डिफेन्स

नेपाली सेना भरपर्दो स्थल शक्ति हो : फ्लिन

इकागज |
जेठ २९, २०७९ आइतवार २१:४९ बजे

फाइल फोटो

काठमाडौँ- अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिनले नेपाली सेना एक भरपर्दो स्थल शक्ति भएको बताएका छन् । 

चारदिने औपचारिक भ्रमणका क्रममा फ्लिनले आज शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेज भ्रमण पश्चात् आयोजित समारोहमा यस्तो बताएका हुन् । उनले नेपाली सेना संसारकै पुरानो सेनामध्ये एक रहेको समेत बताएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 


उक्त भ्रमणका क्रममा उनले कलेजका शिक्षाध्यक्षसँग भेटघाट तथा तालिमरत शिक्षार्थी अधिकृतसँग अन्तरक्रिया गर्नाका साथै वृक्षरोपण पनि गरे । फ्लिन नेतृत्वको टोलीले आजै काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत भ्रमण गरेको थियो । सो क्रममा शान्ति कार्य तालिम केन्द्रका केन्द्रपतिबाट उक्त भ्रमणदललाई वस्तुस्थितिलगायत विविध पक्षबारेमा जानकारी गराइएको थियो ।
 
उक्त भ्रमणदलले शान्ति स्थापना कार्यको दौरान आवश्यक पर्ने विभिन्न प्रदर्शनीको अवलोकनसमेत गरेको थियो । भ्रमणका क्रममा नेपाली सेनाका रथी तथा अधिकृत र उक्त भ्रमण दलका सदस्यहरूबीच संयुक्त राज्य अमेरिकाबाट शान्ति स्थापना कार्यका लागि प्राप्त सहयोग भविष्यमा थप वृद्धि गर्दै लैजाने लगायत विषयमा छलफल भएको जनाइएको छ । 

यसअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए । यस्तै प्रधानसेनापतिसँग पनि उनले भेटवार्ता गरेका थिए ।  यही जेठ २६ गते नेपालको चारदिने औपचारिक भ्रमणका लागि नेपाल आउनुभएका उनी आजै स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
रासस


Author

थप समाचार
x