सूचना-प्रवधि

नोटिफिकेसनबाट छुटकारा पाउन ‘डिजिटल फास्टिङ’

इकागज |
बैशाख ९, २०७९ १०:३६ बजे

हामीमध्ये धेरैलाई खानेकुरा नखाइ बस्ने ब्रतबारे थाहा छ । तर, डिजिटल ब्रतबारे कमैलाई मात्र थाहा छ  । अहिले धेरैले स्क्रिन टाइम कम गर्ने र इन्टरनेटको लत छुटाउने उपाय खोजिरहेका छन् । ‘डिजिटल फास्टिङ’ भनेको कुनै व्यक्तिले स्वेच्छाले आफूले प्रयोग गर्ने डिजिटल टेक्नोलोजीका माध्यम र साधनबाट केही समय टाढा बस्नु हो । 

इन्टरनेट आधारभूत आवश्यकता बनिसकेको छ । हामीमध्ये अधिकांशको बिहानीको सुरुवात नोटिफिकेसन चेक गरेर हुन्छ । अन्त्य पनि उसैगरी नोटिफिकेसनसँगै हुन्छ । सामाजिक संजालमा फोटो वा पोस्ट सेयर गरेपछि मिनेट–मिनेटमा नोटिफिकेसन चेक गर्ने बानी हामीलाई परिसकेको छ ।


भिडियोमा भ्युज नहेरी चित्तै नबुझ्ने भइसकेको छ । स्क्रिन स्क्रोल गर्दैमा दिन बितेको पत्तो हुँदैन । डिजिटल टेक्नोलोजी र इन्टरनेटको सदुपयोगभन्दा बढी दुरुपयोग भइरहेको छ । यसले हामीलाई फाइदाभन्दा बढी बेफाइदा पुर्‍याइरहेको छ । 

यसबाट छुटकारा पाउने एउटा राम्रो उपाय हो, डिजिटल फास्टिङ । डिजिटल फास्टिङ गर्दा अरुका पोस्ट हेरेर लाइक, रियाक्टर र कमेन्ट गरिरहनुपर्ने झन्झट हुँदैन । मोबाइलमा सेकेन्ड–सेकेन्डमा आउने सैयौँ नोटिफिकेसनलाई रिप्लाइ गर्नुपर्ने बाध्यताबाट पनि छुटकारा पाइन्छ । डिजिटल फास्टिङले यी र यस्तै गतिविधिको लत हटाउन मद्दत गर्छ । मन मस्तिष्कमा स्फुर्ति जगाइदिन्छ । दैनिक जीवनमा भर्चुअल्लीभन्दा वास्तविक जीवनमा खुसी हुन सघाउँछ । डिजिटल फास्टिङले टेक्नोलोजीसँगको सम्बन्ध स्वस्थ बनाउँछ । 

खानेकुराको ब्रत बस्दा हामी खानाको भोक खपेको जस्तै डिजिटल फास्टिङमा सोसल मिडिया, अनलाइन गेमिङ र अनलाइन सपिङ आदिको भोकलाई खप्नुपर्छ । यसको लत छुटाउनका सकेसम्म कम समय फोन, ल्यापटप वा कम्प्युटरमा समय बिताउनुपर्छ । बिदाको दिनलाई ‘स्क्रीन फ्रि डे’ को रूपमा मनाउन सुरुवात गर्नुपर्छ । डिजिटल फास्टिङको सकारात्मक प्रभाव तत्कालै नदेखिए पनि बिस्तारै देखिँदै जान्छ । यो ब्रत अरु बेला बस्ने ब्रत जस्तो होइन । यसका लागि निकै धैर्य गर्नुपर्छ । यस्तो प्रकारको फास्टिङ गर्दा सुरुमा समस्या हुन सक्छ । आफूलाई नियन्त्रण गर्न गाह्रो हुन सक्छ । तर, बिस्तारै बानी पर्दै जान्छ र राम्रो नतिजा पनि आउँछ । 

डिजिटल फास्टिङ वा इन्टरनेट फास्टिङ कसरी गर्ने भनेर ठोस मापदण्ड बनिसकेको छैन । यो व्यक्तिअनुसार भर पर्ने कुरा हो । आफ्नो मुल्याङ्कन आफैँ गरेर टेक्नोलोजीसँग कति समय बिताउने वा नबिताउने भनेर निर्धारण गर्ने हो । कसैले दिनको निश्चित घण्टा त कसैले हप्ताको निश्चित घण्टा वा कसैले महिनाको निश्चित घण्टा मात्र डिजिटल उपकरणमा चलाउनु पर्छ ।

