डिफेन्स

प्रधानसेनापति शर्मा लेवनान प्रस्थान

इकागज |
असार ४, २०७९ शनिबार १४:१० बजे

काठमाडौँ - द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धिका लागि प्रधानसेनापति प्रभुराम शर्मा आज लेवनान प्रस्थान गरेका छन् ।    प्रधानसेनापति शर्मा नेतृत्वको सात सदस्यीय भ्रमण टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरेका हुन् । 

यही असार १० गतेसम्म भ्रमणका क्रममा टोलीले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिक तैनाथ लेवनान र सिरियाको निरीक्षण भ्रमण गर्नुका साथै उक्त मिशनको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्थालगायत बारेमा जानकारी लिने कार्यक्रम छ । 


भ्रमणका क्रममा, प्रधानसेनापति शर्माले लेवनान र सिरियाका युएन मिसनका उच्चपदस्थ अधिकारीसँग भेटघाट गर्नुहुने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । लेवनान प्रस्थान गर्नुपूर्व प्रधानसेनापति शर्मालाई शुक्रबार जङ्गी अड्डामा सम्मानगारत अर्पण गरिएको थियो । 

उक्त निरीक्षण भ्रमणपश्चात् प्रधानसेनापति शर्मा संयुक्तराज्य अमेरिकाको औपचारिक निमन्त्रणामा यही असार (१३–१७) सम्म अमेरिका भ्रमण गर्ने कार्यक्रम छ ।

अमेरिकाको भ्रमण टोलीमा पाँच सदस्य सहभागी हुनेछन् । उनको भ्रमण अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुने बताइएको छ । प्रधानसेनापति शर्मा असार १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।


Author

थप समाचार
x