डिफेन्स

नेपाली सेनाले गर्‍यो डोटीको दुर्गम क्षेत्रमा हेलीप्याड निर्माण

इकागज |
पुस २७, २०७९ बुधबार २१:२७ बजे

डोटी - नेपाली सेनाको सिलगढीस्थित भैरवप्रसाद गणले डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ मा हेलीप्याड निर्माण गरेको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको चवारा चौतारामा सेनाले हेलीप्याड निर्माण गरेको हो । 

विपद्मा परेका, जटिल अवस्थाका गर्भवती÷सुत्केरी महिला तथा गम्भीर खालका बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भन्ने उद्देश्यका साथ हेलीप्याड निर्माण गरिएको भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीले बताए । 'जिल्ला सदरमुकामदेखि टाढा दुर्गम क्षेत्रमा रहेको यस क्षेत्रमा सडकको सहज पहुँच नहुने भएकाले आपत्कालीन अवस्थामा उद्धार गर्न सहज होस् भनेर हेलीप्याड निर्माण गरिएको हो', उनले भने ।  


गाउँपालिकाको समन्वयमा सेनाले रु पाँच लाखको लगानीमा हेलीप्याड निर्माण गरेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए । उनले भने, 'प्राकृतिक विपद्को समय उद्धारमा साह्रै कठिनाइ भोग्नुपरेको थियो, हेलीप्याड निर्माण भएपछि अब त्यो समस्या रहन्न ।'

जिल्ला सदरमुकामदेखि बोगटान क्षेत्रका सबै क्षेत्रमा यातायातको सुविधा छैन् । 
रासस


Author

थप समाचार
x