स्थानीय सरकारसँग संवाद

स्थानीय सरकारका संस्थापकहरूसँग संवाद शृंखला- २१

बुटवलमा चुनावी घोषणापत्रभन्दा बढी काम भए

विक्रम खड्का |
फागुन ९, २०७८ सोमवार ७:३ बजे

लुम्बिनी प्रदेशको मुकाम तथा पश्चिम नेपालको केन्द्रविन्दुमा रहेको बुटवल संघीय व्यवस्था सुरु हुनुभन्दा पहिला नै धेरै सशक्त स्थानीय तहका रूपमा स्थापित थियो । आफ्नो नगरको पूर्वाधारको जग धेरै पहिला बसालेको बुटवलले स्थानीय सरकारको पहिलो जनप्रतिनिधि पाएपछि कति परिर्वतन गर्यो भन्‍ने विषय मुख्य सरोकारको विषय हो । पूर्वाधार र स्रोत साधनले अन्य पालिकाभन्दा बलियो बुटवलबाट नागरिकले त्यही किसिमको अपेक्षा राख्नु स्वाभाविक पनि हो । व्यापारिक केन्द्र, यातायातका हिसाबले  मुख्य जक्सन तथा शिक्षा र स्वास्थ्यमा पनि पश्चिम नेपालमा अब्बल रहेको बुटवल अन्य पालिकाहरूको पनि अगुवा पालिका हो । संघीय सरचनाअनुसार भएको स्थानीय पालिकाको निर्वाचनपछि आएका जनप्रतिनिधिहरूको नेतृत्वबाट बुटवलमा भएको परिर्वतनका विषयमा संघीय पालिकाका मेयर शिवराज सुवेदीसँग इकागजकर्मी विक्रम खड्काले गरेको कुारकानी :
 
पालिकाको पहिलो सरकार प्रमुखका रूपमा तपाईं संघीयताको खास जग हुनुहुन्छ, संघीयता थेग्‍न सकिँदैन भन्‍ने आवाज पनि छँदै छ, स्थानीय सरकारको संस्थापक नेतृत्व भएका आधारमा तपाईं के भन्‍नुहुन्छ ?
जनता आफैँले आफ्नो देशको संविधान बनाउने सात दशक लामो सपनालाई मूर्त रूप दिँदै संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनको महत्वपूर्ण कडीका रूपमा स्थानीय तहलाई लिइन्छ । हिजो सिंहदरबारप्रति जवाफदेही हुँदै सिंहदरबारको योजना र प्राथमिकीकरणमा परेका धेरै सेवाहरूलाई अहिले स्थानीय तहमार्फत प्रवाह गरिएको अवस्था छ । हामीले आफूलाई सेवाप्रदायक अर्थात् सेवक र पालिकालाई सेवा केन्द्रका रूपमा विकास गरेका छौं । नागरिकको पहिलो र आधारभूत सेवा केन्द्रका रूपमा स्थानीय पालिका रहेका छन् ।

संविधानमै किटान गरेर राज्यशक्तिको बाडँफाँड र त्यसको प्रयोग गर्ने अधिकार प्राप्त स्थानीय तहको निर्वाचनमार्फत जनताले आफ्नो सबैभन्दा नजिकको सरकार प्राप्त गरेका छन्, संघीयताको असली कार्यान्वयन भएको अनुभूति गरेका छन् । यस अवधिमा कानुन निर्माण, समृद्धिका आधार तय गर्ने र तिनलाई क्रमशः कार्यान्वयन गर्ने काम भइरहेका छन् । 


संविधानले प्रत्याभूत गरेका कार्यकारिणी, व्यवस्थापिकीय र न्यायिक अधिकारहरूको सदुपयोग गर्दै राज्य सत्ताको स्रोत र शक्तिमा जनताको पहुँच स्थापित भएको विषयलाई सकारात्मक रूपमा लिनुपर्छ । 

