डिफेन्स

सेनाले माग्यो सरकारसँग कोभिडविरुद्धको खोप

पूर्वगोर्खा सैनिकले पनि मागे खोप

इकागज |
असार १४, २०७८ सोमबार १७:७ बजे

काठमाडौँ : नेपाली सेनाले भूतपूर्व सैनिकहरू र वर्तमान तथा भूतपूर्व सैनिक परिवारलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । सरकारले आम नागरिकलाई खोप उपलब्ध गराउन नसकिरहेको अवस्थामा सेनाले पनि औपचारिक रूपमै कोभिडविरुद्धको खोज उपलब्ध गराइदिन आग्रह गरेको हो ।  

सरकारको खोप कूटनीति असफल प्रायः भइरहेको अवस्थामा सेनाले खोपका लागि सरकारलाई आग्रह गर्नु आफैँमा अर्थपूर्ण छ । सेनाभित्र खोप लगाउन नपाए पनि उद्धारमा सेना खटिएको र कोभिड फ्रन्टलाइनमा पनि सेना र अन्य सुरक्षाकर्मी नै रहेको अवस्थामा यसप्रकारको माग उचित रहेको रक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन् ।   


सेना स्वयं र उनीहरूका परिवारले खोप लगाउन पाएका छैनन् । त्यही विषय दर्शाएर सबैलाई खोपको व्यवस्था गर्न सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष खोपको विषय पुर्‍याइएको हो । हुन पनि राष्ट्रपति स्वयंले खोपको लागि छिमेकी र मित्र राष्ट्रका समकक्षीहरूलाई पत्राचार गरिन् । तर, पनि खोप आउन सकेको छैन ।

सेनालाई भारतले दिएको एक लाख डोज दिएको थियो । त्यसअघि फ्रन्ट लाइनमा खटिने सेनाका लागि भन्दै सरकारले १०/१२ हजार खोप दिएको थियो । त्यसबाहेक अन्यले खोप लगाउन नपाएको रक्षासचिव रश्मिराज पाण्डेले  बताए ।  झण्डै एक लाख सेना छन भने भूतपूर्व सेना ७१ हजारको हाराहारीमा छन् । उनीहरू सबैलाई खोप लगाउने दायित्व सेनाको नेतृत्वभित्र पर्न आउने भन्दै त्यस विषयमा सरकारलाई जानकारी गराएको रक्षा मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।  

‘सेनालाई खोप लगाउन पर्ने त हो । तर के गर्ने खोप माग गर्‍यो भने अन्य थोक दिन्छन् । खोप उपलब्ध गराउँदैनन्,’ रक्षा सचिव पाण्डेले इकागजसँग भने, ‘खोपको बारेमा सेना, सेनाका परिवार, भूतपूर्व सेना र उनका आश्रित परिवार अर्थात सेनाको भाषामा हितकारीहरूलाई खोप उपलब्ध गराउन पर्दा कम्तिमा १० लाख डोज खोप आवश्यक पर्छ ।' 

सेना मात्र होइन प्रहरी र सशस्त्र प्रहरी बलभित्र कार्यरत सबै पूर्वसैनिकले पनि अझै खोप लगाउन पाएका छैनन् । अन्य आम नागरिकले पनि खोप नपाएको अवस्थामा राज्य संयन्त्र भित्रैबाट दबाब हुन थालेपछि सरकारले खोपको व्यवस्था गर्छ कि भन्ने धारणा सेनाको हुनसक्ने एक रक्षा अधिकारीले बताए ।

सेनाले खोप खरिद गर्न पाउने अवस्था हुन्थ्यो भने यो अवस्था आउने थिएन भन्दै रक्षा अधिकारीले भने, ‘सेनाको कूटनीतिक लविङलाई राज्यले बुझ्‍न सकेन । वा बुझेर अन्य विचौलियाको गफमा पर्‍यो ।’ 

आम नागरिकसँगै आफ्ना आश्रितलाई पनि खोपका लागि सेनाले आफ्नोतर्फबाट पहल गरिरहेको छ । सेनालाई भारतीय सेनाले एक लाख डोख खोप उपलब्ध गराएको भए पनि त्यो खोप ५० हजार सेनालाई पुग्‍ने र अन्य आश्रितले नपाउने हुनाले त्यसतर्फ सेनाले केही चासो देखाएको छ । 

सेनाले कोभिडमा मात्र होइन अन्य समयमा पनि उद्धार लगायत सबै काममा खटिने हुनाले त्यसका लागि पनि सुरक्षित रहन सबैले खोप लगाउन पर्छ । सेनाले चीनबाट विद्यार्थी उद्धार गर्ने, डेडिकेडेट अस्पताल निर्माणमा सहयोग, हेल्प डेक्समा सहयोग, औषधि तथा औषधिजन्य सामग्री खरिदमा, स्वास्थ्य सामग्री वितरण, स्वाब संकलन, शव व्यवस्थापन, आइसोलेसन र क्‍वारेन्टिनको निर्माण, होल्डिङ सेन्टर, राहात वितरण, अक्सिजन प्लान्ट संचालन र ढुवानीलगायतको काम गरिरहेको छ । 

यस्तो अवस्थामा कतिपय काम भूतपूर्व सैनिकबाट समेत लिन परेको हुन्छ । उनीहरूले कल्याणकारी कोषअन्तर्गत रहेर काम गरेका छन् भने त्यसबाट नै सेनाले यसमा छलफल अघि बढाउन पर्ने उनीहरू बताउँछन् । 

पूर्वभारतीय गोर्खा सैनिकले पनि मागे खोप 

यसैबीच नेपालमा रहेका भूतपूर्व भारतीय गोर्खाले पनि नेपाल सरकारको प्राथमिकतामा नपरेको भन्दै भारतसरकारसँग खोप माग गरेका छन् । आफूहरूलाई नेपाल र भारत सरकारले कोभिड-१९ विरुद्धको खोपको प्राथमिकतामा नराखेको भन्दै तत्काल खोप उपलब्ध गराउन भारतीय सेनापतिमार्फत भारत सरकारलाई आग्रह गरेका हुन् । उनीहरूले लिखित पत्राचार नै गरेर खोप माग गरेका हुन् । 

खोप अभावमा १५० जना भूतपूर्व गोर्खा सैनिकले ज्यान गुमाएको सूचीसहित उनीहरूले तत्काल ३ लाख डोज खोप उपलब्ध गराउन भनेका छन् । उनीहरूले एक साता अघि नै पत्र पठाएका हुन् । खोप अभाव भए थप भारतीय भूतपूर्व गोर्खा सैनिकले ज्यान गुमाउन पर्ने अवस्था रहेको पनि उल्लेख छ । भारतीय सेनाले भारतमा रहेका आफ्ना भूपू सहकर्मीहरुलाई खोप लगाएको तर आफू बन्चित रहेको भन्दै गुनासोसमेत गरेका छन् । 


Author

थप समाचार
x