए । एमालेका नेता नारदमुनि राना यहीबाट प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवकि पत्नि डाक्टर आरजु राणा देउवालाई हराएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । 

कुल ५ लाख २५ हजार १२५ मतदाता रहेको कैलालीमा धनगढी उपमहानगरपालिकामा मात्रै ९१ हजार १५१ मतदाता रहेका छन् । 


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x