स्थानीय सरकारको नेतृत्वका रूपमा तपाईंको पहिलो कार्यकाल सकिँदै गर्दा आफ्नो पालिकाको खास पहिचान र सामर्थ्य के बनाउनुभयो ?
हामीले बुटवलका खास पहिचानमध्ये तीनवटालाई प्राथिमकतामा राखेर प्रतिविम्बित गर्ने प्रयास गरेका छौं । यो बुटवल भनेको बुद्धावलीको अर्थात् गौतमबुद्ध डुल्ने र विचरण गरेको बुद्धावलीको क्षेत्र हो, यो बुटवल भनेको आदिमानवको अवशेष फेला परेको मानवसभ्यताको क्षेत्र हो र यो बुटवल राष्ट्रिय स्वाभिमानको किल्ला जितगढी सम्पदाको क्षेत्र हो । यिनैलाई प्रतिविम्बित गर्नेगरी बुद्ध, रामापिथेकश र कर्णेल उजीरसिंहलाई स्थानीय पाठ्यक्रममा समावेश गर्ने, तिनैमा केन्द्रित पर्यटन सर्किट बनाउने र साकार पार्ने काम गरिरहेका छौं । हामीले बुटवल प्रवेश गर्ने जोकोहीले पनि यीनै पहिचान देखेर केही बुझ्ने र गौरव गर्न सक्ने बनाउने पहल गरिरहेका छौं । 

पहिले आफूहरूलाई शासकका रूपमा होइन, सेवकका रूपमा लिएर काम गरेका छौं । सेवकका रूपमा रहेर बुटवलका लागि के-कस्ता योजना तय गरिए र ती योजनाहरूको कार्यान्वयन गर्ने के कस्ता कार्यक्रम बनाइए भन्‍ने कुराकै आधारमा मूल्याकंन हुने हो । हामीलाई विश्वास छ, यो अवधिमा हामीले बृहत् बुटवलको अवधारणा बनाएर त्यसलाई साकार पार्नेतर्फ महत्वपूर्ण काम गरेका छौं ।

ऐतिहासिक नगरी बुटवललाई पहिलो कार्यकालमा के कस्तो बनाउने, त्यसपछिको दश वर्षमा कस्तो बनाउने, २० वर्षमा कस्तो र आगामी ५० वर्षमा कस्तो बनाउने भन्‍ने दीर्घकालीन महत्वका योजना तय गरिएको छ । 

त्यसरी योजना तय गर्दा हामीले प्रत्येक वडा, प्रत्येक टोल बस्तीमा पुगेर विभिन्‍न चरणमा छलफल चलायौं । समुदायको चाहना र अपनत्व झल्किने गरी योजना छनौट र ती योजनालाई कार्यान्वयन गर्ने उपयुक्त कार्यक्रम पनि बनाएका छौं । तिनै कार्यक्रमहरूलाई अहिले अगाडि बढाइरहेका छौं । 

अबको कम्तीमा ५० वर्षपछिको यहाँको जनघनत्वको अनुमान गर्दै बृहत् बुटवलको खाका बनाउने र त्यसलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै जाने काम भइरहेको छ । हामीले बनाएको सहरी विकास गुरुयोजनाले पनि आगामी केही दशकपछिको अवस्थाको आँकलन गर्दै सोही अनुरूपका योजना छनौट गरेको छ ।

शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, कृषि, पर्यटन र रोजगारीलाई बुटवलको समृद्धिका आधारमा रूपमा लिने र तिनलाई साकार पार्नेगरी गुरुयोजनामा समेटिएको छ । अहिलेको घना बस्तीमा बिजुली, पानी, फुटपाथ, सरसफाइ, सुरक्षाको प्रबन्ध र नयाँ बस्ने बस्तीलाई प्लानिङसहितको स्याटेलाइट सिटीका रूपमा विकास गर्नेगरी प्राविधिक अध्ययन पूरा भएको छ । बुटवलमा बहुतलाका बहुउद्देश्यीय भवन निर्माण गर्ने, योजनाबद्ध सहर निर्माण गर्ने र ती बस्तीलाई नयाँ उपसहरका रूपमा विकास गर्नेगरी काम अगाडि बढिरहेको छ । 

