डिफेन्स

सेना संविधानले सुम्पिएको जिम्मेवारी पूरा गर्न जस्‍तोसुकै परिस्थितिमा पनि तयार छ : प्रधान सेनापति थापा

इकागज |
चैत १८, २०७७ बुधवार १६:२ बजे

काठमाडौँ : प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना संविधानले सुम्पिएको विशिष्ट जिम्मेवारी पूरा गर्न जस्तोसुकै परिस्थितिको सामना गर्न सदैव तयार रहेको बताएका छन् । बर्दिबासमा मध्यपूर्वी पृतना मातहतका जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकता कायम गर्नु सेनाको परम्कर्तव्य भएको बताए ।
 
'हामी आफ्नो कर्तव्यपथमा अडिग रही संविधानले सुम्पिएको विशिष्ट जिम्मेवारी पूरा गर्न जस्तोसुकै परिस्थितिको सामना गर्न सदैव तयार छौँ । भविष्यका लागि पनि तयार रहने छौँ ,' थापाले भने । सेनाले जनचाहनाअनुरुप परिवर्तन र परिमार्जन हुँदै आएको राज्य सञ्चालन प्रणालीलाई स्वतस्फूर्तरुपमा आत्मसात् गर्दै संविधान प्रदत्त जिम्मेवारी बहन गर्न निःस्वार्थ त्याग, बलिदान र योगदानले सेनाको विशिष्ट छवि अक्षुण्ण बनाउँदै आएको बताए ।
 
वीरपुर्खाको त्याग, समर्पण, बलिदान, कर्तव्यपरायण, अटल राष्ट्रभक्ति, जीवन्तता र गौरवमय इतिहास रहेको उल्लेख गर्दै उहाँले हाम्रो इतिहास, गौरवमय परम्परा, उच्चस्तरको चेनअफ कमान्ड, अराजनीतिक चरित्र, एकताको भावना, अविछिन्न साङ्गठनिक लक्ष्यबाट सेना निर्देशित रहँदै प्रधानसेनापति थापाको भनाइ थियो । 

विश्‍वसनीय र व्यावसायिक फौजका रुपमा स्थापित सेनाले राष्ट्रिय स्तरमा आर्जन गरेको उत्कृष्ट छवि र विश्‍वासका आधारमा सरकारले सामरिक महत्वका राष्ट्र विकास र निर्माणमा सहभागी गराउँदै आएको सेनाले बताए ।



 
मुलुकको शान्ति सुव्यवस्था र स्थिरताको खातिर सेनाले गर्दै आएको योगदानले सबैलाई गौरवको अनभूति भइरहेको बताउँदै थापाले परिवर्तित परिस्थितिमा संविधानअनुरुप प्रादेशिक तहमा सेनाको साङ्गठानिक स्वरुपको व्यवस्थापन गर्दै प्राथमिक  र विशिष्ट जिम्मेवारी बहन गर्दै आएको थापाले बताए ।
 
भूपूसैनिकको आर्थिक उन्‍नति, प्रगति र बाँकी जीवनको समुच्च व्यवस्थापन भनेकै सिङ्गो सेनाको आधारस्तम्भ बलियो हुने जनाउँदै सेनाले अवकाश पछिको जीवनमा थप ऊर्जा र शक्ति प्रदान गर्न, सुखदुःख बाँड्न, अनुभव आदानप्रदान गर्न, सामूहिक भावना विकास गरी कल्याणकारी विविध कार्यक्रमबारे जानकारी गराउँदै समयानुकूल तुल्याउन रायसुझाव सङ्कलन गर्ने उद्देश्यले सम्मेलन गर्दै आएको छ । 

चारभन्दा बढी सन्तानलाई सेनामा भर्ना गर्न प्रोत्साहन गर्ने ३० परिवारलाई सम्मेलनका क्रममा सम्मान गरियो । बर्दिवासमा पृतना स्थापना भएपछि पहिलो पटक यस प्रकारको सम्मेलन गरिएको हो । 

बलाधिकृत रथी प्रभुराम शर्माले भूपूसैनिकको स्वास्थ्य सुरक्षालगायत समग्र सामाजिक दायित्व लिन सङ्गठन तयार रही नयाँ सोच र चिन्तनका आधारमा कल्याणकारी कार्यक्रम अघि बढाइरहेको बताए । पृतनाको कार्यक्षेत्र महोत्तरी, काभ्रे, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्ला रहेको छ । सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले कोषका विस्तार भएका कल्याणकारी कार्यक्रमको जानकारी गराएका थिए ।
 
सम्मेलनमा यस क्षेत्रका ज्येष्ठ भूपूसैनिक ९१ वर्षीय रुद्रबहादुर बस्नेत तथा ज्येष्ठ एकल महिला ९८ वर्षीया सुमीत्रा थापालाई सम्मान गरिएको थियो । सम्मेलनमा सहभागी भूपूसैनिक एवं एकल महिलालाई मण्डी, टोपी, सल, प्राथमिक उपचार बक्स, कल्याणकारी हाते पुस्तिका र आम सञ्चारमाध्यम प्रयोगसम्बन्धी मार्गदर्शन प्रदान गरियो । 

अर्को प्रादेशिक सम्मेलन यही चैत २२ गते वाग्मती प्रदेशको हेटौँडामा हुँदैछ ।


 


Author

थप समाचार
x