वैज्ञानिकहरूले २ वर्षमुनिका बच्चाहरूलाई स्क्रिन प्रयोग गर्न नदिने, २ देखि १२ वर्षसम्मका उमेर समूहलाई दिनको १ घण्टा मात्र प्रयोग गर्न दिने र १२ वर्षभन्दा माथिको उमेर समूहलाई दिनको २ घण्टा मात्र स्क्रिन प्रयोग गर्न सकिन्छ भन्‍ने एउटा सुझाव दिएका छन् । यसकारण कति समय फास्टिङ बस्ने भन्‍ने कुरा आफूलाई कुन हदसम्मको लत छ त्योसँग सम्बन्धित छ ।

इन्टरनेटको लतमा पर्न जति सजिलो छ, त्यसबाट उम्किन उत्तिकै मुस्किल छ । टेक्नोलोजीको दुरुपयोगबारे समयमै सोच्‍न सकिएन भने कुनै न कुनै मानसिक तथा शारीरिक समस्याबाट टाढा हुन सकिदैन । लगातार डिजिटल उपकरणको प्रयोग गर्दा त्यसबाट उत्पन्‍न हुने विकिरणले स्वास्थ्यमा समस्या निम्त्याउँछ । डिजिटल एडिक्सनमा पर्दा काम र दैनिक जीवन व्यवस्थापन गर्न मुस्किल पर्छ । शरीरमा खाना, काम वा टेक्नोलोजी जे पनि ठिक्क मात्रा भएको राम्रो । यसमध्ये कुनैको मात्रा बढी भयो भने पनि त्यसले बेफाइदा गर्छ । 

डिजिटल एडिक्सनबाट निम्तिने समस्याहरू
- थकान महसुस हुने
- आँखाको समस्या हुने
- हात र पाखुरामा दुखाई 
- डिप्रेसन
- एन्जाइटी
- एक्लोपनमा रमाउने
- निद्रामा गडबडी 
- मोटोपना
- आत्महत्या
- अपराध
- झैझगडा

अहिले औँलाको भरमा संसार चल्ने प्रविधिको युग छ । यस्तो समयमा प्रविधिको प्रयोगबाट टाढा रहन सकिदैन । तर, त्यसलाई व्यवस्थित गरेर उचित तरिकाले मात्र प्रयोग गर्नुपर्छ । सामाजिक संजालमा ट्रेन्डिङ र भाइरल हुने जमाना छ । यो भिडमा डिजिटल फास्टिङलाई ट्रेन्डिङमा ल्याउन सकियो भने धेरै राम्रो हुन्छ । त्यो समयलाई उपलब्धिमुलक कार्यमा लगानी गर्न सकिन्छ । 

डिजिटल फास्टिङको समयमा के गर्ने ?
- प्रकृतिमा रमाउने
- आफन्त र परिवारलाई बढी समय दिने
- योगा वा ध्यान गर्ने
- अफलाइन अन्तक्रिया बढाउने
- तनाबबाट टाढा बस्ने प्रयास गर्ने
- सिमित सामाजिक सञ्जालमा मात्र आबद्ध हुने
- समय–समयमा हाइकिङ–टे«किङमा निस्किने
- फोन चलाउने र अरू काम गर्ने समय तालिका बनाउने 
- उपकरणहरूको नोटिफिकेसन बन्द गर्ने
- टाइमर सेट गरेर उपकरण चलाउने
- साथीभाइ तथा आफन्तसँग बस्दा फोन नचलाउने 
- पढ्ने

डिजिटल फास्टिङ गर्न सुरु गरेपछि पहिलाभन्दा अत्याधिक समय बच्छ । डजिटल फास्टिङ मानसिक स्वास्थयलाई मात्र नभइर शारीरिक स्वास्थ्यलाई समेत बलियो बनाउँछ । पढाइमा लगाब बढ्छ । सामाजिक सम्बन्ध दरिलो भएर जानुका साथै असल व्यक्तित्व विकास हुन्छ । (एजेन्सीको सहयोगमा) 



Author

थप समाचार
ad
x