आमअपेक्षा र अप्ठेराहरूलाई कसरी सम्बोधन गरियो ?
राजनीतिक तथा नागरिक अधिकार प्राप्तिको आन्दोलन लामो समयसम्म चल्यो । यस अवधिमा अनेक कारणले मुलुकको विकास निर्माणको काम प्रभावित भयो ।

शासन सत्तामा रहेकाहरूमा मुलुकको भन्दा पनि आफ्नै अनेक स्वार्थ झल्किन थाले । प्रभावित भएका र अवरुद्ध रहेका हरेक क्षेत्रमा जनप्रतिनिधि चुनिएपछि अपेक्षा बढ्नु अस्वाभाविक होइन । तर, ती आम अपेक्षालाई पूरा गर्न हामीकहाँ पर्याप्त साधन स्रोत नभएको अवस्थामा प्राथमिकता निर्धारण गरेर अगाडि बढ्यौं । यसक्रममा अनेक अप्ठ्यारा पर्ने नै भए तर, ती अप्ठ्यारालाई सामर्थ्यका आधारमा समाधान गर्दै आएका छौं । 

चुनावी घोषणापत्रमा वाचा गरिएका तपाईंका पाँच प्रमुख प्राथमिकता के थिए ?
चुनावमा जनताबाट मत जित्ने मात्रै होइन मन जित्नुपर्छ । खासमा भन्‍ने हो भने हामीले चुनावमा गरेको घोषणाभन्दा धेरै काम गरेका छौं । हामीले यसका लागि कुनै बनावटी र असम्भव कुरा गरेनौं । जनताकै बीचबाट राजनीतिक नेतृत्वमा स्थापित भएका कारणले पनि हामीलाई समाजको यथार्थ अवस्थाको ज्ञात थियो ।

यसमा पनि अहिलेको पुस्ताले अनेक प्रविधिको प्रयोग गरेर हाम्रो देशको अवस्था र अरु मुलुकको अवस्थाका बारेमा दाँजेर विश्लेषण गर्न सक्ने अवस्था छ । यसर्थ हामीले चुनावमा बुटवललाई मुलुकको एउटा सभ्य, सुसंस्कृत, समुन्‍नत र सबल सहरका रूपमा विकास गर्न सकिन्छ र त्यसका लागि के कस्ता कार्यक्रम गर्न सकिन्छ भन्दै तय गरेका थियौं । अहिले त्यसबेला गरेका घोषणाअनुरूपका काम भएका छन् । घोषणापत्रमा भएकाभन्दा धेरै काम पनि भएका छन् । सबै कामका फेहरिस्त यो एउटा बसाइमा व्यक्त गर्न सम्भव हुँदैन । हामीले के के काम गर्‍यौं, के कस्ता परिवर्तन ल्यायौं भन्‍ने बारेमा हाम्रा प्रगति समीक्षा सामग्री उपलव्ध छन् । तिनलाई अध्ययन गर्नुहुन अनुरोध छ । 

अनि यी करिब पाँच वर्षमा तपाईंको नेतृत्वमा भएका प्रमुख पाँच काम के-के हुन् त ?
संघीयता कार्यान्वयनको यो पहिलो प्रयासमा अरु मुलुकका तुलनामा हामीकहाँ धेरै काम सम्पन्‍न भएका छन् जुन शुभसंकेत हुन् । यसमा पनि हामीलाई दुई वर्षदेखि कोभिड महामारीले सताएको अवस्था छ र महामारीबाट जोगिँदै, जोगाउँदै सेवाप्रवाह सूचारु राख्नुपर्ने पनि छ । यद्यपि यो अवधिमा हामीले बुटवल चिनाउने धेरै महत्वका काम गरेका छौं, अगाडि बढाएका छौं । 

