सूचना-प्रवधि

‘डिजिटल नेपाल’ फ्रेमवर्कलाई व्यावहारिकरूपमै कार्यान्वयन गर्नुपर्ने

इकागज |
बैशाख २०, २०७९ मंगलबार २१:३४ बजे

फाइल फोटो

काठमाडौँ - ‘डिजिटल नेपाल’ फ्रेमवर्कलाई व्यावहारिकरूपमै कार्यान्वयन गर्न सरकारसमक्ष माग गरिएको छ । 

‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७९’ को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा यहाँ आज आयोजित कार्यक्रममा आइसिटी क्षेत्रका विज्ञले डिजिटल नेपाललाई कार्यान्वयन गर्न सम्बन्धित निकायले तत्परता देखाउनुपर्नेमा जोड दिए ।  


सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले सरकार डिजिटल नेपालको सपना साकार पार्ने बाटोमै अगाडि बढिरहेको बताउँदै सपना पूरा गर्न सबैको साथ र सहयोगको अपेक्षा गरे । 

उनले गुणस्तरीय एवं सुरक्षित सूचना प्रविधिको विकास र विस्तारबाट समुन्नत राष्ट्र निर्माण गर्न सूचना, सञ्चार तथा प्रविधिसँग सम्बन्धित नीति तथा कानून समयसापेक्ष परिमार्जन गर्ने तयारी भइरहेको पनि बताए । 

प्रधानमन्त्रीका सञ्चार प्रविधिविज्ञ दिपेश विष्टले नेपाललाई पूर्णरूपमा डिजिटल नेपाल बनाउनका लागि सरकारीभन्दा पनि निजी क्षेत्र उत्तिकै जिम्मेवार रहेको बताए । 

क्यान फेडेरेशनका पूर्वअध्यक्ष सुरेश कर्णले डिजिटल नेपालबारे सरकार आफैँले बनाएका नीति कार्यान्वयन गर्दै प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिए । 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खानालले डिजिटल नेपालको आकांक्षा पूरा गर्ने उद्देश्यअनुरूप नै प्राधिकरणले प्रत्येक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रमा तीव्र गतिको इन्टरनेट पु¥याउने कार्य गरिरहेको जानकारी दिए । 

सरकारले आइसिटी क्षेत्रमा विशेष योगदान पुर्‍याएवापत लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष इन्जिनीयर पञ्कज जलानलाई ‘आइसिटी अवार्ड–२०७९’ प्रदान गरेको छ । त्यसैगरी रोजाकिरण बाशुकला (भक्तपुर), शिवजङ्ग चौलागाईं सिन्धुलीलाई सोही अवार्ड प्रदान गरिएको छ । 

पुरस्कारको राशि जनही रु एक लाख रहेको छ । त्यसैगरी सोही अवार्ड ‘नेपाली सेवा सैनिक मुख्यालय’ र ‘इङ्ग्रील्स प्रालि’ ललितपुरसमेतलाई प्रदान गरिएको छ । त्यसैगरी रु ७० हजार राशिसहित विआइसी टेक्नोलोजी प्रालिलाई पनि अवार्ड प्रदान गरिएको थियो ।  रासस


Author

थप समाचार
x