सूचना-प्रवधि

आजबाट ट्‍वीटरले ब्लु टिकमार्कबापत शुल्क लिने, पैसा तिर्नेलाई एडिट अप्सनको सुविधा

इकागज |
मंसिर २६, २०७९ सोमबार ९:५४ बजे

काठमाडौँ- एलन मस्कको कम्पनी ट्‍वीटरले सोमवारबाट (आज) आफ्नो ब्लु टिक सब्सक्रिप्सन सर्भिस फेरि सुरु गर्ने भएको छ । ट्‍वीटरले आइतबार नै यसको जानकारी गराइसकेको छ । ट्‍वीटरका अनुसार १२ डिसेम्बर (आज) आफ्नो ब्लु सब्सक्रिप्सन सेवा फेरी सुरु गर्नेछ ।

यसको मूल्य एन्ड्रोइड यूजरका लागि ८ अमेरिकी डलर र आईफोन यूजरका लागि ११ डलर प्रति महिना तोकिएको छ। मस्कले आईफोन युजरका लागि ट्‍वीटर ब्लू सब्सक्रिप्सन सेवाको मूल्य बढाएका हुन् । 


एप्पलले ३० प्रतिशत आईओएस एपबाट पैसा असुल्ने गरेको कारण देखाउँदै मूल्य बढाएको ट्‍वीटरको तर्क छ। ट्‍वीटर बिजनेस एकाउन्ट र सरकारी एकाउन्टका लागि अलग्गै चेकमार्क ल्याउने तयारीमा छ । 

सुविधाहरू
कम्पनीका अनुसार, ‘हामी सोमवार ट्‍वीटर ब्लुलाई फेरि सार्वजनिक गर्दैछौं । वेबमा ८ डलर प्रति महिना र  आईओएसमा ११ डलर प्रति महिनाको दरले सब्सक्राइभ गर्नुहोला । यसमामात्र सब्सक्राइबरका लागि उपलब्ध सुविधाको फाइदा उठाउन सकिन्छ, जसमा ब्लू चेकमार्क पनि समेटिएको छ ।’ 

सब्सक्राइब गर्ने प्रयोगकर्ताले आफ्नो ट्‍वीट एडिट पनि गर्न पाउँछन् । साथै १०८० पी को भिडियो अपलोड, रिडर मोड  र एउटा नीलो चेकमार्क पनि पाउँछन्। यसबाहेक बिजनेस एकाउन्टका लागि गोल्डेन अफिसियल लेबल र सरकारी अकाउन्टका लागि एउटा ग्रे चेकमार्क पनि आउने ट्‍वीटरले जानकारी दिएको छ ।


Author

थप समाचार
x