जनप्रतिनिधिका रूपमा आइसकेपछि नगर गौरव, प्रदेश सरकारसँगको सहकार्यमा अगाडि बढाइएका प्रदेश गौरव र संघीय सरकारसंगको सहकार्यमा राष्ट्रिय गौरवका आयोजनाहरूको पूर्णता दिनेतर्फ ध्यान दियौं ।

वडालाई सेवाकेन्द्रका रूपमा सञ्चालन गर्न भवन निर्माण, प्रमुख प्रशासकीय भवन निर्माण, नगर शिक्षा योजना, सहरी विकास गुरुयोजना निर्माणदेखि बुटवललाई डिजिटल सहरका रूपमा विकास गर्ने कुरा, सहयोगापेक्षी सडकमानवमुक्त र लैंगिक हिंसामुक्त सहर घोषणा गर्ने कुरा, समृद्धिका आधार तय गर्ने कुरा, राष्ट्रिय स्वाभिमानको जितगढी सम्पदाको संरक्षण, विस्तार र त्यसलाई उजागार गर्ने कुरा, बुटवलमा जितगढी संग्रहालय बनाउने कुरा, मुलुककै पहिलो ढुवानीग्राम निर्माणको कुरा, बुटवल वधशाला निर्माणको कुरा, सिमसारको संरक्षण गर्दै डुंगा सयर गर्न मिल्ने बैठौलिया ताल विस्तारको कुरा, बहुउद्देश्यीय सपिङ कम्प्लेक्स निर्माणका कुरा, आन्तरिक वाइपास सडक निर्माण, पुलपुलेसा निर्माण, उज्यालो सहर निर्माण सम्पन्‍न भइसकेका छन् ।

यसका अतिरिक्त कैयन महत्वका काम हामीले सम्पन्‍न गरिसकेका छौं र जारी राखेका पनि छौं । समग्र बुटवल एक विद्यालयको अवधारणा तय गरेर त्यसलाई कार्यान्वयन गर्ने चरणको सुरुआत गरिएको छ । यो अवधारणा मुलुकमै नमुना हो भन्‍नेमा म ढुक्क छु । यसका बारेमा अलग्गै छलफल गर्नुपर्ने छ । 

समृद्ध बुटवल, सुखी बुटवलवासी भन्‍ने मूल नारासाथ नगरसभाबाट पारित विकास गुरुयोजना र निर्वाचनका समयमा घोषणापत्रमार्फत जनतासँग गरिएका प्रतिबद्धताहरूको आवधिक, मध्यकालीन र दीर्घकालीन योजनाअनुरूप कार्यान्वयन गरिरहेका छौं । भौतिक विकास र मानवीय विकासको सन्तुलनसहित नगर सरकारले अगाडि सारेका बहु वर्षे परियोजनाहरू र जनतासँग प्रत्यक्ष जोडिएका सवालहरू प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेका छौं । आवधिक योजनाहरू पूरा हुने र दीर्घकालीन महत्वका योजनाहरू प्रभावकारी रूपमा अगाडि बढिरहेको अवस्था छ ।

गर्न चाहेर पनि नसकिएका काम केके हुन् ?
उपलव्ध साधन, स्रोत, उपलव्ध जनशक्ति, विद्यमान नागरिक चेतना र हामीकहाँ रहेको सामर्थ्यका आधारमा गर्न सकिने धेरै काम अगाडि बढाएका छौं । हाम्रा खास व्यक्तिगत चाहना केही थिएनन् जे चाहना अर्थात् प्रतिबद्धता थिए सार्वजनिक रूपमै भन्दै आएका थियौं । विश्वव्यापी कोभिड महामारी र त्यसले उत्पन्‍न गराएका अनेकौं असरका कारणले कतिपय काम प्रभावित भए र केही अतिरिक्त समय पनि लाग्यो । जुन अस्वाभाविक र हामीकहाँ मात्रै आइपरेको समस्या होइन । धेरै काम गर्न सकिन्छ, समृद्धिको लक्ष्य हासिल गर्नका लागि प्रभावकारी जग बसाल्ने, सहज बाटो बनाउन सकिने योजना तय गरेका कारणले पनि गर्न नसकिने भन्दा पनि गर्न सकिने धेरै काम छन् । 

तिनमा अवरोध कहाँकहाँबाट के कसरी आयो ?
परिस्थितिजन्य र नियतजन्य अवरोधहरू सबैतिर हुन्छन् । हामीले तिनलाई पहिचान गरेर समाधान गर्दै अगाडि बढेका छौं । यसका बारेमा माथि पनि केही चर्चा गरिएकाले थप भन्‍नु पर्ला जस्तो लाग्दैन । 

संवैधानिक, कानुनी र व्यवहारगत जटिलता के-कस्ता आइपरे ?
राजनीतिक र नागरिक अधिकार प्राप्तिको लामो लडाइँका कारणले आर्थिक, सामाजिक क्षेत्रमा हुनैपर्ने कैयौं काम पछाडि परे । जनताका प्रतिनिधिले संविधानसभाबाट संविधान जारी गरेसंगै अधिकार प्राप्तिको आन्दोलन सफल भएको छ । अब आर्थिक, सामाजिक अधिकार प्राप्तिको आन्दोलनमा केन्द्रित हुनुपर्ने छ । यसका लागि कतिपय कानुनी जटिलतालाई निरूपण गर्नुपर्नेछ, कतिपय खरिद ऐनका झन्झटिला प्रावधान पनि सच्याउनुपर्ने छ । 

तीन तहको समन्वयमा गर्नुपर्ने कैयौं काममा कुनै एउटा मात्रै तहको ढिलासुस्तीले समग्र असर जनतामा पर्न जान्छ । उदाहरणका लागि राष्ट्रिय राजमार्ग विस्तार र मर्मतसम्भारका विषयमा पालिकामा अधिकार नै नभएको विषयमा जनताले औंला उठाउनुहुन्छ यो अस्वाभाविक पनि होइन । तर, यथार्थ जे हो त्यस विषयमा भने प्रस्ट हुनुपर्छ । कानुनी अधिकारसहितको जिम्मेवारी पाएको सम्बन्धित निकायका सामान्य अलमल र ढिलासुस्तीको मारमा अरु धेरै निकाय पर्ने रहेछन् र निर्दोष पनि मुछिने विडम्बना हुन्छ । कानुनी जटिलतालाई सच्याउन सकिन्छ, व्यावहारिक जटिलातालाई पनि सुधार्न सकिन्छ तर, पूर्वाग्रहपूर्ण मानसिकतालाई कसै गरी सच्याउन सकिँदैन ।

तपाईंको सरकारको आर्थिक, कानुनी, प्रशासनिक कार्यप्रणाली कस्तो न्यो, यिनमा समस्या के के रहे ?
हामी जनप्रतिनिधिका रूपमा निर्वाचित भएर आएपछि पहिलो काम हामीले जनप्रतिनिधि र कर्मचारीको आचारसंहिता निर्माण गरेर कामको थालनी गरेका हौं । स्थानीय पालिकाका लागि संविधानमा भएको व्यवस्थाभन्दा बाहिर र तलमाथि नगरीकन हामीले आवश्यक कानुन र कार्यविधि बनाएर कार्यसम्पादन गर्दै आएका छौं । हामीले बनाएका कानुन प्रदेश र संघले बनाएका कानुनसँग नबाझिने खालका छन् । आर्थिक पारदर्शिता, मितव्ययिता र सुशासनलाई हामीले आत्मसात् गरेका छौं । समायोजन भएर पालिकामा आउने र यहीँ सेवारत कर्मचारीहरू सबैलाई हौसला र प्रोत्साहन मिल्ने गरी हामीले मुलुकमै पहिलो पटक कर्मचारी संगठन संरचना निर्माण गरेका छौं । जनप्रतिनिधि नै नियमित र आलोपालो उपस्थित हुनेगरी कार्यालयमा सेवाग्राही सहायता कक्ष अलग्गै निर्माण गरेका कारणले पनि हामीले कतिपय समस्यालाई तत्कालै समाधान गर्न सकेका छौं ।

प्रदेश र संघीय सरकारबाट पाएको सहयोग-असहयोगबारे तपाईंको अनुभव-मूल्यांकन के छ ?
हाम्रा कारणले न त प्रदेश सरकारले हामीमाथि औंला उठाएको छ न त संघीय सरकारले नै । हामीले भूमिसम्बन्धी समस्या समाधान आयोगसँग कार्यसम्पादन सम्झौता गर्नुअघि नै बुटवलमा सुरु गरेका अव्यवस्थित बसोबासी, भूमिहीन र सुकुम्बासीको लगत संकलन गर्ने, नापजाँच गर्ने कार्यलाई सम्झौता पछि अझ व्यवस्थित गरेर अगाडि बढायौं । संघीय सरकार फेरिनेबित्तिकै ती सबै काम अवरुद्ध र प्रभावित हुने गरी निर्णय गर्दा हामीलाई केही असहज लाग्यो । राजनीतिक अस्थिरता र सत्ताकेन्द्रित सोचका कारणले कतिपय काममा कतिपयले पूर्वाग्रह राख्दा पर्ने असर त आखिर जनतालाई नै हो । हरेक कुरामा र अनावश्यक कुरामा राजनीतिक पूर्वाग्रह राख्नै हुँदैन भन्‍नेमा म प्रस्ट छु । अहिलेको यो नयाँ व्यवस्था ल्याउनमा सबैको योगदान छ । हामी सबै मिलेर व्यवस्था बदल्यौं अब नागरिकको अवस्था बदल्नेतर्फ मिलेर अगाडि बढ्नुपर्ने छ । 

अब आउने नेतृत्वका लागि अनुभवप्राप्त अभिभावकका रूपमा के सुझाव छ ?
संविधान कार्यान्वयनको पहिलो चरणका रूपमा स्थानीय पालिकामा लामो समयपछि जनताका प्रतिनिधि चुनिएर आउँदाका अवसर र चुनौती प्रशस्तै थिए र छन् । हामीले कानुन निर्माणको वर्ष, आधार निर्माणको वर्ष र कार्यान्वयनको चरणका रूपमा लिएर काम गर्दै आयौं । यसबीचमा विश्वव्यापी कोभिड महामारीको मारले हामीलाई पनि सतायो । तर महामारीसँग जुध्दै र नागरिकलाई जोगाउँदै महामारीमा पनि बुटवलमा नमुना काम अगाडि बढाउन सक्यौं । बुटवल नै अनुकरणीय बन्‍ने गरी र नमुना बन्‍ने गरी हामीले धेरै योजना तय गर्ने र साकार पार्ने काम गरेका छौं । आवधिक योजना पूरा हुने र दीर्घकालीन योजना प्रभावकारी रूपमा अगाडि बढ्ने अवस्था छ । यसअवधिमा हामीकहाँ तीनै तहका र निजी क्षेत्रका समेत गरी झण्डै ३५ अर्ब बराबरको काम भइसकेको छ । दीर्घकालसम्म करिब एक सय अर्बभन्दा माथिका योजना तय भइसकेको अवस्था छ । चलिरहेका योजनाको पूर्णतापछि ऐतिहासिक, पर्यटकीय, आर्थिक नगरिका रूपमा रहेको बुटवल अन्तर्राष्ट्रिय रूपमै अब्बल सहरका रूपमा स्थापित हुने हामीले विश्वास लिएका छौं । 

अक्सर नागरिक हुँदा, प्रतिपक्षमा रहँदा एक खाले र शासक भइसकेपछि नजर अर्कै खाले बनिदिन्छ, सीमित स्रोत-साधनको अवस्था पनि बुझिन्छ होला, फ्ना नागरिकमै के-कस्ता समस्या पाउनुभयो ?
हामी शासक होइनौं, सेवक हौं । जनप्रतिनिधिहरू सेवकका रूपमा र पालिकाहरू सेवाकेन्द्रका रूपमा लिएर काम गरेका छौं । मैले माथि पनि भनिसकें हरेक कुरामा र अनावश्यक कुरामा राजनीतिक पूर्वाग्रह राख्नै हुँदैन । म जनप्रतिनिधिका रूपमा निर्वाचित भएर यो अवस्थामा रहँदा पनि मैले आफूलाई सामान्य नगरिक सरह नै ठानेर काम गर्ने गरेको छु ।

अहिलेको यो नयाँ व्यवस्था ल्याउनमा म सँगै र मेरा अग्रज, मेरा सहकर्मीहरू धेरैको योगदान छ भन्‍ने कुरा मैले भुलेको छैन । हामी सबै मिलेर व्यवस्था बदल्यौं अब नागरिकको अवस्था बदल्नेतर्फ मिलेर अगाडि बढ्नुपर्ने छ । हो, हामीले लक्ष्य लिएको समृद्ध बुटवल खुसी बुटवलबासी र समृद्ध मुलुक निर्माणका लागि हामीकहाँ साधन स्रोतको सीमितता छ । तर, सम्भावनाको भने कमी छैन । अनेक र अपार सम्पदाको वैज्ञानिक र उचित सदुपयोग (दोहन) गर्न सक्यौं भने हामी समृद्ध बन्‍न सक्छौं । हाम्रो पुस्ताले के के गर्न सक्यौं र सक्छौं, आउँदो पुस्ताका लागि कस्तो शिक्षा र ज्ञान दिएर समर्पित गराउन सक्छौं, त्यसले हाम्रो भविष्य निर्धारण गर्ने हो । 

आफ्नो कार्यकाललाई १० पूर्णांकमा तपाईं आफैँ कति नम्बर दिनुहुन्छ ?
यो कार्यकालमा हामीले के कस्ता योजना बनायौं, के कस्ता कार्यक्रम तय गर्‍यौं, के कसरी कार्यान्वयन गर्न सक्यौं, के कस्ता दीर्घकालीन महत्वका योजना तय गर्न सक्यौं र तिनले समाजमा के योगदान गर्न सक्छन् भन्‍ने कुरामा तपाईं आमसञ्चारकर्मीहरूले खोजी गर्नुस्, मूल्यांकन गर्नुस् र नम्बर दिनुस् । आफूले आफैलाई नम्बर दिँदा त किन कन्जुस्याइँ गर्नु र ? हामीले सञ्चालन गरेका कार्यक्रमले के कस्ता प्रभाव पारेका छन् तिनलाई पनि खोज्नुस् र अघिल्लो अवधि र हामी आएपछिको अवधिलाई दाँजेर आम जनतासमक्ष पस्कनुस् । त्यो नै असली मूल्यांकन हुनेछ ।

यो अवधिमा तय गरेका योजना र योजना बनाउँदा हामीले लिएका असल नियतलाई आधार मानेर निष्पक्ष मूल्यांकन गर्नुपर्ने छ । हामीले प्रस्तुत गरेका दाबी के कति सत्य हुन् भन्‍ने कुरामा मिडियाले पनि खोजी रिपोर्टिङ गरिदिनुस् न । समृद्धिको लक्ष्य हासिल गर्न र अहिलेको जनआकांक्षालाई पूरा गर्न तीनै तहमा साधन स्रोतको सीमितता छ । तसर्थ जनआकांक्षालाई प्राथमिकताका आधारमा पूरा गर्दै जानुपर्ने अवस्था र बाध्यताबाट मुलुक अगाडि बढ्दा समृद्धिको लक्ष्य प्राप्ति गर्न समय लाग्छ । बुटवलको पाँच वर्षे आवधिक तथा १५ वर्षे विकास गुरुयोजना निर्माण गरी त्यसको कार्यान्वयन भइरहेको छ ।


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x